५ जेष्ठ २०८१, शनिबार

अढाई दर्जन बढी स्वास्थ्य भवन निर्माण हुँदै



धनगढी । प्रदेश नम्बर ७ मा स्वास्थ्य संस्थाका ३१ वटा भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षमा देशभरी दुई सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको स्वीकृति प्रदान गरेको छ ।
मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका संस्थालाई भवन निर्माण गर्ने स्विकृति दिएकोमा प्रदेश नम्बर ७ मा ३१ वटा भवन निर्माण हुने जनाइएको छ ।
चालू आर्थिक वर्षमा प्रदेश नम्बर ७ मा बैतडीमा सबैभन्दा बढी स्वास्थ्य संस्थामा भवन निर्माण हुने छन् । स्वास्थ्य मन्त्रालयले स्विकृति दिएअनुसार बैतडीमा १५ वटा स्वास्थ्य संस्थामा भवन निर्माण हुने छन् । त्यस्तै, कैलाली, डोटी, दार्चुला र अछाममा तीन/तीन र कञ्चनपुर र बझाङमा दुई/दुई नयाँ भवन निर्माण हुने भएका छन् ।
मन्त्रालयले कैलालीको टीकापुर अस्पतालमा डाक्टर क्वाटर, कर्मचारी/नर्सिङ क्वाटर र क्याक/प्याक एएसी सेवा र तालिम कक्ष निर्माण गर्न स्विकृत प्रदान गरेको छ ।
त्यस्तै, डोटीमा गुगुड स्वास्थ्य चौकी, धिर्कामाडौं स्वास्थ्य चौकीको नयाँ भवन र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा चार परिवारको कर्मचारी/नर्सिङ भवन निर्माण गर्न स्विकृत दिएको छ ।
अछाममा कुस्कोट स्वास्थ्य चौकी, बान्नातोली उपस्वास्थ्य चौकीको नयाँ भवन र नवाठाना स्वास्थ्य चौकीमा वर्थिङ युनिट भवनको निर्माणका लागि स्विकृति दिएको छ ।
दार्चुलामा खण्डेश्वरी, देथला स्वास्थ्य चौकीको नयाँ भवन र गोकुलेश्वर अस्पतालको भवन निर्माण गरिने छ ।
बझाङको पिपलकोट र लुयाटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण र कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र वेलौरी प्रथामिक अस्पतालको भवन निर्माण हुने जनाइएको छ ।
बैतडीमा शंकरपुर, डिलासैनी, वसन्तपुर, थालाकाँडा, जोशीबुँगा, न्वादेउ, देहीमाडौं, न्वाली, हाडाकोट, उदयदेव, हटैराज स्वास्थ्य चौकीको नयाँ भवन, केशरपुर प्राथमिक अस्पताल र बैतडी जिल्ला अस्पताल चार परिवार स्टाफ क्वाटर नयाँ भवन निर्माण हुने भएको छ ।
मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित विभिन्न जिल्लामा डाक्टर आवास समेत निर्माण गर्न जिल्ला र संस्था छनोट गरेको छ ।

कात्तिक १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार