७ जेष्ठ २०८१, सोमबार

‘आफ्नै दिदीले फसाइन्’



बौनिया  ।  अवुधाबी (युएई) को एक होटेलमा राम्रो काम दिलाउने प्रलोभनमा भिजिट भिसामा त्यहाँ पुगेका कैलालीका पाँच जना युवा अलपत्र परेका छन् । उनीहरूलाई अवुधाबी मै रहेकी नाताले दिदी पर्नेले नै अलपत्र पारेको बताइएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कुम्भिया (साविकको दोदोधरा गाविस) का तीन जना बम दाजुभाइ, उनीहरूका एक जना साला र एक साथीलाई अवुधाबी बस्ने झरना बमले भिजिट भिसामा युएई बोलाएर अलपत्र पारेको पीडितले बताएका छन् ।
कुम्भियाका गोविन्द बम, खगेन्द्र बम र दिलीप बम, दिलीपका साथी बर्दगोरिया–२, सडकपुरबौनियाका सन्दीप मल्ल तथा गोविन्दका साला धनगढी उपमहानगरपालिका–१६, रामपुरका तेजेन्द्र चन्दलाई ‘युएईमा होटेलमा राम्रो काम छ’ भनेर बोलाएको खगेन्द्र र दिलीपकी आमा पद्माले बताइन् । झरना, तीन जना दाजुभाइका ठुलो बुवाको छोरी हुन् ।

पत्रकारहरूसंग कुरा गर्दै तेजेन्द्र (दायाँबाट दोस्रो, चेक सर्ट लगाएको)

युएईमा काम नपाउँदै भिसाको म्याद सकिन थालेपछि तेजेन्द्र भागेर बुधवार घर पुगिसकेका छन् । दिलीप शुक्रवार बिहान काठमाडौँ पुगेको र गोविन्द फर्किने तयारीमा रहेको पद्माले बताइन् । आमा पद्माका अनुसार सन्दीप र खगेन्द्र युएईको अर्को भिसा लिनका लागि युएईबाट एक्जिट लिई ओमान गए । उनीहरू बिहीबार पुन: युएईको दुबई पुगेर आफैले ३०/३० हजार रुपैयाँ तिरेर एक महिनाको भिसा थपाएका छन् । एजेन्ट मुरारी तिमिल्सिनाले काम मिलाईदिन्छु भनेकाले उनीहरूले भिसा थपेको पद्माले बताइन् ।
‘भिनाजु (खगेन्द्र) ले दिदीले काम मिलाउँदै हुनुहुन्छ भने पछि म पनि सँगै गए । त्यहाँ पुगेपछि भिनाजुको दिदीले भेट पनि गर्नु भएन् । पुगेपछि सात घण्टासम्म पनि मुरारी तिमिल्सिना भन्ने एजेन्टले फोन रिसिभ गरेन’ तेजेन्द्रले घटना विवरण सुनाए– ‘बल्लतल्ल फोन सम्पर्क त भयो, तर हामीलाई लिन आएनन् । बरदुबई भन्ने ठाउँमा बोलायो । त्यहाँ मुरारी तिमिल्सिनासंग भेट भयो । उसले होटेलमा पुग्ने बित्तिकै हामीसँग भएको सबै एक/एक हजार डलर लियो । भोलीदेखि काममा लगाई दिन्छु भन्यो । अर्को दिनदेखि कामको खोजीमा झोला बोकाएर ठाउँठाउँ सोध्न लगायो । महिनाभरि काम खोज्न लगायो, तर काम पाइएन । भिसाको म्याद सकिन थालेपछि म फर्किए ।’
भारतमा काम खोजे जस्तै घर, कम्पनी, अफिस र होटेलमा झोला बोकेर हिँड्नु परेपछि उनीहरू जस्तोसुकै काम पनि गर्न तयार भएका थिए । ‘होटेलमा वेटरको काम भनेको थियो, तर उसको कन्ट्याक्ट थिएन । मुरारी तिमिल्सिना आफै १५ दिनको ओभर स्टेमा थियो । हामीलाई कामको खोजीमा घुमाउँथ्यो । कहिले सेक्युरिटीको काम गर भन्थ्यो । कहिलो मेट्रो स्टेसनमा, त कहिले अरू नै काम गर्न भन्थ्यो ।’ थकित मुद्रामा तेजेन्द्रले भने– ‘हामीले होटेलमा भाँडा माज्ने काम भए पनि गर्छौ भन्यौं, तर उसले काम मिलाउन सकेन ।’
उनीहरूलाई त्यहाँ भेटिएका धेरै नेपालीले ‘भिजिट भिसामा ल्याएर यिनीहरूले काममा लगाउन सक्दैनन्, बरु घर फर्किनु नै उचित हुन्छ’ भन्ने सल्लाह दिएपछि आफू भिसाको मयाद सकिन लागेको दिन आफैँ टिक काटेर फर्किएको तेजेन्द्रले बताए ।
तेजेन्द्रका अनुसार उनीहरूलाई केही दिनपछि होटेलबाट होस्टलमा सारियो । त्यहाँ भिजिट भिसामा गएर ओभर स्टेमा रहेका २०/२५ जना नेपाली थिए । दुई तीन जना अटाउने कोठामा धेरैजना बस्नुपर्ने बाध्यता थियो । तेजेन्द्रले पीडा सुनाए– ‘हामीसँग भएको रकम तिमिल्सिनाले लिएपछि भोकै बस्नुपर्ने अवस्था भयो । त्यहाँ भेटिएका केही नेपालीले दिएका रकमबाट उनीहरूले जसोतसो छाक टार्थे ।
उनीहरूले भिसा पठाइदिने दिदी झरनालाई पटकपटक फोन गरे । तर, झरनाले धेरै पटक भेट्छु भनिन्, अवुधावीबाट दुबई आइनन् । ‘एक महिनापछि त फोन नै उठाउन छोडिन’ तेजेन्द्रले भने– ‘भिनाजुहरूले यहाँबाट फोन गर्दा ‘ढुक्क भएर आऊ, सबै व्यवस्था मिलाई सकेको छु’ भन्थिन्, तर त्यहाँ पुगेपछि भेट्न पनि आइनन् ।
पाँचै जनाले दुबईको होटेलमा जागिर लगाई दिने प्रलोभनमा एजेन्टलाई जनही दुई लाख रुपैयाँ बुझाएको बताए । तेजेन्द्रका अनुसार काठमाडौँका एजेन्ट कमला गुरुड्डलाई १० लाख रुपैयाँ बुझाएका थिए । त्यसमध्ये गुरुङ्गले एक/एक हजार डलर साटेर दुबईमा बुझाउन दिएको थियो । सो रकम उनीहरू दुबई पुगेपछि एजेन्ट मुरारी तिमिल्सिनाले लगेका थिए ।
तेजेन्द्रका अनुसार उनीहरूलाई गुरुङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि भिसा लगायतका कागजपत्र दिएका थिए । उनीहरूलाई उसले ‘कसैले सोधे घुम्न जाँदै छौँ’ भन्नु भनेको थियो । तर, विमानस्थलमा भिसा लगायतका कागजपत्र चेकजाच गर्ने अधिकृतले ‘एक महिनाको भिजिट भिसा हो, चाडै फर्किनु’ भनेपछि उनीहरू छाँगाबाट खसें झैँ भए ।
पछिल्लो समयमा युएईमा भिजिट भिसामा लगेर नेपालीहरूलाई अलपत्र पार्ने गिरोह सक्रिय भएको घटनाक्रमले देखाएको छ । हाल युएईस्थित नेपाली दूतावासको सेफ हाउसमा १५ जना नेपाली महिला सेल्टरमा बसेका छन् । त्यसमा टीकापुरकी अनुजा भण्डारी पनि छिन् । उनलाई डेढ महिना पहिले काठमाडौँकी माया सापकोटा भन्नेले भारतको मुम्बई हँुदै भिजिट भिसामा युएईको अजमनमा रहेको जीवन र शिखापुन पुर्‍याएकी थिइन् । त्यहाँ उनलाई शारीरिक यातना र दुव्र्यवहार गरेर मोबाइल समेत खोसेपछि उनी भागेर दुतावस पुगेको बताइएको छ ।

 

पहिले पनि ठगिएका थिए, गोविन्द र खगेन्द्र
खगेन्द्रकी आमा पद्मा अनुसार चार वर्ष पहिले खगेन्द्र वैदेशिक रोजगारमा मलेसियाको एक कम्पनीमा काम गर्न जाँदा पनि ठगिएका थिए । त्यति बेला उनको नौं लाख रुपैयाँ खर्च भएको थियो । ‘बौनियाको १० कठ्ठा जमिन बेचेर सो रकम दिएकी थिएँ’ पद्माले भनिन्– ‘तर त्यो पैसा दलालले खायो । तपाईसंग टिकट नै छैन, जान पाउनु हुन्न भनेपछि विदेश जान एयरपोर्ट पुगेको मेरो छोरा खगेन्द्र घर फर्कियो ।’
त्यस्तै, कथाव्यथा गोविन्दको पनि छ । उनकी श्रीमती अञ्जली मल्ल बमका अनुसार गोविन्द वैदेशिक रोजगारमा जानका लागि यसअघि पनि ठगिएका छन् । हाल धनगढीमा एक कम्पनीमा काम गर्ने दीपक सामन्तले कम्वोडिया पठाइदिने भन्दै गोविन्दसित तीन लाख ८५ हजार रुपैयाँ असुलेको उनले बताइन् । कम्बोडियामा सेक्युरिटी गार्डको जागिर पाइने भएपछि गोविन्दले नेपाल प्रहरीको जागिर समेत छोडेको अञ्जलीले बताइन् । तर, गोविन्दले विदेश जानै पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार