२९ बैशाख २०८१, शनिबार

बसपार्क स्तरोन्नती : पार्किङ गरेमा जरिवाना



धनगढी । सुदूरपश्चिम यातायात तथा बस व्यवसायी समितिले स्तरोन्नती हुनलागेको धनगढी बसपार्कमा कुनै पनि सवारी साधन पार्किङ गरे कारबाही गर्ने भएको छ । सुदूरपश्चिम बस व्यावसायी समितिले बसपार्कमा कुनै पनि सवारी साधन राखेमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना तोकेको समितिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।

फाइल तस्बिर

अध्यक्ष सापकोटाले समितिले बस पार्किङका लागि जग्गा खोजीसकेको र बसपार्कको स्तरोन्ती कार्यमा कुनै किसिमको बाधाअवरोध हुन नदिन जरिवानाको व्यवस्था गरिएको बताए । समितिले टेम्पल रिसोर्ट नजिक रहेको खाली जग्गामा बस पार्किङका लागि लिजमा लिएको छ । अध्यक्ष सापकोटाले बसपार्कमा कुनै पनि सवारी साधन राख्न नदिन समितिका पदाधिकारीहरूलाई खटाइएको बताए ।
धनगढीको पुरानो बसपार्क स्तरोन्नती कार्य बसपार्क खाली नहुँदा अवरोध भयो भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएका थिए । समितिले यात्रुबाहक सवारी साधन पार्किङका लागि वैकल्पिक व्यवस्था गरेपछि स्तरोन्नती कार्य अघि बढ्ने अपेक्षा गरिएको छ ।
बसपार्क स्तरोन्नती कार्यको ठेक्का पाएको निर्माण कम्पनीका ठेकेदार किशोर ठकुराठीले आज (सोमबार) बाट काम अघि बढ्ने बताए । ‘बस समितिले पार्किङका लागि जग्गा खोजेको जानकारी दिएको छ’ अनुमोदनसंग टेलिफोनमा कुरा गर्दै ठेकदार ठकुराठीले भने– आजदेखि काम अघि बढ्छ । उनले बसपार्क तोडफोड गर्ने काम भईसकेको र अब नाला निर्माण गर्ने काम अघि बढाउने बताए ।
आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरि सम्झौता भएको बसपार्क स्तरोन्नतीको काम सम्झौता भएको छ महिनापछि अघि बढेको छ । ठेकेदार ठकुराठीले असार मसान्तभित्रनै काम सम्पन्न गर्ने दाबी गरे । बसपार्क स्तरोन्नतीका लागि एक करोड ३५ लाख रुपैयाँमा ठेक्कापट्टा सम्झौता भएको छ । एक वर्षभित्र काम पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । बसपार्कमा अहिले ६० देखि ७० वटा बस मात्रै राख्नसक्ने क्षमता रहेको छ । बसपार्क स्तरोन्नतीपछि बढीमा ८० वडा बस अटाउने बताइन्छ ।
धनगढी उपमहानगरपालिकालाई वार्षिक ९० लाख रुपैयाँ भाडा तिरेर सुदूरपश्चिम यातायातले बसपार्कमा यात्रुवाहक सवारी साधन पार्किङ गर्दै आएको थियो । उपमहानगरपालिकाले वैकल्पिक व्यवस्थाका लागि बोराडाँडीमा अस्थायी वसपार्क बनाउने प्रयास गरे पनि विवादमा परेको थियो ।
उपमहानगरपालिकाले नयाँ बसपार्कका लागि पहल गरिरहे पनि अहिलेसम्म जग्गाको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार