२० मंसिर २०८१, बिहीबार

बजार अनुगमन तीब्र बनाइँदै



धनगढी । दशैंतिहार सहितका धार्मिक चाडपर्व नजिकिँदै गर्दा जिल्ला अनुगमन समिति, कैलालीले बजार अनुगमनलाई तीब्र बनाउने भएको छ ।
चाडबाडको समयमा बजारमा खाद्य सामग्री लगायत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा कालोबजारी हुने, खाद्य सामग्रीमा मिसावट गर्ने तथा महंगो मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने सम्भावनालाई दृष्टिगत गरी बजार अनुगमनलाई तीब्र तथा व्यापक बनाइने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा बसेको समितिको बैठकले दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन तथा उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।
बैठकले विषयगत सरकारी कार्यालय र सम्बन्धित स्थानीय तहले आआफ्नो क्षेत्रमा उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गर्न गराउन नियमित अनुगमन गर्न पनि आग्रह गरेको छ ।
‘नजिकिँदै गरेको चाडवाडका समयमा दैनिक उपभोग्य वस्तुमा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र सामग्री नपाउने समस्या हटाउन स्थानीय तह थप जिम्मेवार बन्नुपर्छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘यथाशिघ्र विषयगत कार्यालय र स्थानीय तहले पनि बजार अनुगमन तीब्र बनाउनु होस् ।’
जिल्ला अनुगमन समितिले बजारमा प्राय: व्यावसायीले दैनिक उपभोग्य सामग्रीको मूल्यसूची नराख्ने गरेको गुनासो बढ्दै गएकोले ‘उपभोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउन, मूल्यमा छुट सहित मूल्यसूची राख्न र सो व्यवस्थापनमा सहयोगका लागि उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने’ निर्णय गरेको छ ।
त्यस्तै, नेपाल खाद्य संस्थानले साल्ट ट्रेडिङ कर्पोरेशनसंग समन्वय गरी यथाशिघ्र संयुक्त रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्न र दूग्ध विकास संस्थानलाई समेत सहभागिताका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकमा विषयगत कार्यालयका प्रमुख, १३ वटै स्थानीय तहका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, उपभोक्ता मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सञ्चालन गरेको सुपथ मूल्य पसलप्रति आम उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।
गत १६ गतेदेखि सञ्चालन गरेको सुपथ मूल्य पसलबाट बिहीबारसम्म पाँच लाख रुपैयाँ बराबरको चिनी र नून बिक्री भइसकेको जनाइएको छ ।
साल्टट्ेरडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक केशवराज पाण्डेका अनुसार सुपथ मूल्य पसलबाट बिहीबारसम्म ५१ क्विन्टल चिनी र ५० क्विन्टल नून बिक्री भइसकेको छ । साल्ट ट्ेरडिङले धनगढी, टीकापुर, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डडेल्धुरा, दिपायल र बैतडी गरी सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ७७ र नून प्रतिकिलो १८ रुपैयाँ दर कायम गरिएको छ । अहिले तराईका जिल्लामा चिनी प्रतिकिलो ८२ देखि ८५ र पहाडी जिल्लामा ९० देखि ९५ रुपैयाँ बजार मूल्य रहेको छ ।
सहायक महाप्रबन्धक पाण्डेका अनुसार अहिले अछाम, बझाङ, बाजुरा लगायतका जिल्लाका स्थानीय प्रशासनले आफ्नो जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालनका लागि अनुरोध गरेका छन् ।
यता, नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले केही दिनभित्रै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य संस्थानले सुपथ मूल्य पसलबाट चामल र पिठो बिक्री गरिने जनाएको छ ।

भदाै २४ गते (epaper) (1)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार