१० माघ २०८१, बिहीबार

आसन्न आम निर्वाचन: मतदाता शिक्षा कार्यक्रम शुरु



धनगढी । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलालीमा पनि शनिबारदेखि मतदाता शिक्षा कार्यक्रम शुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा बदर मतको प्रतिशत धेरै भएकाले यस पटक कम गर्न मतदाता शिक्षालाई अझ प्रभावकारी बनाइने जनाइएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सही तरिकाले मतदान गर्न सिकाउन कर्मचारीहरूलाई गाउँगाउँ खटाइएको छ । यस पटक विभिन्न सरकारी तथा गैरसरकारी निकायसंगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम अघि बढाइएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले शनिबारदेखि मतदाता शिक्षा कार्यकर्तालाई तीन दिने तालिम शुरु गरिएको बताए । तालिममा कैलालीका पाँच सय ३८ जना मतदाता शिक्षा कार्यकर्ताको सहभागिता रहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख अर्यालका अनुसार तालिमको पहिलो दिन एक सय ९० जनाको सहभागिता रहेको थियो । क्षेत्रीय निर्वाचन कार्यालयले सबै राजनीतिक दललाई मतदाता शिक्षामा सहयोग गर्न अनुरोध गरेको छ ।
पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको उनले बताए ।
पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको मंसिर २१ गते तोकिएको छ । यो निर्वाचनमा तीन वटा मतपत्र हुनेछन् । सो मतपत्रमा चार वटा छाप लगाउनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ दुई वटा मत हुनेछन् भने समानुपातिकतर्फ एउटै मतपत्रमा दुई वटा छाप लगाउनु पर्नेछ ।
निर्वाचन अधिकारी अर्यालका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा मतदातालाई मतदान कसरी गर्ने, मतदानको के महत्त्व र बदर मत संख्यालाई कसरी घटाउन सकिन्छ ? भन्ने विषयमा मतदाता शिक्षा कार्यकर्ताले शिक्षा दिने जनाइएको छ ।
एक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ताको अवधारणा अनुसार तीन दिनसम्म उनीहरूलाई तालिम दिएपछि २८ गतेदेखि आ–आफ्नो मतदान केन्द्रमा खटाएर आम मतदातालाई मतदानबारे शिक्षा दिनेछन् ।
कैलाली जिल्लाका पाँचबटै निर्वाचन क्षेत्रमा यस पटक चार लाख ५७ हजार चार सय ९८ मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयको तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा ९० हजार छ सय ७४ मतदाता रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा ८९ हजार आठ सय ७१, क्षेत्र नम्बर ३ मा ९१ हजार सात सय ३३, क्षेत्र नम्बर ४ मा ९३ हजार तीन सय ८४ र क्षेत्र नम्बर ५ मा ९१ हजार आठ सय ३८ मतदाता रहेको जनाइएको छ ।
उता, कञ्चनपुरमा तीन सय २० जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जनाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी केशवसिंह भण्डारीका कञ्चनपुरमा दुई लाख ६४ हजार नौ सय ७३ जना मतदाता रहेका छन् ।
कञ्चनपुरमा एक सय ३२ मतदानस्थल तथा तीन सय २० मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन अधिकारी भण्डारीका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले जिल्लाभरी तीन सय २० जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ ।
कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यका लागि तीन तथा प्रदेश सभा सदस्यका लागि छ निर्वाचन क्षेत्र रहेका छन् ।
निर्वाचनलाई केन्द्रित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले शनिबार कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका बेल्डाँडी, बेलौरी, लालझाडी र पुनर्वासमा अनुगमन गरिएको छ ।
त्यस्तै, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा कुनै पनि किसिमका अपराधिक तथा अवांछित गतिविधि हुन नदिन भारतीय सीमानाकामा नेपाल प्रहरी र भारतीय एसएसबीले संयुक्त रूपमा गस्ती गर्ने जनाइएको छ ।

कात्तिक २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार