५ जेष्ठ २०८१, शनिबार

कुरिलो खेती  :  उत्पादन बढे पनि न्यून मूल्यमा बिक्री गर्न बाध्य



धनगढी  ।  कैलालीको गोदावरी नगरपालिकाका किसान डिल्लीराज पोखरेलको यस वर्ष कुरिलो खेती राम्रै फस्टायो । मिहिनेतअनुसारको आम्दानी हुने आशामा रहेका किसान पोखरेल त्यति बेला निराश भए, जतिबेला उनले बजारमूल्य भन्दा कम मूल्यमा उत्पादन बेच्नु पर्‍यो ।
उनको बारीमा ४६ क्विन्टल कुरिलो उत्पादन भएको थियो । अहिले काँचो कुरिलोको जराको बजार मूल्य ९० रुपैयाँ छ भने सुकेको जराको मूल्य सात सय ५० रुपैयाँ छ । तर, उनले प्रतिकिलो ६५ रुपैयाँका दरले कुरिलो बिक्री गर्नुपर्‍यो । ‘बजार मूल्य नपाउँदा झन्डै सवा एक लाख रुपैयाँ नोक्सान बेहोर्नुपर्‍यो’ उनलका अनुसार अरू किसानले पनि अहिले बजार मूल्यभन्दा कममा कुरिलो बिक्री गर्न बाध्य छन् ।
कुरिलो उत्पादकहरूका अनुसार सरकारले समयमै जडिबुटीको उचित मूल्य निर्धारण नगर्नु र बजारीकरणमा ध्यान नदिएका कारण किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकिरहेका छैनन् ।
गोदावरी नगरपालिकाका प्रेमराज भट्ट पनि सरकारले समर्थन मूल्य र बजारीकरणमा ध्यान नदिएका कारण समस्या भइरहेको बताउँछन् । उनी पाँच वर्षदेखि एक बिघा जमिनमा कुरिलो खेती गर्दै आएका छन् ।
बिहीबार वनस्पती विभाग तथा जिल्ला वनस्पती कार्यालयले धनगढीमा आयोजना गरेको ‘जडिबुटीको दिगो संरक्षण, सङ्कलन, खेती तथा बजारीकरण’ सम्बन्धी सरोकारवालाहरूसंगको अन्तक्र्रियामा जडिबुटी कृषकहरूले भने– ‘सरकारले जडिबुटी खेतीलाई प्रोत्साहन गर्न सकजकर्ताको भूमिका निर्वाह गर्नु पर्दछ ।
‘कैलाली सहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) जडिबुटीको प्रचूर सम्भावना रहेको क्षेत्र हो’ कार्यक्रममा सहभागी मनिराम आचार्यले भने– ‘तर, जडिबुटी उत्पादन हुने क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरिएको छैन र प्रशोधन केन्द्र नहु‘दा किसानको जडिबुटी गोदाममै सड्ने अवस्था आउने गरेको छ ।’
कैलालीको पहाडी गाविस निगाली र सहजपुरका धेरै किसानले तेजपात, कुरिलो र काउलो उत्पादन गर्दै आएको उनले बताए । आचार्यले राज्यले धान, उखु लगायतका उत्पादनको न्यूनतम मूल्य निर्धारण गरे जस्तै जडिबुटीको पनि न्यूनतम मूल्य निर्धारण गर्न माग गरे ।
कार्यक्रममा सेवा निवृत्त जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले जरा प्रजातीका जडिबुटी अधिकांश लोप हुने अवस्थामा पुग्न लागेकोले सरकारले जडिबुटी संरक्षणका लागि विशेष नीति बनाउन सल्लाह दिए ।
कार्यक्रममा जिल्ला वनस्पति कार्यालय कैलालीका प्रमुख जीवन पाण्डेले जडिबुटीको दिगो संरक्षण, सङ्कलन, खेती तथा बजारीकरण सम्बन्धी प्रस्तुति गर्दै कैलालीमा तेजपात, रिठ्ठा, कुरिलो, घिउकुमारी, सर्पगन्धा, मेन्था, अमला, केमोमाईल, त्रिफला लगायतका जडिबुटीको बढी सम्भावना रहेको चर्चा गरे ।
उनले जिल्लाको तराई क्षेत्रमा पछिल्लो समय जडिबुटी खेती व्यावसायिक रूपमा अघि बढ्न थाले पनि पहाडी क्षेत्रमा भने अझै सुरुवात हुन नसकेको बताए । जडिबुटी खेतीमा किसानहरू उत्साहित नहुनु, सिंचाईं व्यवस्था नहुनु, कृषक तहमा जडिबुटी खेती विधि र सङ्कलन, भण्डारण तथा प्रशोधनको प्राविधिक ज्ञानको कमी, सङ्कलन केन्द्र तथा भण्डारण गृहको अभाव, प्रचलित ऐन, कानुनहरू व्यवहारमा लागू नहुनु, जडिबुटीको न्यूनतम मूल्य निर्धारण नहुनु, जडिबुटी ढुवानी प्रक्रिया झन्झटिलो हुनु लगायतका समस्या रहेको बताए ।
उनले आर्थिक वर्ष २०७२/०७३ मा सुदूर तथा मध्यपश्चिमबाट पाखनभेद, तेजपात, रिठा, टिमुर, चुत्रो बोक्रो, काउली, जटामसी मार्क, दालचिनी, कुटकी, अमला, कुरिलो, सुगन्धा कोकिला मार्क समेत ४६ लाख ३८ हजार दुई सय १५ किलोग्राम जडिबुटी भारत निकासी भएको बताए । सो अवधिमा सबैभन्दा बढी पाखनभेद सात लाख ९८ हजार पॉच सय पॉच किलोग्राम निकासी भएको जानकारी दिए । उनले यस क्षेत्रबाट कुरिलो र तेजपात बढी भारततर्फ निकासी हुने गरेको बताए ।
कार्यक्रममा जिल्ला वन कार्यालय कैलालीका वरिष्ठ जिल्ला वन अधिकृत श्यामनारायण दास मोहनले जिल्लामा जडिबुटीको निकासीको अवस्थाबारे जानकारी दि‘दै यस क्षेत्रमा चालू आर्थिक वर्ष २०७३/७४ को फागुनसम्म जामुनदाना, तेजपात, दालचिनी, काउली र रिठा गरी छ हजार ७१ किलोग्राम राष्ट्रिय वनबाट निकासी भएको जानकारी दिए ।
कार्यक्रममा जडिबुटी विभागका महानिर्देशक अखिलेश्वरलाल कर्णले राज्यले आर्थिक वर्ष २०६१/०६२ सालमै जडिबुटीको अध्ययन, अनुसन्धानका लागि नीति बनाएको बताए ।
महानिर्देशक कर्णले जडिबुटीको बजार व्यवस्थापन, प्रविधिको विकास लगायतमा विभागले ध्यान दिने उनले बताए । उनले वन तथा भू–संरक्षण मन्त्रालयले जडिबुटी क्षेत्रको विकास लागि निजी क्षेत्रको सहकार्यमा काम गर्ने नीति बनाए पनि निर्देशिका, ऐनमा व्यवस्था नगर्दा प्रभावकारी हुन नसकेको बताए ।
उनले राज्यले जडिबुटी क्षेत्रको विकास, प्रोत्साहन गर्ने भने पनि कृषकहरूलाई ऐनको झन्झटिलो प्रक्रियाका कारण समस्या भइरहेकोले यसबारेमा बृहत् छलफल हुन जरुरी रहेको बताए ।
क्षेत्रीय वन तालिम निर्देशनालयका निर्देशक सुधिर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जडिबुटी कार्यालयका सुधिर न्यौपानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार