आम निर्वाचन–२०७४ : प्रदेश सातमा दुई महिला निर्वाचित
धनगढी । प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ दुई जना महिला उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यमा एक जना तथा प्रदेश सभा सदस्यमा एक जना महिला उम्मेदवार विजयी भएका छन् ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेश सभा सदस्यका ३२ स्थान रहेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी उम्मेदवार विना रानामगर विजयी भएकी हुन् ।
रानामगरले नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई हराएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिनाले ३८ हजार चार सय ६७ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, बिष्टले १९ हजार दुई सय १९ मत प्राप्त गरेका थिए ।
सो क्षेत्रबाट दुई महिलाले स्वतन्त्र उम्मेदवार रहेका थिए । स्वतन्त्र उम्मेदवार रुपादेवी विष्टले ९८ र निरादेवी शाहीले ३१ मत मात्र प्राप्त गरे ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेकी नेतृ डाक्टर आरजु राणा देउवा चार हजार आठ सय ८० मतान्तरले पराजीत भएकी छिन् । सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार नारदमुनि राना २७ हजार दुई सय दुई मतसहित विजयी भएका थिए ।
त्यस्तै, कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार रहेकी पूर्व सांसद गीता राणा क्षेत्री पनि पराजित भएकी छिन् । उनले दुई हजार आठ सय २१ मत प्राप्त गरेकी थिइन् ।
सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट ३१ हजार तीन सय ५१ मतसहित विजयी भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी मीना चौधरी फराकिलो मतान्तरले पराजित भइन् । पूर्व सभासद समेत रहेकी मीनाले तीन हजार एक सय ७० मत प्राप्त गरेकी थिइन् ।
सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारू विजयी भएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी राज्यलक्ष्मी चौधरीले जम्मा एक सय ५६ मत प्राप्त गरेकी थिइन् । सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार नरबहादुर धामी विजयी भएका छन् ।
त्यस्तै, बझाङ् निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कल्पना भण्डारी पनि पराजित भएकी छन् ।
संविधानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ । उम्मेदवारी नै नदिई निर्वाचित हुने कल्पना संविधानले गरेको छैन । प्रतिनिधिसभा गठनसम्बन्धी संविधानको धारा ८४ उपधारा ८ ले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा महिला उम्मेदवारको संख्या ५ प्रतिशत रहे पनि एक जना मात्र विजयी भइन् ।
त्यस्तै, प्रदेश सभा सदस्यमा पनि ७ नम्बर प्रदेशबाट एक जना महिला उम्मेदवार विजयी भएकी छन् । बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट बामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल (थापा) विजयी भएकी हुन् ।
यस प्रदेशका नौ वटै जिल्लाका अन्य क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका महिलाहरूले पराजय वेहोर्नु परेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘क’ मा नेपाली काँग्रेसकी उम्मेदवार जीवन रानाले हार व्यहोर्नु परेको छ ।
बझाङ प्रदेश ‘क’ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्रादेवी जोशी बाम गठबन्धनका उम्मेदवार अर्जुनबहादुर थापासंग पराजित भएकी थिइन् ।