२१ बैशाख २०८१, शुक्रबार

बीऊ छर्ने बेला सकिन लाग्यो, मलको अभावै



धनगढी । हिउदे बाली लगाउने समय सकिन लागिसक्यो, तर कैलालीमा अझैं पनि रसायनिक मल अभाव रहेको छ । अहिलेसम्म कैलालीमा मागको आधा मात्रै रसायनिक मल भित्रिएको छ ।
जिल्लामा कृषि सामग्री केन्द्रले दुई हजार मेट्रिक टन डिएपी र चार हजार मेट्रिक टन युरिया वितरण गर्ने जिम्मा पाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय, धनगढीले एक हजार मेट्रिक टन डिएपी र दुई हजार युरिया वितरण गर्ने जिम्मा पाएको छ ।
कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले अहिलेसम्म कैलालीमा दुई हजार दुई सय ७८ मेट्रिक टन डिएपी र एक हजार नौ सय ८० मेट्रिक टन युरिया बिक्रीवितरण गरेको जनाइएको छ ।
कृषि सामग्री केन्द्रले अहिलेसम्म एक हजार चार सय मेट्रिक टन डिएपी र साल्ट ट्रेडिङले आठ सय ७८ मेट्रिक टन डिएपी तथा एक हजार नौ सय ८० मेट्रिक टन युरिया वितरण गरेको जनाएको छ । जिल्लामा अझै सात सय २२ मेट्रिक टन डिएपी र चार हजार ८० मेट्रिक टन युरिया अभाव रहेको छ ।
कृषि सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस क्षेत्रका लागि ६० प्रतिशत अनुदानको मल वितरण गर्ने जिम्मा पाएको केन्द्रका क्षेत्रीय प्रमुख दुर्गाप्रसाद पाण्डेले बताए । उनले अहिले भैरहवा र वीरगञ्जमै मल नपाएकोले आयात हुन नसकेको बताए ।
‘अवको केही दिनमै गहुँका लागि युरिया मलको आवश्यक पर्ने गर्दछ’ उनले अहिलेसम्म कार्यालयमा मल भित्रिने प्रक्रिया समेत सुरु नभएको बताए ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले रसायनिक मल आयातका लागि विशेष पहल भइरहेको बताए ।
हिउदे बाली लगाउने समय सकिन लाग्दा समेत कैलालीका किसानले रसायनिक मलको अभाव बेहोर्दै आएका छन् । भजनीस्थित सुनौलो सहकारी संस्थाका सदस्य चन्द्रप्रकाश चौधरीले दैनिक सयौं मानिस मलका लागि धाउने गरेको बताए । उनले सुनौलो सहकारीमा एक पटक एक सय बोरा डिएपी मात्रै आएको बताए । उनले किसानले अनुदानको मल नपाएपछि भारतबाट महंगो मूल्यमा मल ल्याउनु परेको बताए ।
कैलालीमा हिउदे बालीको समयमा हरेक वर्ष रसायनिक मलको अभाव हुने गरेको किसानहरूको गुनासो रहेको छ ।

कात्तिक २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार