आसन्न स्थानीय निर्वाचन : आकांक्षीहरू टिकटको दौडधुपमा, घरदैलोमा जुटे दलहरू
धनगढी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् । प्रमुख दलका तर्फबाट नगरपालिका, उपमहानगरपालिका तथा गाउँपालिकाका विभिन्न पदका आकांक्षीहरूले आफ्नो दावेदारीको औचित्य साबित गर्न प्रयास गरिरहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकासहित १३ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारीको टुंगो लगाउन सबै दल व्यस्त रहेका देखिएका छन् । माओवादी केन्द्रले दुई बाहेक जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवारीको टुंगो लगाएको जनाएको छ । तर, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, फोरम लोकतान्त्रिक र अन्य दलले उम्मेदवारी टुंगो लगाउने प्रक्रिया अघि बढाएका छन् ।
पार्टीका वडा, गाउँ, नगर, क्षेत्रीय तथा जिल्ला कमिटीहरू उम्मेदवारी चयनमा व्यस्त रहिरहँदा अर्कोतिर विभिन्न पदका आकांक्षी, नेता कार्यकर्ता वडा भेला, कार्यकर्ता भेटघाट कार्यक्रममा जुटेका छन् ।
नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकामा सोमबारदेखि घरदैलो कार्यक्रम पनि सुरु गरेको छ । काँग्रेसको उपमहानगरपालिका समितिका अनुसार सोमबार वडा नम्बर १ को विनायक टोलमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।
काँग्रेसका नगर सभापति नुप वडका अनुसार उपमहानगरपालिकाका सबै १९ वडामा वडा भेला, टोल समिति गठन कार्यक्रम भइरहेका छन् । त्यस्तै, विभिन्न वडामा निर्वाचन प्रचारप्रसार सचिवालय पनि स्थापना भइसकेका छन् ।
एमालेले पनि विभिन्न वडामा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई अघि बढाएको जनाएको छ ।
उपमहानगरपालिकाको मेयर, उपमेयर तथा वडाध्यक्ष र सदस्यका लागि विभिन्न दलका तर्फबाट आकांक्षीहरू टिकटका लागि उत्तिकै दौडधुप गरिरहेका छन् । सँगसँगै पार्टीको प्रचारप्रसार कार्यक्रममा पनि व्यस्त रहेका छन् ।
धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट नगर सभापति नृप वड, महाधिवेशन प्रतिनिधि कृष्ण महरा, महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारी, महिला सङ्घका केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र र केशवराज मिश्र दावेदार रहेका छन् ।
नेकपा एमालेबाट नेता दीपक देवकोटा, यज्ञराज वास्तोला, दुर्गाप्रसाद जोशी, पूर्व सांसद नारदमुनि राना, जिल्ला सचिव रणबहादुर चन्द, कलावती जोशी लगायत आकांक्षी रहेका छन् ।
उपमहानगरपालिकाको मेयर पदका आकांक्षीहरू कार्यक्रममा व्यस्त रहेका बेला अनुमोदन दैनिकले उनीहरूका धारणा सङ्कलन गरेको छ । मेयर पदका आकांक्षीहरूलाई सोधिएको थियो– ‘उम्मेदवारीका लागि तपाईँको दौडधुप कहाँसम्म पुगेको छ ? नेताकार्यकर्ता र जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ र तपाईँ आफूले उम्मेदवारी पाउनेमा कत्तिको निश्चिन्त हुनुहुन्छ ?’
प्रस्तुत छ, सोमबार भेट भएका विभिन्न दलका मेयर पदका आकांक्षीसंग अनुमोदन दैनिकका लागि संवाददाता शेरबहादुर ऐर र सुनिल आउजीले गरेको सङ्क्षिप्त कुराकानीको सारसंक्षेप :
मेयर पदका आकांक्षीहरूसंग जम्काभेट
सोमबार पार्टीको प्रचारप्रसार अभियानमा व्यस्त रहेका नेपाली काँग्रेसका तर्फबाट मेयर पदका दावेदारहरूमध्ये तीन जनासँग दिउँसो एउटा कार्यक्रममा जम्काभेट भएको थियो ।
म उम्मेदवारी पाउनेमा शतप्रतिशत विश्वस्त छु
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/nirpa-odd-1-300x300.jpg?resize=300%2C300)
हामी अहिले दैनिक उपमहानगरपालिकाका गाउँ, टोल, बस्तीमा चुनावी कार्यक्रमलाई तीव्र गतिमा अघि बढाइरहेका छौँ । उपमहानगरपालिका मेयर पदका नेपाली काँग्रेसका तर्फबाट हामी सबै दावेदारहरूको दौडधुप निकै बढेको छ । मैले दैनिक सरदर दश वटा कार्यक्रम भ्याइरहेको छु । हाम्रा नेता, सांसदसहित हामी सबै यो उपमहानगरपालिकामा नेपाली काँग्रेसलाई जिताउन चुनावी प्रचारप्रसार पनि तीव्र बनाउदै गएका छौँ ।
म आफू उपमहानगरपालिकाको मेयर पदमा मेरो पार्टी नेपाली काँग्रेसबाट उम्मेदवारी पाउनेमा शतप्रतिशत विश्वस्त छु । र जित्नेमा पनि त्यत्तिकै ढुक्क छु । साँच्चै भन्नहुन्छ भने मैले पछिल्लो दुई महिनाको अवधिमा उपमहानगरपालिकाका विभिन्न वडा, टोल, बस्तीमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरू तथा जनताको पंक्तिबाट ‘नृप वडले टिकट पाउनु पर्छ, यो न्याय पनि हुन्छ’ भन्ने गरेको पाएको छु । यसैले पनि मलाई उम्मेदवार बन्न बढी उत्साहित गरेको हो । मलाई हाम्रा आदरणीय नेताहरू, सांसद सबैले आम कार्यकर्ता र जनताको भावनाको सम्मान गर्नु हुने छ भन्ने पूर्ण विश्वास छ ।
पार्टीको निर्णय स्वीकार गर्छु
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/Shishila-mishra-bhatta-334x300.jpg?resize=334%2C300)
हाम्रो पार्टीको प्रचारप्रसार निकै अघि बढिसकेको छ । उपमहानगरपालिकाको मेयर पदका नेपाली काँग्रेसका तर्फबाट हामी सबै दावेदार सँगसँगै चुनावी प्रचारप्रसारमा जुटेका छौँ । काँग्रेसलाई जिताउनुपर्छ भनर नै चुनावी जागरण अभियान अगाडि बढाएका छौँ र अझ तीव्र बनाउदै जाने छौँ ।
म मेयर पदको आकांक्षी हुँ । पार्टीले जे निर्णय गरे पनि स्वीकार गर्छु र अगाडि बढ्छौं । स्थानीय तहमा महिलाको ४० प्रतिशत सिट सुनिश्चित गर्ने संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गराउने कार्यको अगुवाई नेपाल महिला सङ्घ केन्द्रीय समितिले गरेको छ । स्थानीय चुनाव हुने भएपछि जनता निकै खुसी भएका छन् । त्यसैले चुनाव तोकिएकै मितिमा हुनै पर्दछ ।
काँग्रेसलाई जिताउने अभियानमा छु
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/kshitiz-bhandari-271x300.jpg?resize=271%2C300)
म पनि उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदको दावेदार हुँ । अहिले हामी सबै सँगसँगै चुनावी प्रचारप्रसारमा व्यस्त छौँ । सँगसँगै कार्यक्रम गरिरहेका छौँ । हामी काँग्रेसलाई जिताउने अभियानमा लागेका छौँ र मेरो व्यक्तिगत प्रयास पनि पार्टीलाई सबै पदमा जिताउने नै हो ।
मेरो पार्टीले मलाई मेयर पदका लागि टिकट दिनुपर्छ भन्ने मेरो दाबी हो । म यसका लागि सक्षम र योग्य छु भन्ने ठान्दछु । त्यसैले मलाई उम्मेदवार बनाउँछ भन्नेमा म आशावादी छु ।
सोमबार नेकपा एमाले, कैलालीको पार्टी कार्यालयमा उपमहानगरपालिकाका विभिन्न पदका लागि आकांक्षीहरूको भिड थियो । त्यहाँ मेयर पदका केही आकांक्षीहरूसंग जम्काभेट भएको थियो ।
म आकांक्षी हुँ, पार्टीको निर्णय स्वीकार्य छ
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/ranbahadur-chand-283x300.jpg?resize=283%2C300)
अहिले म कुनै दौडधुपमा छैन । म मेयर पदका लागि पार्टीबाट उम्मेदवारको आकांक्षी हुँ, तर पार्टीले जसलाई टिकट दिन्छ म स्वीकार गर्न तयार छु । यो पदका लागि धेरै जना आकांक्षी हुनु स्वाभाविक हो, तर पार्टी नेतृत्वले पार्टीमा पुर्याएको योगदान, जनतामाझ लोकप्रिय, योग्य र सक्षम व्यक्तिलाई नै टिकट दिने हो । त्यसैले मैले टिकट पाउँछु भन्ने विश्वास छ ।
अहिले हामी सर्वसम्मतीको प्रक्रियामा रहेका छौँ । सर्वसम्मत रूपमा टुंगो लाग्न नसकेमा केन्द्रीय समितिले निर्णय गर्नेछ । र, पार्टीले मलाई नदिएर अरू कसेलाई दिए पनि म स्वीकार गर्न तयार छु ।
म योग्य, सक्षम र इमान्दार छु
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/narad-muni-rana-332x300.jpg?resize=332%2C300)
अहिले हाम्रो पार्टी नेकपा एमाले अरू पार्टीभन्दा नयाँ ढङ्गले अघि बढेको छ । हामी अहिले आन्तरिक व्यवस्थापनमै लागि रहेका छौँ । म मेयरको आकांक्षी त हुँ, पार्टीभित्र योग्य, सक्षम र ईमान्दार पनि छु । मलाई जनताले पनि विश्वास गरेकोले पार्टीले पनि मलाई विश्वास गरेर टिकट दिन्छ भन्नेमा विश्वस्त छु ।
टिकटका लागि दैनिक धाइरहेकी छु
![](https://i0.wp.com/eanumodan.com/wp-content/uploads/2017/04/kalawati-joshi-293x300.jpg?resize=293%2C300)
म मेयरको आकांक्षी छु । टिकट पाउन म पार्टी कार्यालय धाइरहेकी छु । मलाई मेयर पदको टिकट दिने वा नदिने पार्टी नेतृत्वको हातमा छ । जनताले टिकट दिने हैन, टिकट पार्टीले नै दिने भएकाले म दैनिक पार्टी कार्यालय नै धाइरहेको छु ।
पार्टीभित्र मैले लामो योगदान दिएकी छु । त्यसैले म मलाई पार्टीले मेयर पदका लागि टिकट दिन्छ भन्नेमा ढुक्क छु ।