१० श्रावण २०८१, बिहीबार

दुई गाउँपालिकामा कर्मचारी व्यवस्थापन हुन सकेन



धनगढी । कैलालीका दुई गाउँपालिकामा अझैं कर्मचारी व्यवस्थापन हुन सकेको छैन । कर्मचारी व्यवस्थापन हुननसक्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ भने गाउँपालकिाका कामकारबाही प्रभावित भएका छन् ।
स्थानीय तह निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको तीन महिना पुग्न लाग्दा पनि कैलालीका पहाडी गाउँपालिका चुरे र मोहन्यालमा अझै कर्मचारी व्यवस्थापन हुनसकेको छैन ।
कर्मचारीको अभावमा सेवाग्राहीले कुनै पनि सेवा प्राप्त गर्न हप्तौ कुर्नुपर्ने बाध्यता छ । स्थानीयका अनुसार मोहन्याल गाउँपालिकाका कार्यकारी अधिकृत गणेश ओझाले धनगढीको तारानगरमा नै गाउँपालिकाको सम्पर्क कार्यालय खोलेका छन् । कार्यकारी अधिकृत ओझाले स्थानीय तहको निर्वाचन अघि नै धनगढीमा सम्पर्क कार्यालय खोलेको बताइन्छ ।
गाउँपालिका अध्यक्ष नवलसिंह रावलले कार्यकारी अधिकृत ओझाले गाउँपालिकाको काम धनगढीमा बसेर सम्पादन गरिरहेको बताए ।
अध्यक्ष रावलले मोहन्याल गाउँपालिका सात वडाका लागि दुई वडा सचिव र एक जना प्राविधिकले भ्याउनुपर्ने अवस्था छ । अध्यक्ष रावलले भने– ‘वडामा कर्मचारी खटाइएको छ, तर उनीहरू कार्यालयमा हप्ता या महिना दिनमा मात्र जाने गरेका छन् ।
मोहन्याल गाउँपालिकाको वडा नम्बर १, २ र ३ को जिम्मेवारी वडा सचिव पदमराज जोशीले बहन गरिरहेका छन् ।
त्यस्तै, वडा नम्बर ४ र ५ मा वडा सचिव तेजबहादुर शाह र ६ र ७ मा प्राविधिक कृत बोहराले हेर्ने गरेका छन् । स्थानीय सेवाग्राही भने वडा सचिवहरू पनि प्राय: कार्यालयमा अनुपस्थित रहने गरेको बताउँछन् । सेवाग्राहीहरूको गुनासो छ– ‘वडा कार्यालयबाट कुनै काम गराउनु परेमा वडा सचिवलाई फोन गरेर उनीहरूले बोलाएको स्थानमा पुग्नु पर्ने हुन्छ ।’
कर्मचारीहरू किन कार्यालयमा बस्दैनन् ? अनुमोदन दैनिकको टेलिफोन प्रश्नमा गाउँपालिका अध्यक्ष रावलले भने– ‘सबै कर्मचारी सुविधा मात्रै खोज्छन् । मोहन्याल र चुरे गाउँपालिकामा न त सडक छ न यातायातको पहुँच नै छ ।’
उनका अनुसार मोहन्याल र चुरे गाउँपालिकामा पहिलो कुरा त कर्मचारीहरू जान मान्दैनन् मानेपनि कार्यालयमा नबसी सुविधा सम्पन्न शहर धनगढी, लम्की र टीकापुरमा बस्ने गरेका छन् । कर्मचारी कार्यालयमा नबसे कारबाही किन हुँदैन भनेर प्रश्न गर्दा उनले भने ‘कर्मचारीहरूलाई राजनीतिक संरक्षण छ ।’
मोहन्याल गाउँपालिकामा मात्र होईन चुरे गाउँपालिकामा पनि यस्तै समस्या रहेको छ । चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्कामगरका अनुसार ६ वटा वडा रहेको गाउँपालिकामा एक जना पनि वडा सचिव छैनन् । गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए पनि उपस्थित भएका छैनन् । अध्यक्ष रोक्कामगरले भने– ‘यस गाउँपालिकाका कार्यकारी अधिकृत जीवन कँुवरको सरुवा भए पछि अहिले वेदकोट नगरपालिकाबाट हेमराज जोशीलाई चुरे गाउँपालिकामा सरुवा गरिएको छ, तर उनी अहिलेसम्म उपस्थित भएका छैनन् ।’
चुरे गाउँपालिकाको ६ वडामध्ये वडा नम्बर एकमा स्वास्थ्य संयोजक लक्ष्मी उपाध्याय, ३, ४, ५ र ६ नम्बर वडामा प्राविधिक र वडा नम्बर २ मा खरिदारले हेर्ने गरेको अध्यक्ष रोक्कामगरले जानकारी दिए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सबै स्थानीय तहबाट कर्मचारीहरूको माग आइरहेको र सोही अनुसार कर्मचारी व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनको काम गरिरहेको बताए । ‘अब छिट्टै सबै स्थानीय तहमा कर्मचारी अभाव हुन दिँदैनौं’ उनले भने ।

असाेज २४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार