२७ पुष २०८१, शनिबार

२२ किलो चरेश सहित प्रकाउ



बझाङ । बझाङको केदार स्यु गाउँपालिका वडा नम्बर १ बगाडबाट प्रहरीले २२ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ दुर्गाथली गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय कलक जाग्रीलाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले गोप्य सूचनाका आधारमा प्रहरीले चरेश सहित जाग्रीलाई पक्राउ गरेको बताए ।
अभियुक्त जाग्रीले आफूले एक कट्ठा चामल पाउने आशामा चरेश बोकेको बताए । बझाङमा पछिल्ला पाँच महिनाको अवधिमा ८० किलो बढी चरेश बरामद भइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार भदौ २५ गते छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ भाँडेबजारबाट ४५ किलो चरेशसहित दुई जना पक्राउ गरिएका थिए ।
त्यस्तै, असोज ७ गते बुंगल नगरपालिका वडा नम्बर ३ विजडा, असोज ३० गते चिरवित्थड गाउँपालिकाको वडा नम्बर ३ स्याडी, र मंसिर १२ गते दुर्गाथली गाउँपालिका वडा नम्बर २ मौरीबगरबाट गरी चरेशसहित चार जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
त्यस्तै, पुस १८ गते जयपृथ्वी नगरपालिका वडा नम्बर ११ भोपुरबाट सात किलो चरेश सहित एक जना प्रक्राउ परेका थिए ।
बझाङका दुर्गाथली, सुर्मा, छविस पाथीभेरा लगायतका स्थानमा चरेश उत्पादन हुने गरेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यलय, मुद्दाफाँटका नायव प्रहरी निरीक्षक रामसिंह बोहराका अनुसार प्रहरीले आर्थिक वर्ष २०७२/७३ मा विभिन्न मितिमा ८० किलो बढी चरेश सहित २४ जना पक्राउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार