१० माघ २०८१, बिहीबार

सुन्तला खेतीको केन्द्र बन्दै कफलसेरी



बझाङ । बझाङ बुंगल नगरपालिका कफलसेरीका बिष्णुभक्त जोशीको दिनचर्या प्राय: आफ्नो सुन्तलाबारीमा नै वित्ने गर्दछ । लामो समय राजनीतिमा विताएका बिष्णुभक्त २०६० सालदेखि सुन्तला खेती गरिरहेका छन् । ‘युवावस्थादेखि नै राजनीतिमा लागे, जिल्ला विकास समितिको सदस्य पनि भए’ उनी भन्छन्– ‘तर घरजहान पाल्नै धौंधौं हुन थालेपछि सुन्तला खेती गर्न थाले ।’
सुन्तला खेतीबाट अहिले उनले वार्षिक तीन लाख रुपैयाँ बढी आम्दानी हुने गरेको बताए । २०४३ सालमा उच्चशिक्षा हासिल गर्न काठमाडौं पुगेका उनी स्नातक उत्तीर्ण गरेपछि ०५१ सालमा बझाङ फर्किएका थिए । २०५४ सालमा जिल्ला विकास समिति सदस्य निर्वाचित भएका बिष्णुभक्त केही समय माओवादीमा समेत रहेका थिए ।
‘म माओवादीमा रहेको बेला नेपाली सेनाले खोजी गर्न थाल्यो, म लेकको भैंसीगोठमा लुकेर बसे’ उनले भने– त्यहीबाट म सुन्तला खेतीमा लागे, अहिले पूर्णरूपमा किसान बनेको छु । उनको बारीमा पाँच सय बढी सुन्तलाका बोट रहेका छन् ।
उनले सुन्तला खेतीको आम्दानीबाटै दुई छोरा र एक जना भाइलाई उच्च शिक्षा पढ्न काठमाडौं पठाएको बताए ।
बझाङको बुंगल नगरपालिका कफलसेरी अहिले जिल्लाकै सुन्तला खेतीको केन्द्र बनेको छ । बुंगल कफलसेरीका सबै घरपरिवारले धेरथोर सुन्तलाका बोट लगाएका छन् । कुनैबेला छिमेकी जिल्लाको सुन्तला भित्रिने गरेको बझाङमा अहिले कफलसेरीको सुन्तलाले बजार पाइरहेको छ । किसानहरूका अनुसार कफलसेरीको सुन्तला स्थानीयले राम्रो रुचाएका छन् ।
बिष्णुभक्तको प्रेरणाबाट सुन्तला खेतीमा लागेका थलारा गाउँपालिकाका हर्कबहादुर सिंहले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए ।
उनले जिल्ला कृषि विकास कार्यालयको अनुदान तथा सहयोगमा सुन्तला खेती गरिरहेको बताए ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केशीले कफलसेरीलाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजना रहेको बताए ।

मंसिर २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार