क्यालेण्डर बनाएर विकासका काम गर्छौ, सुशासन दिन्छौं : जोशी
२०२५ डोटी जिल्ला साविकको भूमिराजमाडौं गाविसमा जन्मेका दुर्गाप्रसाद जोशी २०५६ सालदेखि नेकपा (एमाले)का संगठित सदस्य भई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख हुन् । स्नात्तकोत्तरसम्मको अध्ययन गर्नु भएका जोशी लामो समयदेखि शिक्षण पेशामा क्रियाशील रहनुभयो । जोशी अहिले नेपाल वेष्टन एकेडेमीका क्याम्पस प्रमुख समेत रहेका छन् । जोशीलाई अहिले नेकपा (एमाले) कैलालीले धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवार बनाएको छ । प्रस्तुत छ उनै मेयर पदका उम्मेदवार जोशीसंग गरिएको कुराकानीको सारसंक्षेप :
– तपाईको धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी किन ? मतदाताका प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
धनगढी उपमहानगरपालिकाको समग्र विकासँगै यहाँको समस्यालाई समाधानको लागि मैले प्रमुख पदमा उम्मेदवारी दिएको छु । म र मेरो पार्टीसँग धनगढीलाई सुन्दर तथा विकासको मुलप्रवाहमा ल्याउने आँट र भिजन छ । मतदाताहरूले विकास चाहन्छन् । त्यो भिजन नेकपा (एमाले)सँग मात्रै छ भन्ने कुरा बुझेका छन् । त्यसकारण यहाँका जनताहरू एमालेलाई जिताउनको लागि चुनावको मिति कुरेर बसेका छन् । एमालेको विकासवादी सोच जनताले बुझेका कारण धनगढी नगर क्षेत्रको विकास एमालेले गर्न सक्छ भन्ने आम मतदाताहरूमा छाप परेको छ ।
– धनगढीको विकासका लागि तपाईका एजेन्डाहरू के छन् ?
कतिपय भौतिक पूर्वाधार अहिले नै बनेकाले धनगढीलाई प्रदेश नं. ७ को राजधानी बनाउनको लागि पहल गर्नेछु । शहरी विकास तथा व्यवस्थापन क्षेत्रका विज्ञहरूसँग त्यसको लागि छलफल गर्नेछु । त्यस्तै नौ वटै जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने काम पनि मेरो प्राथमिकता हुनेछ । धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउनको लागि पहल हुनेछ । धनगढी उपमहानगरपालिकाको १५ वर्षीय गुरुयोजना तयार गरिनेछ । यही योजना अन्तर्गत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइनेछ । यसका लागि आवश्यक लगानीसँगै आवश्यक स्रोतको खोजी गर्नेछु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सडक सञ्जाल विस्तार गर्नेछु । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूलाई छुने गरी चक्रपथ निर्माणको लागि पहल गर्ने मेरो योजना छ । यस्तै, ढल विकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी शहर निर्माणको लागि पहल गर्नेछु । यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउँदै विशेष आर्थिक एवं औद्योगिक क्षेत्र निर्माण मार्फत रोजगारीको सिर्जना गर्दै आर्थिक रूपमा समृद्ध धनगढीको परिकल्पना गरेको छु । जुन कुरा मेरो पार्टीको घोषणा पत्र र प्रतिवद्धता पत्रमा पनि सार्वजनिक गरको छौं ।
– युवाहरूलाई लक्षित गरी योजना के छन् ?
युवाहरूलाई स्वदेशमा नै रोजगारी दिनको लागि प्राविधिक शिक्षालयको स्थापनाको लागि जोड दिनेछु । धनगढीलाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गरिनेछ । उनीहरूलाई प्रत्येक वडामा सीपमूलक कार्यक्रमहरूलाई मैले प्राथमिकतामा राखेको छु । युवाहरूको नेतृत्व विकासको लागि पहल गरिनेछ ।
– उपमहानगरपालिकामा मुख्य समस्याका रूपमा रहेको खोलानाल अतिक्रमण, कटान र डुबानको समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
जनताको तटबन्धको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । स्थानीय तह स्वायत्त सरकार भएका कारण कटान र डुबानको समस्या पहिल्याउँदै त्रिवर्षीय योजना बनाइनेछ । यसको लागि दातृ निकायहरूबाट सहयोग लिँदै तीन वर्षभित्र यस क्षेत्रमा मोहना, खुटिया, शिवगंगा लगायतका नदीहरूका कारण बर्सेनि हुने नदी कटान तथा डुवानको समस्यालाई नियन्त्रण गरिनेछ । धनगढी उपमहानगरपालिकाको जोखिम पहिचान गरी विपद् व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइनेछ ।
यस्तै, जथाभावी अनाधिकृत रूपमा नदीनाला तथा अन्य सार्वजनिक जमिनहरू मिच्ने कार्यलाई कडाईका साथ बन्द गर्नेछु । कानून हातमा लिने जुनसुकै व्यक्तिलाई कानूनको दायरमा ल्याइनेछ । व्यवस्थित ढल निकास, वृक्षारोपण एवं नदी नालाहरूको नियन्त्रण मार्फत डुवानको अन्त्य गरिनेछ ।
– खुटिया—दिपालय दु्रत मार्ग सपना जस्तै भएको छ यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?
खुटिया—दिपालय मार्गलाई द्रुत मार्गको रूपमा विकास गर्दै आधुनिक मार्गको रूपमा निर्माण गर्नको लागि पहल गरिनेछ । यो सपना र आवश्यकता हो । यसको चाँडो निर्माणको लागि ती क्षेत्रमा पर्ने अन्य स्थानीय सरकार, प्रादेशिक तथा केन्द्रीय सरकारसँग पहल गर्नेछु ।
– समुदायका हिसाबले यहाँ थारू समुदाय पनि छ, थारू समुदायलाई कसरी समेटनु हुन्छ ?
यस उपमहानगरपालिकाभित्र रानाथारू र डंगौराथारू समुदायको सघन बसोबास रहेको स्थानहरूमा रानाथारू र डंगौराथारू संस्कृतिको अध्ययन स्थालको रूपमा विकास गरिनेछ । साथै ती स्थानहरूमा सम्बन्धित समुदायको सांस्कृतिक संग्राहलयको निर्माण गरिनेछ । सिंहदरबार रहेको सरकार वडाहरूमा जाने भएकाले थारू समुदायको वाहुल्यता रहको स्थानहरूमा थारू समुदायकै सरकार हो भन्ने अनुभूति गराइनेछ ।
– खेलकुद सम्बन्धी अवधारणा के हो ?
शारीरिक स्वास्थ्यका लागि प्रत्येक वडाहरूमा खेलकुद र व्यायामशालाहरूको निर्माण गर्नेछु । खेलकुद क्षेत्रको विकासको लागि धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिक्रेट मैदानको निर्माण गर्नेछु । फूलवारी र जुगेडा क्षेत्रमा खेलकुद विकासका लागि आवश्यक विशेष पूर्वाधारहरूको निर्माण गरिनेछ ।
– पर्यटन क्षेत्रको विकासको लागि के गर्नुहुन्छ ?
मोहना नदी तथा मोहना कोरीडोरको संरक्षणमा विशेष जोड दिनेछु । मोहना नदी किनारको भागमा वृक्षारोपण गर्दै नदी नियन्त्रण तथा हरित साइकल लेनको विकास मार्फत पर्यापर्यटनमा जोड दिनेछु । धनगढी क्षेत्रमा बसोवास गर्ने सवै समुदायको भाषा, कला तथा संस्कृतिको विकासको लागि विशेष योजना बनाई लागु गरिनेछ । जाखोर ताल, तिल्के ताल बेहडा बाबा, शिवपुरी धाम, भादा होमस्टे लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण तथा थप पूर्वाधारको विकास गर्दै पर्यटकीय स्थलको रूपमा प्रवद्र्धन गर्नेछु । गेटा विमानस्थलको स्तर उन्नती गर्दे अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनेछ । अर्को कुरा धनगढी प्रदेश नम्बर ७ कै केन्द्र भएकाले कर्णालीदेखि महाकाली, कैलालीदेखि अपिनाम्पा, शैपालसम्म र ताक्लाकोटसम्म हुने पर्यटकीय गतिविधिमा हाम्रो भूमिका रहन्छ ।
– स्वास्थ्य, कृषि शिक्षा पशुपालन क्षेत्रको विकासको लागि तपाई योजना के रहेका छन् ?
सेती अञ्चल अस्पतालको स्तर उन्नती गर्नेछु । प्रदेशस्तरीय अस्पताल निर्माणको लागि मेरो विशेष जोड रहनेछ । कैलाली क्याम्पसको विकास गर्नछु । प्राविधिक शिक्षालयको व्यवस्था गर्ने योजना छ । यस्तै फूलवारी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा सम्बन्ध दिलाउनको लागि पहल गर्नेछु । दुई थरी शिक्षाको विभेद अन्त्य गर्नेछु ।
कृषि तथा पशुपालनको आधुनिकीकरण गर्दे व्यवसायिक पशुपालन प्रवद्र्धनमा विशेष जोड दिनेछु । शित गृह निर्माण तथा ह्याचरी उद्योग स्थापनाको लागि पहल गर्नेछु । भू—उपयोग नीति निर्माण गर्नेछु । धनगढीमा कृषि क्षेत्र तथा वस्ती विकासको पहिचानको लागि जोड दिने मेरो योजना रहेको छ । जग्गा जथाभावि प्लटिङ्ग गर्ने कार्यलाई नियन्त्रण गरी सडक यातायात, खानेपानी बत्ति, सार्वजनिक स्थल लगायतको सुविधा सम्पन्न मात्र जग्गाको प्लटिङ्ग गर्ने कानुनी व्यवस्था मिलाउनेछु । शिवगंगा, उर्मा, फूलवारी सिंचाई आयोजनालाई कार्यान्वयन गर्नेछु । यस्तै ल्यान्डफिल साइटको निर्माण गर्नेछु ।
– यहाँका विपन्न वर्गको हितको लागि के गर्नुहुनेछ ?
दलित, मुक्त कमैया, सुकुम्वासी लगायतका सीमान्कृत समुदायको सशक्तीकरणमा जोड दिने मेरो योजना रहेको छ । जीविकोपार्जन तथा जीवनस्तर अभिवृद्धिको लागि सीप तथा रोजगारीमूलक विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस्तै सामाजिक सुरक्षा भत्तालाई बढाउने योजना रहेको छ ।
चुनाव जित्नेमा कतिको विश्वस्त हुुनुहुन्छ ? धनगढीको हकमा तपाईको प्रतिस्पर्धा कुन दलसँग रहन्छ जस्तो लाग्छ ?
एमालेको राष्ट्रियता प्रतिको अडान र एमालेले जनताका लागि विकासप्रेमी कामहरू गरेको छ । यसलाई जनताहरूले विर्सेका छैनन् । पहिलो चरणमा एमालेप्रतिको जनलहरले देखाइसकेको छ । एमाले चुनाव हार्दैन । अहिले यस अघि अर्को पार्टीमा उम्मेदवार भएका साथीहरू, लामो समय अर्को पार्टीप्रति आस्था राखेर बसेका साथीहरू नेकपा (एमाले) लाई विश्वास गरी हाम्रो पार्टीमा प्रवेश गरिरहनु भएको छ त्यसैले हामीले चुनाव जित्छौं यसमा कुनै शंका नै छैन । एमालेलाई म जस्तो कुनै उम्मेदवारलाई जिताउन मात्र होइन हाम्रा वडाको विकास, उपमहानगरको विकास र देश निर्माणका लागि जिताउनु पर्ने हो । हामी हाम्रा लागि कसैसँग लडिरहेका छैनौं, देश बनाउनका लागि एमालेलाई भोट मागिरहेका छौं । तर पनि धनगढीमा नेकपा (एमाले)को प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ । प्रतिस्पर्धा भए पनि हामी सहजै चुनाव जित्छौं ।
– सेवाग्राहीहरूको सेवासुविधाको लागि तपाईले के गर्ने योजना बनाउनुभएको छ ?
भ्रष्टाचार मुक्त चुस्त प्रशासन बनाइने हाम्रो प्रतिवद्धता छ । जनताप्रति जवाफदेही भएर सार्वजनिक खर्च र योजनाको अनुगमन गरिनेछ । प्रत्येक वडाहरूमा नियमित अनुगमन समिति बनाइने छ । अनुगमन समितिहरूले पनि बदमासी गरेको पाइए जनताहरूले सिधै मेयर तथा उपमेयरलाई सम्पर्क गर्नको लागि हटलाईनको व्यवस्था गरिनेछ । राजनीतिलाई सहि ट्रयाकमा ल्याउनको लागि पहल गर्नेछु । क्यालेण्डर बनाएर विकासका काम गर्छौ । त्यसमा मेयर, उपमेयर, वडा अध्यक्षले सञ्चालन गर्ने कामहरूको बारेमा उल्लेख गरेर जनताहरूलाई जानकारी दिई सोही अनुसार काम गर्नेछु ।
– अन्तमा मतदातालाई के भन्न चाहानुहुन्छ ?
मेरा र मेरो पार्टीका विचारहरू राख्ने अवसर दिनुभएकोमा तपाई र यो प्रतिष्ठित मिडियालाई धन्यवाद दिन चाहान्छु । हामी जुन पाँच वर्षको विकासे योजना लिएर जनअदालतमा जार्दैछु । जनअदालतले हाम्रो पक्षमा फैसला गर्ने हामीले विश्वास लिएका छौं । नेकपा (एमाले)ले मात्रै सबै जनताका समस्यालाई पहिचान गरेको छ । त्यसैले मतदाताहरूले आफ्नो मतअधिकार हाम्रो पक्षमा हाल्ने विश्वास लिएका छौं । १९ वटा वडाका अध्यक्षसहित मेयर तथा उपमेयरलाई जिताउनको लागि तपाई मतदाताको भूमिका रहेको छ । हामी निर्वाचित भएमा जनताको आशालाई पूर्णता दिनेछौं । जनताको मतलाई हामी खेर जान दिने छैनौं भन्ने आम मतदातामा प्रतिवद्धता जनाउन चाहान्छु ।