२० बैशाख २०८१, बिहीबार

‘म आफूलाई हेभीवेट उम्मेदवारका रूपमा हेर्दैछु’



२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएको प्रदेश नम्बर ७ को महत्त्वपूर्ण मानिने निर्वाचन क्षेत्र नम्बर ५ (तत्कालीन क्षेत्र नम्बर ६) मा यस पटकको चुनावमा देउवा पत्नी डाक्टर आरजु राणा मैदानमा छिन् भने बाम गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी राना उम्मेदवार छन् । २०५४ सालमा धनगढी नगरपालिकाका उपप्रमुख निर्वाचित राना २०६४ सालमा समानुपातिक सांसद हुन् । खेलकुद तथा सामाजिक कार्यमा पनि संलग्न रहेका बाम गठबन्धनका उम्मेदवारसंग अनुमोदन दैनिकका लागि प्रमुख संवाददाता शेरबहादुर ऐरले गरेको कुराकानीको सारसंक्षेप :

नारदमुनी राना

† प्रधानमन्त्री पत्नी डाक्टर राणासंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?
– हो, यो क्षेत्रबाट नेपाली काँग्रेसका तर्फबाट डाक्टर आरजु राणा र बाम गठबन्धनबाट म उम्मेदवार
छु । बाम गठबन्धनको उम्मेदवार भएकाले मलाई चुनाव लड्न कुनै अप्ठ्यारो महशुस भएको छैन् । म आफूलाई अरुभन्दा हेभीवेट उम्मेदवारको रूपमा हेरिरहेको छु ।

† आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न के गर्दै हुनुहुन्छ ?
– हामी संयुक्त रूपमा नै चुनावी प्रचारप्रसार तीब्र बनाइरहेका छौं । गाउँ–गाउँमा, टोल–टोलमा प्रचारप्रसार कमिटी गठन गरेका छौं । उम्मेदवार र मतदाताको सम्बन्धलाई नजिक बनाउन भेटघाट कार्यक्रम पनि गरिरहेका छौं ।

† तपाईंको चुनाव जित्ने आधार के हुन् ?
– सबभन्दा बलियो आधार भनेको दुई ठूला पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा
(एमाले) एक ठाउँमा उभिएका छौं । एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौं । हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्धि अहिले संगै लड्दा निश्चित रूपमा दुई गुणा भएको छ । फेरि म यहाँको स्थानीय भएको नाताले मलाई यहाँका दाजुभाइ, दिदीबहिनी, उद्योगी व्यावसायी, बुद्धिजीवी, पेसाकर्मी, किसान सबैले राम्रोसंग चिन्दछन् । मलाई माया गर्छन् र मेरो उत्साह बढाइरहेका छन् । उहाँहरुको माया ममता नै मेरो अर्को आधार हो ।
म साविक धनगढी नगरपालिकाको उपमेयर हुँदा र २०६४ सालमा समानुपातिक सांसद हुँदा मैले यस क्षेत्रमा जनतालाई देखिने गरी केही उल्लेखनीय काम गरेको छु । शिवनगर खानेपानी आयोजना, शिव निमावि, मुक्त कमैया शिविरमा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण लगायतका काम गरेको छु । मैले गरिब तथा पछाडि परेका ठाउँमा र शिक्षा क्षेत्रमा मेरो ठूलो योगदान रहेको छ । त्यस्तै, अर्को महत्त्वपूर्ण आधार भनेको हाम्रो चुनावी एजेण्डा हो ।

† मतदाताको प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?
– घरदैलो अभियानका क्रममा मतदाताहरूले हामीलाई खबरदारी गरिरहेका छन् । मतदाताले २०४८ सालदेखि यो क्षेत्रमा पटक–पटक नेपाली काँग्रेसलाई जिताए पनि केही पनि गर्न नसकेको गुनासो गरिरहेका छन् । अब दुईवटा बामपन्थी एकै ठाउँमा आएपछि आम मतदाताले पनि बामपन्थी सरकार बनाउनुपर्छ भन्ने गरेका छन् । बामपन्थी सरकार नबनेकै कारणले यो देशमा शान्ति, सुरक्षा, आर्थिक अवस्था कमजोर, विकासका मुद्दा ओझेलमा परिरहेको, गरिब, सुकुम्बासी, मुक्त कमैयाको अहिलेसम्म उचित व्यवस्था हुन नसकेको मतदाताले गुनासो गरेको मैले पाए ।

† कैलालीको मुख्य समस्या के–के हुन ?
– कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन । कैलाली जिल्लामा वास्तविक रूपमा थुप्रै समस्या छन् । शहरी विकास जुन हिसावले व्यवस्थित हुनुपथ्र्यो, त्यो भएको छैन । सबै गाउँ–वस्तीमा शुद्ध खानेपानीको सुविधा पुग्नु सकेको
छैन । शिक्षामा अझै पनि धेरै मान्छेको पहुँच छैन ।

† यदि निर्वाचित हुनुभयो भने यस क्षेत्रलाई कस्तो बनाउने सोच्नु भएको छ ?
– कैलाली क्षेत्र नम्बर ५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि मैले काम गर्नेछु । कैलालीको धनगढी विमानस्थल र गौरीफण्टा नाकाको स्तरोन्नती गर्ने पहिलो प्राथमिकता हुनेछ । कैलाली ७ नम्बर प्रदेशको व्यापारिक नाका भएकाले यसलाई औद्योगिक क्षेत्र बनाउन पहल गर्नेछु । यस क्षेत्रको कृषिलाई आधुनिकीकरण गर्ने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरी कैलालीलाई शैक्षिक ‘हव’ बनाउने, हरेक घरमा शुद्ध खानेपानी पुर्‍याउने, रणनीतिक योजना तयार गर्ने छु । कैलाली सहित ७ नम्बर प्रदेश संस्कृति, पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण गर्दै यसको प्रवद्र्धनका लागि पनि पहल गर्ने छु । यस क्षेत्रका लोपोन्मुख जातहरूको सूचीकरण गर्ने, मुक्त कमैया, मुक्त कम्लहरीको पुनस्र्थापना गर्न पहल गर्ने योजना छ ।

† अन्त्यमा आम मतदातालाई के अपिल गर्न चाहनु हुन्छ ?
– हामी धेरै वर्ष ठगिएका छौं । नेपाली काँग्रेसले लामो समय शासन चलाउँदा ७ नम्बर प्रदेश विकासको हिसाबले पछाडि परेको छ । सिंगो नेपालमा शान्ति, आर्थिक समृद्धि ल्याउर्न बाम गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गर्दछु ।

 

कात्तिक २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार