१८ बैशाख २०८१, मंगलवार

‘कैलारीमा एमाले जित्ने अवस्थामा पुगेको छ’



रामप्रसाद चौधरी
अध्यक्षका उम्मेदवार
झुमा चौधरी अनुपा
उपाध्यक्षका उम्मेदवार

कैलारी गाउँपालिका कैलाली जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका हो भने हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच कम हुनु पछि पर्नाका मुख्य कारण हुन । त्यस्तै गरेर गाउँगाउँसम्म सडक यातायातमा पहुँच नहुनुले पनि यहाँका कृषि उत्पादन बजारसम्म पुगाउन नसक्नु अर्को समस्या हो । हरेक वर्ष नदीले जग्गा कटान गर्दा विगाहाका विगाहा खेती योग्य जमिन वगरमा परिणत भइरहेका छन् ।
वर्षोदेखि बस्दै आएका, खेतीपाती लाउँदै गरेका जनतासंग लालपूर्जा नहुँनु पनि ठूलो समस्याका रूपमा रहेको छ । यस्तै प्राकृतिक र मानवीय समस्याले होला नेकपा (एमाले) विगतमा यहाँ निक्कै कमजोर अवस्थामा रहेको थियो । त्यस्तैमा थारू समूदायको बाहुल्यता रहेको यो क्षेत्रमा एमालेमाथि अनेकौ आरोप लगाइएकोले पनि हामी कमजोर देखिएका थियौ ।
तर, चैतदेखिको मेहनतले यहाँको अवस्थामा निक्कै परिवर्तन आएको छ । त्यतिवेला एमाले भएर पनि एमाले भन्न गाह्रो मान्नेहरू अब खुलेर एमाले जिताउने अभियानमा लागेका छन् । उम्मेदवार हुने चाहनेले तछाडमछाड नै भयो । समग्रमा भन्नु पर्दा कैलारी गाउँपालिकामा हामी जित्ने अवस्थामा छौं । अहिले अरू दलको भन्दा हाम्रो घरदैलो कार्यक्रमहरू निक्कै प्रभावकारी देखिएका छन् ।
रतनपुर, पवेरा, हसुलिया, गदरिया, उदासीपुर र बसौटी गाविसका अधिकांश भाग मिलेर बनेको कैलारी गाउँपालिका जित्ने आधार भनेको पहिलो त हामीले विभिन्न भ्रम चिर्न सक्नु नै हो । दोस्रो एमालेको देशव्यापी लहर र देशभक्तिपूर्ण आन्दोलन पनि हाम्रो जीतको भरपर्दो आधार बनेको छ । विगतमा हामी बसौटी र उदासीपुरमा बलियो थियौं अहिले सबै गाउँमा प्रभाव पुगाएका छौं ।
हामी दुवै जना अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जनतासंग जोडिदै आएकोले पनि जनताको मन जित्न सजिलो भएको हो । अध्यक्षको उम्मेदवार (रामप्रसाद चौधरी) स्वास्थ्यकर्मीका रूपमा जनतासंग परिचित हो । उपाध्यक्षको उम्मेदवार (झुमा चौधरी अनुपा) सामूदायिक वनको क्षेत्रमा र महिलाका हकहीतमा क्रियाशिल भएकोले चुनावमा जान सहज भएको छ ।
हामीले जनतासंग धेरै ठूला सपना बाँडेका छैनौं । हामीले भनेका छौं, हामीले जित्यौ भने यहाँ जनताको प्रमुख पेशा कृषिलाई आधुनिक बनाउनेछौं । सिंचाई सुविधा पुगाउने छौं । नदी कटान रोक्न प्रभावकारीरूपमा तटबन्ध निर्माण कार्यक्रम सञ्चालन गर्ने छौं । प्रति जग्गाको लालपूर्जा दिलाउने छौं, शुद्ध खानेपानीको व्यवस्था गर्नेछौं । कृषि रोड व्यवस्थित बनाउने छौं । पक्की पुल बनाउने छौं, त्यो सकिएन भने कतिपय ठाउँमा झोलुंगे पुल बनाएर पनि आवतजावतलाई सजिलो बनाउने छौं । महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य सम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौं । उपयुक्त ठाउँमा रुख रोपेर नदी कटान रोक्नका साथै वातावरण राम्रो बनाउने छौं । कैलारीमा गाभिएका पहिलेका सबै गाउँविकास समितिमा कम्तीमा एउटा राम्रो बजार बनाउने छौं । हरेक वडालाई जोडने बाटाहरूको स्तरोन्नति गर्नेछौं । यहाँ भएको वनजंगल र तालहरूको संरक्षण र उपयोग गर्दै यसबाट विकासका संभावना खोज्नेछौं । हुलाकी राजमार्गले ल्याएको संभाावना हेरी पर्यटन विकास र होम–स्टे सञ्चालनका प्रयास हुने छन् । यस्ता कामले अर्को पटक यो क्षेत्रलाई नगरपालिकामा लैजानका लागि पूर्वाधार तयार गर्नेछ । यसरी व्यवस्थितरूपमा जनताका वीचमा गएका छौं, जनताले हाम्रो योजनालाई राम्रो मानेका छन् ।

(ईअनुमोदन अनलाइनका लागि सम्पादक प्रकाशविक्रम शाहले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार