२० बैशाख २०८१, बिहीबार

‘अपराधरहित वातावरणमा काम गर्न देऊ’



धनगढी । निर्माण व्यावसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भ्रष्टाचारमुक्त तथा अपराधरहित वातावरणमा व्यावसायीहरूलाई काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
‘सरकारी कर्मचारीहरू भ्रष्टचारी हुँदा व्यावसायीले पनि भ्रष्टचार गर्नुपर्ने बाध्यता छ’ शनिबार धनगढीमा कैलाली निर्माण व्यावसायी संघको २४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठले भने– ‘कर्मचारीतन्त्र भ्रष्टाचारी बन्दै जाँदा साना तथा मझौला निर्माण व्यावसायीहरू वेरोजगार हुनुपर्ने अवस्था सिर्जना भएको छ ।’
‘केही महिनाअघि काठमाडांैंमा भएको निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डअघि र अहिले पनि निर्माण व्यावसायीहरूलाई धम्कीपूर्ण भाषण आइरहेका छन्’ अध्यक्ष श्रेष्ठले भने– ‘सरकारले व्यावसायीहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरणको निर्माण गर्न सकेको छैन ।
सरकारले बोलपत्र दर्ता प्रक्रियालाई कागजरहित बनाउन विद्युतीय प्रणालीमा लगेको स्मरण गराउँदै अध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा ईजिपी प्रणाली ठिक नभएको बताए । उनले ईजिपी प्रणालीमा निर्माण व्यावसायीहरू दक्ष नभएको र ईजिपी प्रणालीको सर्भर पनि विश्वसनीय नभएको बताए ।
देश संघीय संरचनामा गइसकेको र निर्माण व्यवसायी महासंघले पनि सोहीअनुसार अघि बढ्नुपर्ने पनि उनले बताए । ‘नेपालको संविधानले प्रदेशलाई कानुन निर्माण गर्ने जिम्मा दिएको छ’ अध्यक्ष श्रेष्ठले भने ‘अब निर्माण व्यवसायीहरूले भोग्नुपरेको सानातिना समस्याको समाधान प्रदेशबाटै हुन सक्छ ।’ उनले प्रदेशको कानुन निर्माणमा आफूलाई मार नहुने गरी निर्माण गराउन प्रदेश सरकारलाई दबाब दिन व्यवसायीहरू लाग्नुपर्ने शुझाव दिए ।
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निर्दोस पाण्डेले व्यवसायीहरू ईमान्दार हुनुपर्ने बताउँदै ‘अहिले पनि हामीले काम समयमै नसक्ने र गुणस्तर नहुने आरोप खेपीरहेका छौं ।’
निर्माण व्यवसायी महासंघका उपाध्यक्ष एंव प्रशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँदले अझै पनि साना तथा मझौला निर्माण व्यवसायीहरू धरापमा परिरहेको बताए । ‘साना योजनालाई पनि एकीकृत गरी ठूलो प्याकेज बनाएर टेण्डर गरिन्छ’ उनले भने ‘यसले गर्दा ठूलो निर्माण व्यवसायीहरूले अवसर पाउने र साना व्यवसायीहरू वेरोजगार बन्नुपर्ने अवस्था छ ।’ उनले साना तथा मझौला निर्माण व्यवसायीहरूको हितमा महासंघ लाग्नुपर्ने बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले देशलाई भौतिक निर्माणमा समृद्ध बनाउन निर्माण व्यवसायीहरूको ठूलो योग्दान रहेको बताए । उनले स्थानीय प्रशासनले पनि निर्माण व्यवसायीहरूलाई पर्न आउने समस्या समाधानका लागि प्रयास गरिरहेको बताउँदै ‘हामीले निर्माण सामाग्री उपलब्ध, जिल्ला दर रेट कायम, श्रमिक दर रेट कायम गर्ने लगायतका काम गरिरहेका छौं । हामीले नसक्ने काम सरकारमार्फत पुर्‍याइनै रहेका छौं ।’ उनले सार्वजनिक खरिद ऐनका केही प्रावधानहरू वर्तमान अवस्थामा सान्दर्भिक नदेखिएको बताउँदै ‘संशोधनका लागि निर्माण व्यवसायीहरूले राज्यलाई दबाब दिन जरुरी छ ।’
निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले भने ‘सरकार कम भन्दा कम लागतमा गुणस्तर काम खोज्छ । यो कसरी सम्भव हुन्छ ?’ उनले सरकारले हचुवाको भरमा ईष्टिमेट गर्ने र व्यवसायीलाई मारमा पार्ने काम गरेको बताउँदै ‘ईष्टिमेट वैज्ञानिक शैलीमा गर्न जरुरी छ ।’
निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठ्ठीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य चक्रबहादुर शाही, महासंघ सुदूरपश्चिम क्षेत्रीय अध्यक्ष मदन कुँवर, कैलाली निर्माण व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष किशोर ठकुराठी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्माण व्यवसायी संघका कोषाध्यक्ष दीर्घराज जोशीले एक करोड ३७ लाख ४५ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव टेकबहादुर मल्लले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कैलाली निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष यज्ञराज उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ओम पाठकले गरेका थिए ।

शहिद गौतम सहित विभिन्न व्यत्ति सम्मानित
निर्माण व्यवसायी संघ कैलालीले २४ औं वार्षिक साधारण सभाको अवसरमा शहिद गोविन्द गौतमका परिवारसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
संघले शहिद गोविन्द गौतमकी श्रीमती लक्ष्मी गौतमलाई र सोही घटनामा घाइते भएका टीकाराम चापागाईलाई २५/२५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो । उनीहरूलाई कैलाली निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गरेका थिए । सरस्वती माध्यमिक विद्यालय, समैजी माध्यामिक विद्यालय र ज्ञान निकेतनलाई नगद पाँच/पाँच हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
संघले विभिन्न क्षेत्रमा योग्दान पुर्‍याएवाफत स्वास्थ्यकर्मी यशोदा ओझा, अपाङ्गता भएका व्यक्तिका तर्फबाट नन्दराज भट्ट, त्रिकेट खेलाडी शुभाष ऐर र नारायण जोशीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
यस्तै संघले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई पनि दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको छ । सम्मान हुनेमा प्रशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँद, सिंगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, चुरे गाउँपालिकाका वडा अध्यक्ष टेकबहादुर शाह, धनगढी उपमहानगरपालिकाका वडा सदस्य बब्लुकुमार चौधरी, ओम चन्द र गोविन्दबहादुर खडका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार