२३ बैशाख २०८१, आईतवार

मेयर पदका आकांक्षीहरूसंग जम्काभेट–२



स्थानीय तह निर्वाचनको मिति आउन २५ दिन मात्र बाँकी छन् । विभिन्न राजनीतिक दलबाट स्थानीय तहका विभिन्न पदमा उम्मेदवारीका लागि आकांक्षीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मेयर पदका आकांक्षीहरू कार्यक्रममा व्यस्त रहेका वेला अनुमोदन दैनिकले उनीहरूका धारणा सङ्कलन गरेको छ । मेयर पदका आकांक्षीहरूलाई सोधिएको थियो– ‘उम्मेदवारीका लागि तपाईँको दौडधुप कस्तो हुँदैछ ? नेताकार्यकर्ता र जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ र तपाईँ आफूले उम्मेदवारी पाउनेमा कत्तिको निश्चिन्त हुनुहुन्छ ?’
प्रस्तुत छ, मङ्गलवार भेट भएका विभिन्न दलका मेयर पदका आकांक्षीसँग अनुमोदन दैनिकका लागि संवाददाता शेरबहादुर ऐरसुनिल आउजीले गरेको सङ्क्षिप्त कुराकानीको सारसंक्षेप :
मङ्गलवार पार्टीको प्रचारप्रसार अभियानमा व्यस्त रहेका नेपाली काँग्रेसका तर्फबाट मेयर पदका दावेदारहरूमध्ये तीन जनासँग वडा नम्बर २ को एक कार्यक्रममा जम्काभेट भएको थियो ।

मेरो मूल्याङ्कन पार्टीले गर्नेछ

कृष्णबहादुर महरा
महाधिवेशन प्रतिनिधि

हो, म धनगढी उपमहानगरपालिकाको मेयर पदको आकांक्षी हुँ । तर, अहिले म टिकटका लागि नभई नेपाली काँग्रेसलाई जिताउनु होस् भनेर गाउँ, टोल, वडाहरूमा प्रचारप्रसारमा लागेको छु ।
पार्टीले स्वच्छ, इमान्दार र जनतामा लोकप्रिय व्यक्तिलाई नै धनगढी उपमहानगरपालिकाको मेयरको टिकट दिने छ । म त्यसमा पर्छु वा पर्दैन भन्ने पार्टीले मूल्याङ्कन गर्ने छ । मैले आफैँले गरेर केही हुँदैन । पार्टीले जसलाई टिकट दिन्छ, मेरो तर्फबाट सहयोग हुने नै छ । पार्टीले उपमहानगरपालिकालाई समृद्धितर्फ अघि बढाउने र भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने व्यक्तिलाई नै टिकट दिन्छ भन्नेमा विश्वस्त छु ।

 

 

युवाहरूलाई अघि बढाउने मेरो लक्ष्य

केशवराज मिश्र
जिल्ला समिति सदस्य, कैलाली

अहिले धनगढी उपमहानगरपालिकाका गाउँ, टोल, बस्तीमा दैनिक चुनावी कार्यक्रमहरू भइरहेका छन् । हामी नेपाली काँग्रेसका तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्य पदका आकांक्षीहरू र नेता, कार्यकर्ताहरू प्रचारप्रसारमा जुटेका छौँ ।
म पनि धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी छु । मैले पार्टीमा दावेदारी प्रस्तुत गरिसकेको छु । युवा वर्गमा राष्ट्रलाई नै तीव्र गतिमा समृद्धितर्फ अघि बढाउन सक्ने क्षमता रहेको छ । त्यसैले मैले युवा वर्गको प्रतिनिधित्व गरेर तथा धनगढी उपमहानगरपालिकालाई तीव्र गतिमा आर्थिक समृद्धितर्फ अग्रसर गराउन मेयर पदका लागि पार्टीमा दावेदारी दिएको छु । पार्टीले ‘युवाहरूलाई अघि बढाउनुपर्छ’ भनेर मलाई टिकट दिन्छ भन्ने विश्वास गरेको छु । पार्टीले विश्वास गर्नु नै जनताले विश्वास गर्नु हो । मलाई पार्टीले विश्वास गरेको छ । म टिकट पाउँछु भन्ने ढुक्क पनि छु ।

 

थरुहट भूगोलको विकासका लागि पनि उम्मेदवारी

प्रभातकुमार चौधरी

स्थानीय तहको चुनावको मिति नजिकिँदै गएको छ । हामी अहिले धनगढी उपमहानगरपालिकामा पनि नेपाली काँग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन भनेर घरदैलो अभियानमा जुटेका छौँ ।
म पनि धनगढी उपमहानगरपालिकाको मेयर पदको दावेदार हुँ । म आदिवासी जनजाति समुदायको व्यक्ति हुँ । त्यस्तै, मैले पार्टीमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वासमा छु । थरुहट भूगोलको विकासको लागि थारू समुदायको नेतृत्व अपरिहार्य रहेको र पार्टीभित्र पनि लामो समयदेखि क्रियाशील रहेर योगदान पुर्‍याएकोले नेपाली काँग्रेसबाट मेयर पदको लागि उम्मेदवारी दाबी गरेको हुँ । यो क्षेत्रमा थारू समुदायको बाहुल्य रहेकोले म सबभन्दा उपयुक्त उम्मेदवार हुँ भन्ने ठान्दछु ।

 

विभिन्न दलका मेयर पदका दावेदारसंग कुराकानी गर्ने क्रममा एमालेका तर्फबाट मेयर पदका आकांक्षी यज्ञराज बास्तोला एमाले पार्टी कार्यालयमा, दुर्गाप्रसाद जोशी रुवस होटेल नजिक र सूर्यप्रसाद श्रेष्ठसंग वडा नम्बर १ को त्रिवेणी चोकमा जम्काभेट भएको थियो ।

म टिकट पाउनेमा ढुक्क छु

यज्ञराज बास्तोला
जिल्ला कमिटी सचिवालय सदस्य

टिकटका लागि दौडधुप चलिरहेको छ । त्यस्तै, हामी उपमहानगरपालिकाका विभिन्न गाउँ, टोल, बस्तीमा चुनावी कार्यक्रम अघि बढाइरहेका छौँ । उपमहानगरपालिकामा पार्टीका तर्फबाट मेयर पदका लागि दावेदार हामी सबै सँगसँगै चुनावी प्रचारप्रसारमा जुटेका छौँ । हामी टिकटका सबै आकांक्षीहरूसँगै दौडिरहेका छौँ ।
म निरन्तर पार्टीमा लागिरहेको जिम्मेवार, इमान्दार र सक्षम कार्यकर्ता हुँ । त्यसैले मेरो मूल्याङ्कन गरेर पार्टीले मलाई मेयर पदको उम्मेदवार बनाउँछ भन्नेमा म ढुक्क छु । जनताले नगरटोल जहाँ पनि आर्थिक विकास र समृद्धि चाहन्छन् । समान रूपमा विकास भएको हेर्न चाहन्छन् र यसको नेतृत्व एमाले मात्रै गर्न सक्छ भन्ने जनताको बुझाई रहेको छ ।

 

 

 

निजी विद्यालय र विद्यार्थी पनि मेरो पक्षमा छन्

दुर्गाप्रशाद जोशी
प्रचारप्रसार विभाग प्रमुख, कैलाली

नगर कमिटीमा आकांक्षीहरूबीच चुनाव गराउँदा कार्यकर्तामा निराशा सिर्जना हुने भएकाले नगर सङ्गठन कमिटीले आकांक्षीहरूको सूची माथिल्लो कमिटीमा पठाएको छ । हामी अहिले उपमहानगरपालिका सबै टोलमा चुनावी प्रचारप्रसारमा छौँ र हामी सबै आकांक्षीहरू सँगसँगै दौडधुप गरिरहेका छौँ ।
म उपमहानगरपालिकामा एमालेबाट मेयर पदको टिकेट पाउनेमा शतप्रतिशत ढुक्क छु । किनकि म सक्षम छु र निरन्तर पार्टीको काममा लागेको छु । मसँग निजी विद्यालयहरू प्याब्सन, ईस्टु तथा युवा विद्यार्थी र जनताको ७० प्रतिशत हिस्सा मेरो साथमा छन् । त्यसैले मैले टिकट पाउँछु र जित्छु भन्नेमा ढुक्क छु । आम जनता विकास, शान्ति र रोजगारी चाहन्छ । त्यसैले पनि आम नगरबासीले ‘तपाईँले टिकट पाउनु पर्छ’ भनिरहेका छन् ।

 

 

मैले पार्टीभित्रको गुटबन्दी पनि मिलाउन सक्छु

सूर्यप्रशाद श्रेष्ठ
आर्थिक विभाग सदस्य, प्रदेश समिति

टिकटको दौडमा त लागेको छु नै सँगसँगै पार्टीको चुनाव प्रचारप्रसारमा पनि गइरहेको छु र म ३५ वर्षदेखि निरन्तर रूपमा एमालेको जिम्मेवार कार्यकर्ता भएर लागेको छु । मेरो पार्टीले मलाई सक्षम, इमान्दार र नि:स्वार्थ कार्यकर्ताको रूपमा मूल्याङ्कन गरेको छ । त्यस्तै, म सामाजिक सेवाको काममा पनि लागेकोले जनताको सद्भाव पनि मैले पाएको छु । म एमाले पार्टीभित्र रहेको गुटबन्दीलाई पनि मिलाउन सक्छु । त्यसैले मैले मेयर पदको टिकट पाउछु र चुनाव पनि जित्छु भन्नेमा निश्चिन्त छु ।
पार्टीका कार्यकर्ता, विद्यार्थी तथा जनताले पनि ‘सूर्य श्रेष्ठ नि:स्वार्थ र इमान्दार व्यक्ति हो’ भनिरहेका छन् ।

यो पनि हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार