६ कार्तिक २०८१, मंगलवार

शिक्षा क्षेत्रको सुधार प्राथमिकता : मेयर वड



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २० स्थित सर्वोदय माध्यमिक विद्यालय र वडा नम्बर १५ उर्मीस्थित राष्ट्रिय आभारभूत विद्यालयमा नवनिर्मित सामुदायिक पुस्तकालयको उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख वडले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वयले नै सामुदायिक विद्यालयको प्रगति सम्भव हुने बताए ।
प्रमुख वडले धनगढी उपमहानगरका सामुदायिक विद्यालयहरूमा आगामी शैक्षिक सत्रबाट कक्षा १ बाटै अंग्रजी माध्यममा पठनपाठनको नीति लागू गरिने बताए ।
‘हामी निजी विद्यालय राम्रो छन् भन्छौं, तर शिक्षकलाई तलबसुविधा तथा अवसर, तालिमका साथै भौतिक संरचना राम्रो भएका सामुदायिक विद्यालयहरूमा किन पढाईमा सुधार आउन सकेको छैन भन्नेमा कहिल्यै बहस गर्दैनौ’ उनले भने– ‘अब हामी सबैले यसबारे गमभीरतापूर्वक बहस गर्नु आवश्यक भइसकेको छ ।’
एक्सन एड नेपाल र फाया नेपालको सहयोगमा सर्वोदय माध्यमिक विद्यालयमा नौ लाख ४४ हजार ७४ रुपैयाँको लागतमा सामुदायिक पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
सो रकममध्ये पुस्तकालय स्थापनाका लागि सर्वोदय विद्यालयले एक लाख १० हजार दुई सय रुपैयाँ लगानी गरेको छ । पुस्तकालयमा तीन लाख ७० हजार रुपैयाँ बढी मूल्यका पुस्तक खरिद गरिएको जनाइएको छ ।
उर्मीको राष्ट्रिय आभारभूत विद्यालयमा पुस्तकालय निर्माणमा पनि विद्यालयको एक लाख ४३ हजार पाँच सय ५७ तथा फाया नेपालले १० लाख ५३ हजार दुई सय ८७ रुपैयाँ लगानी गरेको जनाइएको छ ।
कार्यक्रममा फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले उपमहानगरपालिका, सामुदायिक विद्यालय र अभिभावकले पुस्तकालयको संरक्षण गर्ने विश्वास व्यक्त गरे । छुट्टाछुट्टै आयोजित कार्यक्रममा अध्यक्ष वस्नेतले विद्यायललाई पुस्तकालयको तालाचावी हस्तान्तरण गरेका थिए ।
पुस्तकालय उदघाट्न कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत नारायण शर्मा, महिला विकास कार्यालयका अधिकृत सन्ध्या राज्यश्वरी सिंह, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक प्रतापसिंह धामी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हेमकर्ण विक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार