छाडा पशुचौपाया नियन्त्रण अभियान : सम्बन्धित पशुधनीलाई बुझाइँदै
धनगढी । धनगढी उपमहानगरपालिकाको फूलवारीमा छाडा पशुचौपाया नियन्त्रण अभियान अघि बढाइएको छ । उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा रहेका छाडा चौपायालाई उनीहरूको मालिकलाई पहिचान गरी जिम्मा लगाइने अभियान अघि बढाइएको छ ।

छाडा पशुचौपाया नियन्त्रणका लागि फूलवारीमा स्थापना भएको फूलवारी गौशाला संरक्षण समिति र धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ को संयुक्त पहलमा नियन्त्रण कार्य अघि बढाइएको छ ।
फूलबारी गौशाला संरक्षण समितिका सचिव मेघप्रसाद शर्माले फूलवारी क्षेत्रमा पाँचको हाराहारीमा छाडा पशुचौपाया रहेको बताए । उनले फूलवारीमा स्थापना गरिएको गौशालामा करिब दुई सय छाडा पशुचौपाया रहेको बताए । ‘ती पशुचौपाया हेर्ने हेरालुले काम गर्न छोडेपछि समस्या बढेको छ’ उनले भने– ‘पशुचौपाया बढेर अन्नबालीमा क्षति पुर्याउने क्रम बढेकोले पशुधनीको खोजी गरी बुझाउने अभियान चलाइएको छ ।
यसैबीच, शुक्रबार गौशाला संरक्षण समिति र धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ को वडा कार्यालय, प्रहरी, राजनीतिक दल तथा स्थानीय बासिन्दाको पहलमा पशुचौपाया छोड्ने व्यक्ति तथा परिवारको पहिचान गर्ने काम अघि बढाइएको वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारीले बताए । वडाध्यक्ष अधिकारीले पशुचौपाया छाडा छोड्ने फूलवारीका ४२ घरपरिवारको पहिचान गरी शुक्रबार १२ परिवारलाई उनीहरूका पशुचौपाया बुझाइएको बताए ।