२९ बैशाख २०८१, शनिबार

नक्कली सरकारी कागजपत्र बनाएर ठगी



धनगढी । नक्कली सरकारी कागजपत्र बनाएर ठगी गर्दै आएको एक गिरोहबारे खुलासा भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘डी’ गाउँ का धर्मेन्द्र सिंहले नक्कली सरकारी कागजपत्र बनाएर सेवाग्राहीहरूलाई ठगी गरिरहेको पाइएको छ ।
सोमबार सोही गाउँका एक सेवाग्राहीले धनगढी उपमहानगरपालिकामा घर नक्सा पास गराउन निवेदन दर्ता गरेपछि ठगीबारे खुलासा भएको थियो ।
धर्मेन्द्रले सेवाग्राहीको घर नक्सा किताव बनाउने तथा पास भएको प्रमाणित प्रमाणपत्र बनाउने लगायतका नक्कली सरकारी कागजपत्र बनाउने गरेको पाइएको छ । धनगढी वडा नम्बर १२ का नारायण ठगुन्ना, मदनराज जोशी र नन्दसिंह ढाटले संयुक्त रुपमा उपमहानगरपालिकामा निवेदन दर्ता गराएका छन् ।
घर नक्सा किताव र प्रमाणित पत्रमा फरक–फरक हस्ताक्षर रहेको पाएपछि उनीहरूले उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
धर्मेन्द्रले तयार गरेको घर नक्सा किताब र पास भएको प्रमाणित पत्रमा धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत, ईन्जिनियर, अमिन लगायत सम्बन्धित कर्मचारीहरूको नक्कली हस्ताक्षर रहेको थियो ।
ती कागजपत्रमा उपमहानगरपालिकाको लोगो सहितको छाप, कार्यालयका अमिन तथा ईन्जिनियरको छाप पनि नक्कली भएको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर द्विजराज भट्टले बताए । धर्मेन्द्रले तयार गरेको नक्सा किताबमा डेल्टा ईन्जिनियरिङ कन्सलटेन्सी, धनगढीको लोगो सहितको छाप रहेको छ ।
उपमहानगरपालिकामा निवेदन दर्ता गराएका मदनराजले आफुले धमेन्द्रलाई घरनक्सा तयार गर्न तथा पास गराउन १८ हजार रुपैयाँ दिएको बताए । ‘उनले जाली काम गरिरहेको छ भन्ने थाहा थिएन’ उनले छिमेकी भएकोले घरनक्सा बनाउनेदेखि कागजपत्र बनाउनसम्म सबै जिम्मा धर्मेन्द्रलाई नै दिएको बताए । मदनराजले अरुको घरनक्सासम्बन्धी कागजपत्रमा रहेको अधिकारीहरूको हस्ताक्षर फरक रहेको पाएपछि शंका लागेर उपमहानगरपालिका कार्यालयमा निवेदन दिएको बताए ।
नारायण ठगुन्नाले पनि धमेन्द्रलाई घरनक्सा बनाउन तथा पास गर्न ३५ हजार रुपैयाँ दिएको बताए । घरनक्सा किताबदेखि सबै कागजात बनाउन रकम दिइसके पनि काम पुरा नगरेको उनले बताए । ‘धर्मेन्द्रले मलाई भेटेर नक्सा किताबमा छाप लगाउन बाँकी रहेकोले थप केही रकम दिनुपर्‍यो भन्यो’ नारायणले भने– धर्मेन्द्रले त्यसो भनेपछि मैले आफैं उपमहानगरपालिका कार्यालष्मा गएर प्रमाणित गराउँछु, कागजपत्र दिनुस् भनेपछि केही बेरमा सबै काम गरेर दिन्छु भनेर गयो । केही बेरपछि धर्मेन्द्रले नक्सापास कागजपत्र प्रमाणित गरेर ल्याएको र मदनराजको कागजपत्र र आफ्नो कागजपत्रमा फरकफरक हस्ताक्षर रहेको पाएपछि आफूहरू उपमहानगरपालिका कार्यालयमा पुगेको नारायणले बताए ।
धनगढी उपमहानगरपालिकाले धर्मेन्द्र विरुद्ध नक्कली कागजपत्र किर्तेेसहित ठगी मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । उपमहानगरपालिकाका इन्जिनियर भट्टका अनुसार सरकारी कागजपत्र किर्ते तथा ठगी मुद्दामा तीन वर्ष जेल तथा जरिवानाको प्रावधान रहेको छ । उनले यो घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने बताए । सो नक्सा कितावमा भएको कन्सलटेन्सी धनगढी उपमहानगरपालिकामा सुचिकृत नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार