५ जेष्ठ २०८१, शनिबार

मिठाईमा रंग प्रयोग नगर्न अनुरोध



धनगढी । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयले मिठाईमा रंग प्रयोग नगर्न अनुरोध गरेको छ । तिहारमा बढि रंग प्रयोग गरिएका मिठाई बिक्री हुने सम्भावनालाई दृष्टिगत गरी गुण नियन्त्रण कार्यालयले आम उपभोक्तालाई सचेत हुन पनि आग्रह गरेको छ ।
सो कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तिहारको समयमा अत्यधिक रंगिन मिठाईजन्य खाद्य पदार्थ विक्रीवितरण हुनसक्ने भएकाले उपभोक्ताले सचेत भएर मिठाई खरिद गर्न आग्रह गरेको छ ।
रंग मिसिएको मिठाई स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्ता खाद्य पदार्थ नबनाउन तथा विधी नगर्न र सेवन नगर्न सबैमा आग्रह गरेको छ ।
यसैबीच, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालय, कैलालीले तिहारलाई दृष्टिगत गरी मंगलबार मिठाई पसलहरूको अनुगमन गरेको छ ।
अनुगमन टोलीले धनगढी बजारका विभिन्न १८ वटा मिठाई पसलमा अनुगमन गरेको जनाइएको छ ।
अनुगमनका क्रममा पवन स्वीट हाउसमा निकै रंग प्रयोग गरिएको पाँच किलोग्राम जेरी र डेढ किलो अरु मिठाई जफत गरी नष्ट गरिएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी जगदिश जोशीले जानकारी दिए ।
त्यस्तै, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीले असोज २५ गतेदेखि ३० गतेसम्म बझाङ र डडेल्धुराका विभिन्न बजारको अनुगमन गरेको छ ।
कार्यालयले विभिन्न बजारहरूको अनुगमन गर्दा अखाद्य बस्तु, उपभोग्य वस्तुको अवधी समाप्त भएका, लेवल नभएका र खाद्य ऐननियम तथा प्रचलित मापदण्ड विपरित रहेका खाद्य सामग्री जफत गरेको जनाएको छ ।
सम्बन्धित जिल्लाका स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसहित गरिएको संयुक्त अनुगमनका क्रममा विभिन्न पसल, होटल तथा व्यावसायिक फर्महरूमा छड्के अनुगमन निरीक्षण गरिएको सूचना अधिकारी जोशीले बताए ।
उनका अनुसार बझाङ जिल्लाका चैनपुर बजार तथा डडेल्धुरा जिल्लाको सदरमुकाम लगायत विभिन्न बजारमा रहेका ४८ वटा थोक तथा खुद्रा पसल एवं फर्ममा छड्के अनुगमन निरीक्षण गरिएकोमा चिसो पेय पदार्थ (फेन्टा, स्प्राइट, कोक जिरो, ब्रष्ट, कोकाकोला, थम्प्स अप ब्राण्डका) विभिन्न साईजका बोतलहरू गरी तीन सय १० लिटर, टफी, मसला, सूजीमा उपभोग्य अवधि समाप्त भएको अवस्थामा फेला परेको जनाइएको छ ।
जफत गरिएको अखाद्य बस्तुहरू स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूको रोहवरमा नष्ट गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।
सुचना अधिकारी जोशीले अनुगमन निरीक्षणका क्रममा खाद्य ऐन नियमअनुसार संकलन गरेका शंकास्पद खाद्य पदार्थका २८ वटा नमूना प्रयोगशाला परीक्षणका लागि पठाईएको तथा कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।
अनुगमन टोलीमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख उपेन्द्र राय, खाद्य निरीक्षक कृष्णदत्त लेखक, खाद्य निरीक्षक नारायणसिंह रावत लगायत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कात्तिक १ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार