२ जेष्ठ २०८१, बुधबार

चलचित्र सङ्घद्वारा शहीद गोविन्दको परिवारलाई सहयोग



धनगढी  । चलचित्र निर्माता सङ्घ, नेपालले शहीद गोविन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
गत फागुन २६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका शहीद गौतमको परिवारलाई चलचित्र निर्माता सङ्घले २५ हजार छ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सङ्घका अध्यक्ष नवल खड्का, महासचिव बिमल पौडेल, सचिव मनोज श्रेष्ठ, सदस्य वीरेन्द्रसिंह बीरु, निर्माता डा. अमित विश्वास, निर्देशक श्रीराम पुडासैनी, कलाकार राजकुमार जोशी लगायतका टोली शहीद गौतमको घर पुनर्वासमा पुगेर आर्थिक सहयोग उपलब्ध गराएको कलाकार जोशीले बताए ।
शहीद गौतमका वृद्ध बुबाआमा, एक श्रीमती र तीन नाबालिका छोरी रहेका छन् । चलचित्रकर्मीहरूसँगको भेटमा शहीद गौतमकी आमाले आजसम्म कुनै पनि सरकारी निकायका उच्चस्तरीय नेताहरू भेट्न तथा सान्त्वना दिन नआएकोले दु:ख लागेको बताएकी थिइन ।

 

शहीद परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

शहीद गोविन्द गौतमका परिवारलाई एमालेले शनिवार पाँच लाख रुपैयाँ र एक थान ल्यापटप हस्तान्तरण गरेको छ ।
शनिवार एमाले उपाध्यक्ष भीम रावलले शहीद गौतमकी आमा हरिकलालाई उनकै घरमा पुगेर सो रकमको चेक र ल्यापटव प्रदान गरे ।
त्यस्तै, एमाले पुनर्वास नगर कमिटीले गौतमको परिवारलाई १२ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका ८ आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा विवाद बढ्दै गएपछि गत फागुन २६ गते भारतीय एसएसबीले चलाएको गोली लागेर गोविन्दको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार