५ जेष्ठ २०८१, शनिबार

धनगढी उपमहानगरपालिका खुला दिसामुक्त घोषणा



धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
सोमबार एक औपचारिक समारोहबीच उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले ब्यानर पढेर तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर धनगढीलाई खुला दिसामुक्त घोषणा गरे ।
धनगढी उपमहानगरपालिकामा रहेका सबै ३१ हजार नौ सय १६ घरधुरीमा शौचालय निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको उपमहानगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।
समन्वय समितिद्वारा आयोजित घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले सरसफाई गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको स्मरण गरे ।
प्रजिअ रिजालले लक्ष्य प्राप्तीका लागि सन् २०११ मा कैलाली जिल्लाको खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी रणनीतिक योजना तयार गरी छ वर्षभित्र (अर्थात् सन् २०१६) जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको चर्चा गरे । तर, सो मितिमा घोषणा गर्न नसकिएपछि एक वर्ष थप गरी सन् २०१७ भित्रै घोषणा गर्ने अन्तिम तयारी भइरहेको उनले बताए ।
उनले बसाईसराई, मुक्त कमैया, सुकुम्बासी बस्ती लगायतका कारण जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अझैं पनि चुनौति रहेको बताए । उनले भने– घोषणा भएका स्थानीय तहमा समेत यसलाई दिगो बनाइराख्न चुनौति छ । उनले खुला दिसामुक्त घोषणा भएका उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, महिला स्वयंसेविका, आमा समुह, स्थानीय क्लव सहित सबैमा जिम्मेवारी थपिएको चर्चा गरे ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर दलबहादुर शाहले कैलालीलाई खुला दिसामुक्त घोषणाको अन्तिम तयारीमा रहेको बताए । उनले १३ वटा स्थानीय तह रहेको कैलालीमा नौ वटा खुला दिसामुक्त घोषणा भइसकेको बताए । उनले आज (मंगलबार) गोदावरी नगरपालिका र जानकी गाउँपालिकालाई पनि खुला दिसामुक्त घोषणा गरिने बताए ।
समन्वय समितिले लम्की नगरपालिका र जोशीपुर गाउँपालिकालाई खुला दिसामुक्त घोषणाका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । जोशीपुर गाउँपालिकालाई आगामी शुक्रबार खुला दिसामुक्त घोषणा गरिँदैछ भने कैलालीलाई पुसको तेस्रो साताभित्र घोषणा गर्ने तयारी भइरहेको छ ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका नगर संयोजक अम्बिका भण्डारीले उपमहानगरपालिकाका सबै घरधुरीमा शौचालय निर्माण भए पनि महिनावारी भएका बेला कतिपय महिलाले शौचालय प्रयोग गर्न कठिनाई भइरहेको बताइन् । उनले चर्पी बनाएपछि त्यसको उचित प्रयोगको बानी विकास गर्न समाजमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
कार्यक्रम धनगढी उपमहानगरपालिका उपप्रमुख मिश्रको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउँद, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हेमकर्ण विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातलीले स्वागत गरेको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सामाजिक विकास शाखा प्रमुख टंक बिष्टले सञ्चालन गरेका थिए ।
यसैबीच, उपमहानगरपालिकालाई खुला दिसामुक्त घोषणा गराउन योगदान पुर्‍याउने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर शाह, प्राविधिक पुष्पराज उप्रेती, अनुमोदन दैनिकका समाचारदाता शेरबहादुर ऐरलाई सम्मान गरियो ।
त्यस्तै, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सेवक नेपाल, सुआहारा, युनिसेफ, नवजीवन सेवा संघ, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह र वडा नागरिक मञ्चलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

पुस ११ गते मंगलबार (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार