२३ बैशाख २०८१, आईतवार

पाँच वर्षमा आर्थिक समृद्धिको ठोस मार्गचित्र बन्छ



मुलुक संघीय संरचनामा गएको छ । जनतालाई अधिकारसम्पन्न बनाउनका लागि नै यो प्रणाली स्वीकार गरिएको हो । प्रदेश नम्बर ७ आर्थिक समृद्धिको प्रचूर सम्भावना बोकेको छ । विगतमा यो प्रदेश सबैभन्दा पछाडि पारियो । अब हामीले यहाँका विपन्न, पछाडि पारिक समुदाय तथा क्षेत्रलाई केन्द्रीत गरेर विकासको गति तीब्र पार्नु पर्दछ । यो सबैभन्दा शान्त, सुन्दर र समृद्ध प्रदेश बन्ने निकै सम्भावना छ । हामी सबै इमान्दारपूर्वक र एकजुट भएर लाग्ने हो भने आगामी पाँच वर्षभित्र यो प्रदेशमा आर्थिक विकासको ठोस मार्गचित्र बनिसक्ने छ ।

कर्णबहादुर मल्ल
प्रदेश सभा सदस्य, डडेल्धुरा

र, यो अवधिभित्र यहाँका सबै जनताले त्यो मार्गचित्र अनुभव गरिसक्नु पर्दछ । यदि यहाँका आम जनताले यस्तो अनुभव गर्न सक्नु भएन भने हामी सबै असफल भएको ठहरिने छ ।
हामी प्रदेश नम्बर ७ को समृद्धिको कुरा गरिरहेका छौं । तर, हामीहरू कतिपय प्रदेशको राजधानीको विवादमा अल्झिएका छौं । डडेल्धुरा काँग्रेसको सभापतिका हैसियतले म भन्छु– सबै दृष्टिकोणले डडेल्धुरा नै राजधानीका लागि उपयुक्त छ । तर, हामी आगामी वर्षहरूमा राजधानीकै विवादमा लागिराख्ने हौं भने हामीले यस प्रदेशका जनतासामु गरेका कवुलहरू पुरा गर्न सक्नेछैनौं । अहिले हामी समृद्धिका नाममा राजधानीको माग गर्दछौं भन्दैछौं, तर यसकै नाममा विभाजित पनि भइरहने हो भने आर्थिक समृद्धिको हाम्रो आकांक्षा र प्रतिवद्धता पूरा हुनसक्दैन । त्यसैले राजधानीका विषयमा प्रदेश सभाको बैठकले गर्ने निर्णयको प्रतीक्षा गर्नै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार