२३ बैशाख २०८१, आईतवार

बैंकिङ सेवा नहुँदा सेवाग्राहीलाई सास्ती



बैतडी ।बैतडीका सात वटा स्थानीय तहमा अझैं बैंकिङ सेवा उपलब्ध हुनसकेको छैन । बैतडीका तीन वटा स्थानीय तहमा मात्रै हाल बैंकिङ सेवा उपलब्ध छ । आफ्नो स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सेवाग्राहीहरू बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्न बाध्य छन् ।
स्थानीय तहले सञ्चालन गर्ने योजना कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिहरु हुन् वा अन्य सरकारी कामकाजका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । गएको असारमै स्थानीय तहमा बैंकहरु आउने हल्ला चलेको भए पनि स्थानीय तहमा बैंक स्थापना भएका छैनन् ।
पुरचौंडी नगरपालिकामा गएको सातामात्रै ग्लोबल आइएमइ बैंकको शाखा विस्तार भए पनि अन्य सातओटा स्थानीय तहमा भने बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुको विकल्प छैन् । पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा बैंक छैनन् ।
शिक्षा, स्वास्थ्य कृषिलगायतका सबै सेवाहरु स्थानीय तह अन्तर्गत आए पनि बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।
स्थानीय तहमा बैंक नहुँदा दुर्गमका नागरिकलाई मात्रै होइन कर्मचारीहरुलाई समेत समस्या भएको छ । स्वास्थ्यका सबै कार्यक्रम स्थानीय तहबाट सञ्चालन भईसकेको अवस्थामा तलबका लागि मात्रै सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको गााजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार