२३ बैशाख २०८१, आईतवार

तिहारमा इन्धन अभावको त्रास



धनगढी । ‘तिहार चाडमा आज (बिहीबार) देखि सार्वजनिक विदा भएको छ । तीन दिनसम्म पेट्रोल पाइने हो कि पाइदैन, अहिले भरेर राख्नुपर्‍यो’ धनगढीका अधिकांस मोटरसाइकल चालकको भनाई हो यो ।
चाडपर्वमा सरकारी कार्यालय बन्द हुन्छन् र यति नै बेला बजारमा पेट्रोल तथा डिजेलको अभाव हुने समस्या पनि विगतदेखिको नै हो । यो समस्या अहिले पनि कायमै छ । दशैको बेला फूलपातीदेखि विजयादशमीसम्म चार दिन विदा हुँदा यस पटक पनि बजारमा पेट्रोल र डिजेलको समस्या भएको थियो ।
दशैको समयमा आयल स्टोर (पेट्रोल पम्प) मा पेट्रोल/डिजेलको अभाव भए पनि किराना, खोका पसलमा भने बोतलमा पेट्रोल विक्री भएका थिए । सामान्यतया: आयल स्टोरले प्रति लिटर ९७ रुपैयाँका दरमा पेट्रोल विक्री गरे पनि खुद्रा पसलमा भने प्रतिलिटर एक सय २० देखि एक सय ५० रुपैयाँमा पेट्रोल किन्न सर्वसाधारण बाध्य भएका थिए ।
दशैंको बेला जस्तै तिहारमा पनि महँगो शुल्कमा पेट्रोल हाल्नु नपरोस् भन्दै सर्वसाधारणले बुधबार धनगढीका विभिन्न पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल भरिरहेका थिए ।
दशैका बेला लगातार सार्वजनिक विदा हुँदा पेट्रोलियम पदार्थको अभाव भएको ७ नम्बर प्रदेशमा तिहारको बेला पनि सोही समस्या दोहोरिने सम्भावना देखिएको छ ।
दशैका बेला पेट्रोलियम पदार्थको अभाव भएपछि उपभोक्ताले सास्ती खेप्नु परेको थियो । अहिले तिहारमा पनि त्यस्तै सास्ती बेहोर्नु पर्ने देखिएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीसंग ७ नम्बर प्रदेशका लागि एक दिनमा आवश्यक पर्ने भन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता नहुनु र तिहारको बेला लगातार लामो सार्वजनिक विदा पर्ने भएकाले यसबेला पेट्रोलियम पदार्थ अभाव हुने देखिएको हो ।
हाल आयल निगम क्षेत्रीय कार्यालयमा ६२ हजार नौ सय ९२ लिटर पेट्रोल मात्रै मौज्दात रहेको क्षेत्रीय कार्यालयका निमित्त प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए । उनले पेट्रोल बाहेक अरु पेट्रोलियम पदार्थको भने अभाव नहुने बताए ।

कात्तिक २ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार