१६ चैत्र २०८०, शुक्रबार

मुचुल्काको विवाद बढेपछि धनगढीमा मतगणना स्थगित



अनुमोदन समाचार/धनगढी

मतदान सम्पन्न भएको मुचुल्काको विवादमा धनगढी उपमहानगरपालिकाको मतगणना कार्य आइतबार साँझबाट रोकिएको छ ।
बिहीबारबाट शुरु भएर आइतबारसम्म तीन वडाको मतगणना कार्य पुरा भइसकेपछि आइतबार अचानक मुचुल्काको विवाद सिर्जना गरिएको छ ।
वडा नम्वर १७ को मतगणना सुरु गर्ने क्रममा केही राजनीतिक दलका प्रतिनिधिले मुचुल्का र शिल लगाएको सिरियल माग गरेपछि विवाद सिर्जना भएको थियो । ‘मतगणनामा बसेका प्रतिनिधिहरूले मतदान केन्द्रमा शिलबन्दी गरिएका मुचुल्का चाहियो भनेर बखेडा गर्ने काम भयो’ मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भने– मतपत्र गणना गर्ने क्रममा एक दुई पार्टीका प्रतिनिधि बाहिरिए । बिहान ९ बजे देखिनै बेलाबेला मतगणनामा विभिन्न निहुँ खोज्दै अवरोध गर्ने काम भइरहेको थियो । दिउँसोदेखि मतदानको मुचुल्का माग गर्दै आएका केही दल बाहेक अरुले मुचुल्काभन्दा पनि वडा नम्वर १७ को गणना कार्यलाई निरन्तरता दिनका लागि अनुरोध गरेपछि साँझसम्म मतगणना जारी रहेको थियो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले केही दल तथा उम्मेदवारले बुथको मुचुल्का हराएको आरोप लगाउँदै विवाद सिर्जना गरेपछि साँझ ५ बजेदेखि मतगणना स्थगित गरिएको बताए । कैलालीका मुख्य निर्वाचन अधिकृत महराले मतदान सकिएलगत्तै सबै उम्मेदवारलाई हरेक मतपेटिको शिल नम्बर दिने प्रावधान रहेको बताए । मुचुल्काको विवादमा मतगणना कार्य नै स्थगित गर्नुपर्ने अवस्था आएपछि निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई ‘मुचुल्का देखाउन मिल्ने वा नमिल्ने ?’ बारे पत्राचार गरेको जनाइएको छ ।

तीन वडाको मतगणना सकियो

आइतबारसम्म धनगढीका वडा नम्बर १, १८ र १९ को मतगणना भइसकेको छ । आइतबारसम्मको मतगणना नतिजाअनुसार उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर ओडले अग्रता कायमै गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार का“ग्रेसले तीन हजार सात सय ६१ मत प्राप्त गरेको छ । त्यस्तै, एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले तीन हजार ४३ र माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले एक हजार आठ सय १४ मत प्राप्त गरेका छन् । पमेयरमा पनि का“ग्रेसका उम्मेदवार सुशीला मिश्र भट्ट अग्रस्थानमा रहेकी छिन् । उपमेयरकी उम्मेदवार भट्टले चार हजार तीन सय ३२ र एमालेकी उम्मेदवार रुकमणी देवकोटाले तीन हजार आठ सय १० मत प्राप्त गरेका छन् । प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।
आइतबार मतगणना सकिएको धनगढीको वडा नम्बर १८ मा माओवादी केन्द्रका मुरारी अधिकारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका तिलुराम चौधरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्