१० श्रावण २०८१, बिहीबार

मिटर ब्याजले तनाव निम्त्याउँदै



धनगढी । धनगढी उपमहानगरपालिका–२, कृष्णपुरकी शान्ति शर्माले घर खर्चका लागि छिमेकीबाट ऋण लिइन् । सोही ऋणले आजभोलि उनलाई समाजमा बस्न समस्या भएको छ ।
घर सापटी भन्दै उनले ३० लाख लिएकी थिइन् । ऋण लिएको रकम ३० लाखको ६० लाख तिरिसकिन् । अर्कोपटक लिएको १२ लाखको २५ लाख फर्काइसकेको बताइन् । उनले सापटी लिएका व्यक्तिहरूलाई मासिक सयकडा ३० देखि ४० प्रतिशतसम्म ब्याज तिरेको बताइन् ।
शर्माले आफूले लिएको ऋण चुक्ता भइसकेको बताउँछिन्, तर उनलाई ऋण दिने व्यक्तिहरूले साँझबिहान गालीगलौच गर्ने, झगडा गर्न आउने गरेको बताइन् । ‘त्यो मिटर ब्याजले समाजमा हाँस्न र बस्न दिएको छैन’ उनले भनिन् ।
मिटर ब्याजको विषयलाई लिएर आइतबार मीरा खत्री र शोभा कार्की शर्माको घरमा गई झगडा गर्न लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मिटर ब्याजको घटनामा कुनै लेनदेनको प्रमाण नहुने भन्दै छलफलका जिल्ला प्रशासन कार्यालय पठाएको छ ।
मिटर ब्याजले टोल नै असुरक्षित भएको भन्दै नियन्त्रणका लागि शर्माले प्रशासनमा निवेदन दिएकी थिइन् । मिटर ब्याजको धन्दा, गिरोह बनाएर संस्थागत रूपमा विकास भइरहेको र सर्वसाधारण मानिस मिटर ब्याजको सिकार भइरहेको बताइन् ।
केही समयअघि मिटर ब्याजकै कारण दीप डेरीका सञ्चालक दीपक खड्का अहिले नेपालभन्दा बाहिर छन् । उनले धेरै व्यापारीलाई ठगेर ठुलो रकम असुली फरार भएका थिए । शर्मा र खड्का जस्तै पछिल्लो समय रातारात मलामाल हुने सपना देखाउँदै यो व्यवसाय गर्नेहरूको सङ्ख्या बढिरहेको छ । मिटर ब्याजले केहीलाई मालामाल बनाएको भए पनि धेरैको उठीबास गरेको छ ।
दिन, हप्ता वा महिनाको लागि रकम दिने र त्यस बाफत महँगो ब्याज असुली गर्ने कार्य कैलालीमा सांगठानिक रूपमा बढिरहेको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
देखाउनका लागि कुनै पेसा व्यवसाय देखाएर त्यसको आडमा लाखौँ कमाउने र डुबाउने खेल भइरहेको बताउँदै रिजालले रकम खाएको/नदिएको र आफूलाई ठगेको भन्दै दैनिक रूपमा उजुरीहरू परिरहेको बताए ।
लेनदेन सम्बन्धी मुद्दाहरू हेर्ने गरी जिल्ला प्रशासन कार्यालय कैलालीमा दैनिक रूपमा उजुरीहरू परिरहेका छन् । उनले दैनिक रूपमा चार/पाँच उजुरीहरू आउने र त्यसको समस्या समाधानका लागि पहल गर्न भन्दै जिल्ला प्रहरी कार्यालय पठाउने गरेको बताए । चर्को ब्याजमा दिएर रकम फिर्ता दिएको भनेर उजुरी नआए पनि लामो समयदेखि मेरो पैसा दिएन, मलाई ठग्यो भनेर उजुरीहरू परिरहेका छन्, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘धेरै उजुरीहरू आइरहेका छन् । हामी आवश्यक कारबाहीका लागि सहयोग गर्न भने प्रहरी कहाँ पठाइरहेका छौँ ।’
बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण दिनका लागि प्रक्रियामा जानुपर्ने र त्यसका लागि समय लाग्ने भएका कारण आपत् विपद्मा परेकाहरू नै बढी मिटर ब्याजको सिकार भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार