२३ बैशाख २०८१, आईतवार

सद्भाव बृद्धि र द्रुत आर्थिक विकास मेरो लक्ष्य– साउँद



जंगबहादुर साउँद
नेपाली काँग्रेसका तर्फबाट टीकापुर नगरपालिका प्रमुख (मेयर) पदका उम्मेदवार

नेपाली काँग्रेसका तर्फबाट टीकापुर नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार जंगबहादुर साउँद ४७ वर्षदेखि अनवरत राजनीतिमा सक्रिय छन् । २०१२ सालमा अछामको कुस्कोटमा जन्मिएका साउँदले २०२७ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । २०२९ सालमा माविस्तरीय नेविसंघ कमिटीको सचिव बनेपछि उनी विद्यालयबाट निष्कासनमा परे । २०३१ सालदेखि २०३५ सालसम्म धनसिंहपुर, अरुणाफाँटामा राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा नि:शुल्क अध्यापन समेत गरेका उनले २०३६ सालको जनमत संग्रहमा धनसिंहपुर–नारायणपुर प्रचार उपशाखा सभापतिका रूपमा भूमिका निर्वाह गरे । २०३८ को राष्ट्रिय पञ्चायत चुनाव बहिष्कार, २०४२ को सत्याग्रह, २०४६ र २०६२/६३ को जनआन्दोलन लगायत लोकतन्त्रका लागि भएका आन्दोलनमा सक्रिय सहभागी भएका नेता साउँदले त्यस क्रममा पटकपटक पक्राउ, जेल, नजरबन्द भोगेका छन् ।
नेपाली काँग्रेस कैलालीको सदस्य, सचिव, महासमिति सदस्य रहेका साउँद २०४९ र २०५४ को दुवै स्थानीय चुनावमा धनसिंहपुर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । यसका साथै, सामुदायिक सहकारी संस्था नारायणपुरमा तीन कार्यकाल अध्यक्ष, त्रिभूवन उमाविको अध्यक्ष, सामुदायिक रेडियो टीकापुरको अध्यक्ष, रेडक्रस उपशाखाको अध्यक्षसहित विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाको नेतृत्व गरिसकेका नेता साउँद भन्छन्– ‘म लोकतान्त्रिक समाजवादी विचारधारामा अटुट आस्था राख्छु, त्यसैले गरिब, विपन्न, महिला, दलित, सीमान्तकृत समुदाय, आदिवासी, जनजाति, पछाडि परेका वर्ग तथा समुदायको सवौपरि हित मेरो पहिलो प्राथमिकता हो । चुनाव प्रचारप्रसारमा व्यस्त रहेका टीकापुर नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार जंगबहादुर साउँदसँग सहकर्मी दुर्गा देवकोटाले गरेको कुराकानीको सम्पादित अंश :

– व्यापक चुनाव प्रचारप्रसारमा जुट्नु भएको छ । टीकापुर नगरबासीहरूको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले आम टीकापुरबासी दिदीबहिनी, दाजुभाइहरूबाट उत्साहजनक समर्थन पाइरहेको अनुभव गरिरहेका छौं । हेर्नोस्, व्यक्तिगत रूपमा मलाई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि भएर काम गरेको लामो अनुभव छ । मैले २०३६ सालदेखि टीकापुर क्षेत्रको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे नजिकबाट अध्ययन गरेको छु । म तीन पटक गाविस अध्यक्ष निर्वाचित भए । आम जनताले मैले त्यतिलामो समयसम्म गाविस अध्यक्ष भएर गरेको कामको राम्रो मूल्यांकन गर्नुभएको होला भन्ने ठान्दछु । मैले कुनै आर्थिक अनियमितता गरिन । पारदर्शी ढंगले जनताको चाहनाबमोजिम हामीसंग भएको स्रोतसाधनको अधिकतम परिचालन गरेर विकास निर्माणका काम गर्‍यौं । त्यस्तै, मैले सामाजिक तथा शैक्षिक संस्थामा काम गर्दा ती सबै संस्थामा गुणात्मक परिवर्तन आएको आम टीकापुरबासीले पनि महसुस गर्नुभएको होला । त्यस्तै, ४७ वर्षदेखि अनवरत रूपमा राजनीतिक क्षेत्रमा क्रियाशील भइरहँदा मैले सबैलाई समेटेर काम गरेको छु । त्यसै भएर होला पार्टीका सबै नेताकार्यकर्ताहरूको सदिक्षा मैले पाइरहेको छु । हेर्नोस्, यतिखेर म नेपाली काँग्रेसको तर्फबाट टीकापुर नगरपालिकाको मेयर पदको उम्मेदवार भइरहँदा मैले निकै जिम्मेवारी थपिएको महसुस गरिरहेको छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ– टीकापुरमा सामाजिक सद्भाव प्रवद्र्धन सहितको द्रुत आर्थिक विकास । यसैलाई हामीले शिरोधार्य गरेर तदनुरूपको योजना बनाइरहेका छौं । यस्तो एजेन्डा र सोच अरु कुनै पार्टीसंगै छैन ।

  • मेरो जीवन टीकापुरको द्रुत आर्थिक, सामाजिक विकासमा समर्पित छ,
  • नगरबासीको अपनत्व बृद्धि गरेर विकास निर्माण कार्य अघि बढाउने हाम्रो दृष्टिकोण हो,
  • हाम्रो सपना र दूरदृष्टि हो– सुशासनयुक्त, व्यवस्थित तथा आधुनिक टीकापुर शहर ।

– तपाई टीकापुरलाई कस्तो नगरपालिका बनाउनु चाहनुहुन्छ त ?
म यस्तो गर्छु, उस्तो गर्छु भनेर महत्त्वाकांक्षी भाषण गर्दै हिड्ने व्यक्ति होइन । म समाजवादी चिन्तनको राजनीतिक कार्यकर्ता हुँ । यस नगरका आर्थिक, सामाजिक रूपमा पछाडि परेका वडा, टोलवस्तीका बासिन्दाको भावना र चाहनालाई समेटेर समग्र टीकापुर नगरलाई समृद्ध, सुन्दर, स्वच्छ र आधुनिक शहरका रूपमा विकास गर्ने मेरो सपना छ । सरसर्ती भन्दा नगरका विभिन्न ब्लकमा रहेका, तर रेखांकन हुनसकेका सडकहरूको निर्माणलाई प्राथमिकता दिइने छ । टीकापुरमा भित्री रिङरोड र बाहिरी रिङरोड निर्माण अर्को प्राथमिकता हुने छ । त्यस्तै, शिक्षा तथा स्वास्थ्य सेवा, रोजगारी सिर्जना, व्यवस्थित ढल निकास, फोहोरमैला व्यवस्थापन, टीकापुरलाई पर्यटकीय शहरका रूपमा विकास, खक्रौला नाकाको स्तरोन्नति गरी टीकापुरलाई प्रमुख व्यापारिक नगरका रूपमा विकास गर्ने हाम्रा केही योजना हुन् । आम टीकापुर नगरबासी दिदीबहिनी, दाजुभाइसंग हाम्रो संकल्प छ– हामी यो नगरलाई सुशासनयुक्त, व्यवस्थित तथा आधुनिक शहरका रूपमा विकास गर्नेछौं ।

– तपाई तीन कार्यकाल धनसिंहपुर गाविसको अध्यक्ष भइसक्नु भयो । जनताका असीमित आवश्यकता हुन्छन्, बजेट थोरै हुन्छ । यस्तो अवस्थामा तपाईंहरूले प्रस्तुत गर्नुभएका योजना पुरा हुन्छन् भनेर कसरी विश्वास गर्ने ?
ठिक भन्नुभयो । जनताका आवश्यकता र चाहना असीमित हुन्छन्, त्यसैले हामीले जनताका आवश्यकता र चाहनालाई प्राथमिकीकरण गरेर काम गर्नुपर्ने हुन्छ । धनी देशमा पनि जनताका सबै माग र आवश्यकता एकैपटक पुरा हुँदैनन् भने हाम्रोजस्तो विकासशील देशमा जनताका आवश्यकता र माग पुरा गर्न प्राथमिकताका आधारमा योजनावद्ध ढंगले विकास कार्यलाई अघि बढाउनु पर्ने हुन्छ । हामी जनप्रतिनिधिहरूले जनताले अपनत्व ग्रहण गर्नसक्ने ढंगबाट काम गर्नु पर्दछ । यसले नै विकास निर्माण कार्यलाई दीगो बनाउँछ । जनप्रतिनिधि भएर काम गर्दा मैले विकास निर्माण कार्यमा जनताको अपनत्त्व बृद्धि गरेर काम गरे । मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन । मैले आफ्नो जीवन नै जनताको समृद्धिका लागि अर्पण गरेको छु । विश्वास गर्नुहोस्– मबाट कुनै पनि किसिमको बेइमानी हुने छैन ।

– टीकापुरमा केही वर्षदेखि सामाजिक सद्भाव बिग्रिएको अवस्था छ । सुधारका लागि तपाईंको भूमिका कस्तो रहने छ ?
हो, टीकापुर घटनापछि सामाजिक सद्भाव पहिलेभन्दा केही चिसिएको छ । तर, अब सधैंभरी त्यही घटनालाई सम्झेर अघि बढ्न सकिँदैन । हामीले एकअर्काे समुदायमाथि आरोपप्रत्यारोप गर्नुभन्दा पनि कसरी पुरानो सद्भावपूर्ण सामाजिक अवस्था कायम गर्ने भन्नेमा चिन्ता र चिन्तन गर्नुपर्दछ । २०७२ भदौ ७ र ८ गतेको टीकापर घटनाले हामी सबैलाई ठूलो पाठ सिकाएको छ । घटनापछि नेपाली काँग्रेसले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ भनेर सरकारलाई दबाव दिइरह्यो । त्यस्तै, घटनामा संलग्न नरहेका, तर बान्टेडको सूचीमा रहेका र बन्दी जीवन बिताइरहेका निर्दोष व्यक्तिले न्याय पाउनुपर्छ र उनीहरूलाई यथास्रिघ स्वतन्त्र तरिकाले बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर पार्टीको क्षेत्रीय सम्मेलनले नै प्रस्ताव पास गरेको म सबैलाई स्मरण गर्न आग्रह गर्दछु । नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । हामीले भोटका लागि होइन, जनताप्रतिको जिम्मेवारी महसुस गरेर नै क्षेत्रीय सम्मेलनबाट यो प्रस्ताव पास गरेका हौं । त्यतिबेला जसले आन्दोलन उठाए, उनीहरू अहिले चुपचाप बसेको अवस्था छ । अहिले फेरि भोटको राजनीति गर्नका लागि अनेकथरी कुरा हुन थालेको सुनिन थालेको छ । भोटकै लागि आम जनताको भावनासंग खेल्ने प्रवृत्ति उचित हुन सक्दैन ।

– तर, टीकापुर घटनाको असर अहिले पनि देखिन्छ । तपार्इंलाई यो निर्वाचनले टीकापुर घटनाका पीडितलाई कस्तो मलहम लगाउला भन्ने लाग्छ ?
म एक पटक फेरि टीकापुर घटनाका पीडितलाई क्षतिपूर्ति र राहत दिलाउन नेपाली काँग्रेसले गरेका प्रयास र पहलबारे स्मरण गर्न सबैसंग आग्रह गर्दछु । नेपाली काँग्रेसले घटनामा पीडित भएकाहरूको पीडामा मलहमपट्टी लगाउन शुरुदेखि नै प्रयास र पहल गरेको छ । तत्कालीन गृहमन्त्री बिमलेन्द्र निधिमार्फत हामीले पीडितलाई क्षतिपूर्ति दिलाउन निरन्तर पहल र प्रयास गर्‍यौं । त्यसैका आधारमा सरकारले टीकापुर घटनामा पीडित भएकाहरूलाई उहाँहरूको क्षति भएको सम्पत्तिको ८० प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । त्यस्तै, हामीले बन्दी जीवन बिताइरहेका निर्दोष व्यक्तिहरूलाई रिहा गर्नुपर्छ भनेर भन्दै आएका छौं । आदिबासी जनजाति समुदायले पनि नेपाली काँग्रेसले जातीय मुद्दालाई भन्दा आर्थिक विकास र सामाजिक सद्भाव प्रवद्र्धनका लागि निरन्तर पहल गरिरहेको छ भन्ने राम्ररी नै बुझ्नु भएको छ ।

– अन्त्यमा आम टीकापुर नगरबासी मतदातालाई के अपिल गर्न चाहनुहुन्छ ?
मैले मेरो जीवनको ४७ वर्ष यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक विकासका लागि खर्चेको छु । नेपाली काँग्रेसको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति हुँदा २०५३ सालमा टीकापुरमा मालपोत कार्यालय, नापी कार्यालय लगायतका सरकारी कार्यालय स्थापनाका लागि पहल गर्‍यौं । टीकापुर–खक्रौला सडक, खक्रौलामा पुल, विजुलीया नदीमा पुल, टीकापुरमा क्याम्पस स्थापना, खक्रौलामा मूल भन्सार स्थापनाका लागि आफ्नै पार्टी नेपाली काँग्रेस सरकारकै विरुद्धमा पनि लम्कीका ४८ घण्टे चक्काजाम (आन्दोलन) गरेर यी पूर्वाधार ल्याएका हौं । मैले टीकापुरको विकासमा आफूलाई समर्पित गरेको छु । सुन्दर नगरका रुपले परिचित टीकापुरलाई देशकै नमूना शहर बनाउने र पर्यटकीय सम्भावना भएको टीकापुर पार्क (बंगला पार्क), वडा नम्बर ७ स्थित मोहना नदीमा डल्फिन क्षेत्रको विकास, आदिको योजना हामीसंग मात्र छ । हामीलाई विश्वास छ– आम टीकापुर नगरबासीले यो निर्वाचनमा पनि हामीलाई विश्वास र समर्थन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार