२ जेष्ठ २०८१, बुधबार

बचत गर्ने बानीको विकास गर्नुहोस् : गभर्नर नेपाल



अत्तरिया  ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बचत गर्ने बानीको विकास गर्न आग्रह गरेका छन् । ‘जुन देशका नागरिकहरूमा वित्तीय ज्ञान छ, बचत गर्ने बानीको विकास भएका छन्, त्यो देश समृद्धितर्फ अघि बढेको छ’ शनिवार अत्तरियामा नेपाल राष्ट्र बैङ्कको प्रवद्र्धनमा मिडिया ईन्टरनेश्नलले आयोजना गरेको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ को उद्घाटन गर्दै उनले भने– ‘हाम्रो देश नेपालमा वित्तीय साक्षरता न्यून भएकाले यहाँ बचत गर्ने बानीको पनि विकास भएको छैन ।
नेपालमा कुल जनसङ्ख्याको पाँच प्रतिशतले मात्र बचत गर्छन् ।’ उनले अमेरिकामा ८० प्रतिशत, चीनमा ५० र भारतमा ३४ प्रतिशतले बचत गर्ने गरेको पाइएको बताए ।
गभर्नर नेपालले विलासिताको वस्तुमा खर्च गर्ने बानीलाई रोक्न पनि आग्रह गरे । ‘हाम्रा जस्ता मुलुकका मान्छे पैसाकै लागि भनेर विदेश जान्छन् तर, स्वदेशमै रहेको पैसाको उपयोग गर्दैनन्’ उनले भने– ‘विदेशबाट आएको पैसा प्रति व्यक्तिले ८० प्रतिशत रकम विलासिताको वस्तुमा खर्च गरिरहेका छन् ।’
कार्यक्रममा एनआईसी एसिया बैङ्कका सिईओ लक्ष्मण रिसालले वित्तीय दरमा वृद्धि भइरहेको भए पनि वित्तीय साक्षरता दरमा सुधार ल्याउन नसकिएको बताए । कार्यक्रममा सांग्रिला विकास बैङ्कका सिईओ राजेन्द्रप्रसाद पौडेलले बैङ्क
तथा वित्तीय संस्थामा कारोबार गर्दा लाभान्वित हुनुका साथै पैसाको महत्त्व, पैसा कमाउने, बचत गर्ने लगायतको बानीको विकास हुने बताए ।
नेपाल राष्ट्र बैङ्क नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थामा कारोबार नगर्दा सर्वसाधारणको जीवनस्तरमा सुधार हुन नसकेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका धनगढीका क्षेत्रीय निर्देशक विश्रुत थापाले यस क्षेत्रमा दुई सय तीन बैङ्क तथा वित्तीय संस्थामा ३६ अर्ब निक्षेप र ६० अर्ब कुल कर्जा रहेको बताए ।
कार्यक्रममा एनआईसी एसिया बैङ्कले विपन्न वर्ग कर्जा अन्तर्गत सात लाखको व्यावसायिक कृषि कर्जा कुमारी दमाईलाई हस्तान्तरण गरेका थिए ।
‘बैङ्कसँगको नाता, हरेक नेपालीको बैङ्क खाता’ भन्ने नाराका साथ आयोजना गरिएको अभियानमा बैङ्क तथा वित्तीय संस्थाका १० वटा स्टल रहेका थिए ।
वित्तीय साक्षरता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनीबाट सुरु गरेको अभियान
शनिवार यस क्षेत्रको अत्तरियामा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार