२ जेष्ठ २०८१, बुधबार

जग्गाधनी प्रमाणपत्र वितरण



धनगढी  ।  धनगढी उपमहानगरपालिका–३ का तीन सय २० घरधुरीलाई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
सोमबार नापी कार्यालय धनगढीले घरदैलो अभियान अन्तर्गत धनगढी–३, विशालनगरस्थित जनता आधारभूत विद्यालयको प्रांगणमा जग्गा धनी प्रमाणपुर्जा वितरण समारोहको आयोजना गरी सो घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको नापी कार्यालय प्रमुख नापी अधिकृत ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिए ।
कार्यालयले दुई सय ३६ पुरुष, ५६ महिला र २८ आदिवासी जनजातिलाई गरी तीन सय २० जग्गा धनी प्रमाणपुर्जा वितरण गरेको उनले जानकारी दिए । सोमबार सार्वजनिक बिदा भए पनि कार्यालयले आफ्नो सेवालाई निरन्तरता दिन घरदैलो अभियान गरेको उनले बताए ।
पूर्ननापी पश्चात् तयार पारिएका नाप नक्सा सम्पन्न गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण नभएकाले तयार भएका पुर्जाहरूलाई घरदैलोमा आई वितरण गरिएको उनले बताए । नापी कार्यालयमा अझै हजारौभन्दा बढी जग्गा धनी प्रमाणपुर्जा तयार हुन बाँकी रहेकाले उक्त वडाका घरधुरीहरूले चार महिना प्रमाणसहित आएमा जगा धनी प्रमाणपुर्जा दर्ता र वितरणको कार्य जारी रहने उनले बताए । उनले सोमबार आठ सय ४० जग्गा धनी प्रमाणपुर्जा वितरण समारोहमा वितरण गर्ने लक्ष्य लिएको भए पनि तीन सय २० दर्ता प्रमाणपुर्जा मात्र वितरण भएको जानकारी दिए ।
यसै गरी नापी कार्यालय कैलालीले हाल सबै सेवाहरू डिजिटल प्रविधिबाट दिइरहेको छ । नक्सा प्रिन्ट, कित्ता काट लगायतका कामहरू डिजिटल प्रविधिबाट गरिरहेको र यसले गर्दा काममा छिटो छरितो भइरहेको समेत प्रमुख नापी अधिकृत विष्टले बताए । कार्यालयले धनगढी उपमहानगरपालिकाको १३ नंम्बर वडामा डिजिटल प्रविधिबाट पुन नाप नक्सा सम्पन्न गरिसकेको र हाल १२ नंम्बर वडामा जारी रहेको जानकारी दिएको छ ।
प्रमुख नापी अधिकृत विष्टले आगामी आर्थिक वर्षभित्र धनगढी उपमहानगरपालिकाका सम्पूर्ण वडाहरूमा डिजिटल प्रविधि बाट पुन नाप नक्सा गर्ने लक्ष्य लिएको जानकारी दिए ।
प्रमुख नापी अधिकृत विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले समारोहको उद्घाटन गरेका थिए ।
नापी कार्यालयका अमिन अम्बादत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा नापी अधिकृत दिर्घराज पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । नयाँ लालपुर्जा वितरण कार्यक्रममा नापी कार्यालय कैलालकिा १५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार