१० श्रावण २०८१, बिहीबार

कैलालीमा आगलागीबाट क्षति बढ्दै, नियन्त्रण क्षमता कमजोर



धनगढी । कैलालीमा हरेक वर्ष आगलागीबाट ठुलो क्षति हुने भए पनि त्यसको नियन्त्रणको लागि तयारी भने कमजोर रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको माघसम्ममा कैलाली जिल्लामा भएका ४५ वटा आगलागीका घटनाबाट नौ करोड ६६ लाख पाँच हजार बराबरको क्षति भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी पाण्डेका अनुसार गत वर्ष जिल्लामा एक सय पाँच वटा ठुला साना आगलागीका घटनाहरू भएका थिए । जसबाट पाँच करोड ५२ लाख २६ हजार बराबरको क्षति भएको थियो ।
प्रहरी निरीक्षक पाण्डेका अनुसार सुुख्खा तथा हावाहुुरीको मौसम, बच्चाहरूले सलाई लाइटर जस्ता बस्तु खेलाउने, खेतमा आगो लगाउँने क्रममा घर, बस्ती र जङ्गलमा आगो लाग्ने गरेको छ । यसरी सानो गल्तीको कारण छोटो समयमा ठुलो धनजनको क्षति हुने गरेको छ ।
आगलागी भइसकेपछि नियन्त्रणका लागि दमकलको भर पर्नुपर्छ तर कैलालीमा तीन वटा दलमल मात्र छन् । आगलागी नियन्त्रणमा जाँदा एक दमकलमा पाँच जनाको आवश्यकता पर्ने गर्दछ । तर धनगढी उपमहानगरपालिकासँग पाँच जना मात्रै कर्मचारी रहेकाले रातको समयमा दुई जना र दिउँसो ३ जनाले सतर्क भएर बस्ने गरेको अग्नि नियन्त्रक भज्जी रानाले बताए । उनले कुनै समयमा एक जनालाई चोट पटक लागेमा समस्या पर्ने गरेको उल्लेख गरे । उपमहानगरपालिकाका लागि १० जना कर्मचारीको आवश्यकता रहेको उनको भनाई छ । टीकापुर नगरपलिकाको दमकल भने पछिल्ला वर्षमा बिग्रेको अवस्थामा छ । नगरपालिकाले महिनौ लगाएर मर्मत गर्ने गरे पनि पटकपटक बिग्रिरहने समस्याले प्रभावकारी सेवा दिन सकेको छैन ।
यस वर्षको चैतसम्ममा कैलाली र कञ्चनपुर जिल्लाका २३ वटा स्थानमा भएको आगलागीमा र गत वर्ष ३२ वटा आगलागी नियन्त्रणमा उपमहानगरपालिकाको दमकलले सहयोग पुर्‍याएको अग्नि नियन्त्रक रानाले बताए ।
विशेष गरी रातको समयमा आगलागीका घटना हुने र घटनास्थलमा दमकल पुग्न ढिलो हुने र कहिलेकाही दमकल नै बिग्रेर समयमा सेवा दिन नसकी ठुलो क्षति हुने गरेको छ ।

 

गोदावरी र घोडाघोडी नगरमा दमकल थपिदै
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन महिना अघिनै गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकालाई दमकल खरिदका लागि बजेट छुुट्याएको भए पनि ती नगरपालिकाहरूले आजसम्म दमकल खरिद गर्न सकेका छैनन् । गोदावरी नगरपालिकाका लेखा अधिकृत डिल्लीराज भट्टले विभिन्न कारणबाट समयमै दमकल खरिद गर्न नसकिएको बताए ।
उनले दमकल खरिदका लागि कम्पनीसंग चैत महिना भित्रै सम्झौता गरिने र वैशाख महिनाभित्रै दमकल खरिद गरिने जानकारी दिए । ती नगरपालिकामा सरकारले दिएको ६० लाख र नगरपालिकाको १० लाखको लागतमा दमकल खरिद गर्न लागिएको हो । घोडाघोडी नगरपालिकाले भने दमकल खरिदका लागि टेन्डर निकालेको छ, भने दमकल खरिदका लागि अझै दुईदेखि तीन महिना लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार