३ जेष्ठ २०८१, बिहीबार

कैलाली पूर्ण खोपयुक्त जिल्ला घोषित



धनगढी । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिशुहरूको खोपमा पहुँच भएपछि कैलालीलाई मंगलबार पूर्ण खोपयुक्त जिल्ला घोषणा गरियो ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डाक्टर विनोदमान श्रेष्ठ र बालरोग महाशाखाका कार्यक्रम निर्देशक वसन्त श्रेष्ठले मंगलबार धनगढीमा आयोजित एक विशेष कार्यक्रममा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डाक्टर श्रेष्ठले पूर्ण खोपयुक्त जिल्ला घोषणा हुनु सम्पूर्ण जिल्लावासीका लागि गौरवको विषय भएको चर्चा गरे ।
उनले कुनै पनि जिल्ला वा क्षेत्रलाई पूर्ण खोप घोषणा गर्न सहज भए पनि दिगो राख्न चुनौति भएको बताए । उनले पूर्ण खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वयंसेविका, सञ्चारकर्मी, जिल्लाबासी सबैमा जिम्मेवारी थपिएको बताए ।
बालरोग महाशाखाका कार्यक्रम निर्देशक वसन्तले स्वास्थ्य सेवा विस्तारका लागि स्थानीय तह अझ बढी जिम्मेवार बन्न आग्रह गरे । उनले हरेक बच्चा स्वस्थ भए नै मुलुकको भविष्य उज्यालो हुने भएकाले अभियानमा सबैको भूमिका अहम् रहेको बताए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पूर्ण खोप अभियानलाई दिगो बनाइराख्न हरेक अभिभावकले आफ्ना बालबच्चालाई समयमै सबै खोप दिनेतर्फ सधैं सजग हुन आग्रह गरे ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारीले लामो समयपछि कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्य सफल भएको चर्चा गरिन् ।
जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले सबै सर्वेक्षण गरेर मात्र कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा अभियान सफल भएको बताए ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले कैलालीका ४१ वटै स्वास्थ्य संस्थाबाट एक वर्षभित्र १३ हजार छ सय ६३ बालबालिकाले सबै ११ प्रकारका रोग विरुद्धको खोप पाएकाले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सम्भव भएको चर्चा गरे ।
कैलालीको साविकको मुनुवा गाविसबाट शुरु भएको पूर्ण खोपयुक्त घोषणा कार्यक्रम धनगढी उपमहानगरपालिकामा पुगेर सकिएको छ ।
कैलाली देशको ३० औं पूर्ण खोपयुक्त जिल्ला हो । त्यस्तै, प्रदेश नम्बर ७ मा पूर्ण खोपयुक्त घोषणा भएको सातौं जिल्ला हो ।
७ नम्बर प्रदेशको डोटी र बाजुरालाई पूर्ण खोप घोषणा भएपछि यो प्रदेश मुलुककै पहिलो पूर्ण खोपयुक्त प्रदेशका रूपमा चिनिने क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक केशव साउँदले बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्कामगर, गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा, कैलारी गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र महरा, गोदावरी नगरपालिकाका स्वास्थ्य संयोजक हर्कबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकार ऐरसहित चार जना सम्मानित
जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियान सफल पार्न योगदान पुर्‍याएवापत चार जनालाई सम्मान गरिएको छ ।
मंगलबार कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा खोप समन्वय समितिद्वारा अनुमोदन दैनिकका संवाददाता शेरबहादुर ऐरसहित चार जनालाई सम्मान गरियो ।
सो अवसरमा कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्द, अहेव जयकला रावल र कार्यालय सहयोगी रामबहादुर खत्रीलाई पनि सम्मान गरियो ।
त्यस्तै पूर्ण खोपयुक्त अभियान सफल पार्न सहयोग पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, आमा समूह, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

मंसिर २७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार