७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य शिविरमा दुई हजार तीन सय जनाले सेवा पाए



टीकापुर । जनतालाई घरदैलो मै सरकारी सेवा दिने उद्देश्यले कैलालीको मुनुवामा आइतबार एकीकृत घुम्ती सेवा सञ्चालन भएको छ ।
सो क्रममा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार चार सय ९५ महिला र सात सय १५ पुरुष गरी दुई हजार दुई सय १० जनाले स्वास्थ्य जाँच तथा नि:शुल्क औषधि प्राप्त गरेका छन् ।
नेपाली सेनाका कर्णेल टेकबहादुर चन्दका अनुसार स्वास्थ्य शिविरमा सेनाका चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरी एक सय भन्दा बढीले सेवा प्रदान गरेका थिए ।
एकीकृत घुम्ती सेवामा अपाङ्गता परिचयपत्र पनि वितरण गरिएको थियो । महिला तथा बालबालिका कार्यालय कैलालीमा सहायक महिला विकास निरीक्षक प्रभा हमालले ५० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको बताइन् । त्यस्तै, ४३ जनाले मतदाता परिचयपत्रका लागि फोटो खिचाएको निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी प्रेमदत्त भट्टले बताए ।
घुम्ती सेवामा नागरिकता वितरण गरिने भनिए पनि गाविस सचिवहरूको आन्दोलनका कारण काम नगरेकाले पहिल्यै सिफारिस भएका १९ जनालाई मात्र नागरिकता वितरण गरिएको प्रशासकीय अधिकृत शितलसिंह उखेडाले बताए ।
शिविरमा स्वास्थ्य सेवा पाएकी पटरानी कठरियाले पैसा पनि नहुने र बाहिर जान पनि नसक्ने नागरिकलाई गाउँमै स्वास्थ्य लगायतका सेवा पाएकोमा खुसी व्यक्त गरिन् ।
स्वास्थ्य शिविरको अनुगमन निरीक्षण गर्दै ंरक्षामन्त्री बालकृष्ण खाणले नेपाली सेना र जनताबीचको सम्बन्ध प्रगाढ गर्न र सेनासंग भएको स्रोतबाट नागरिकलाई सेवा दिन शिविर सञ्चालन गरेको बताए । उनले भने— ‘सानोतिनो बिरामी हुँदा उपचार गर्न समेत नजाने गाउलेलाई उपचार गर्न जानुपर्छ भन्ने सचेतना वृद्धि गर्न पनि यो स्वास्थ्य शिविर आयोजना गरिएको हो ।’
चीन सरकारको सहयोगमा नेपाली सेनाले पाएको ५० शैय्याको मोबाइल अस्पतालमा नेपाली सेनाका विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य परीक्षण र माइनर अप्रेशन सेवा दिइएको छ ।
नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले देशमा विपत्ति पर्दा स्थानीय स्रोत साधनले नभ्याएको बेला सहयोग पुर्‍याउने उद्देश्यले तयार भएको टोलीले सेवा दिइरहेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गत वर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सद्भाव, सहिष्णुता स्थापित गर्न र पछि परेको समुदायलाई सेवा दिन घुम्ती सेवा सञ्चालन गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले स्वास्थ्य शिविरमा जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य कार्यालय, सेती अञ्चल अस्पताल, नेपाल चिकित्सक सङ्घ सुदूरपश्चिम लगायतका निकायको समन्वय र सहयोग रहेको बताए ।

सबैको पहिचानको सम्मानले नै समग्र नेपाल बन्छ : रक्षामन्त्री खाण


रक्षामन्त्री बालकृष्ण खाणले सबै जातजाति, धर्म, संंस्कृति, क्षेत्र, वर्ग, समुदायको पहिचानको सम्मान गरेर मात्रै समग्रमा नेपाल राष्ट्र बन्ने बताएका छन् । उनले उत्तरी वा दक्षिणी सीमाको सुरक्षा त्यहीका नेपाली नागरिकले गरिरहेको तथ्य पनि कोहीकसैले बिर्सन नहुने दोहोर्‍याए ।
‘नेपालको उत्तरी वा दक्षिणी सीमाको सुरक्षा कोही केपी ओली वा बालकृष्णले गर्ने होइनन्’ आइतबार कैलालीको टीकापुरमा नेपाली काँग्रेस, मुनुवा गाउँ समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा रक्षामन्त्री खाणले भने— ‘हाम्रो सीमाको सुरक्षा त्यहीका आदिवासी जनजाति नेपाली नागरिकले गर्ने हो ।’
उनले नेपाली समाजमा रहेको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, क्षेत्रीय विविधतालाई स्वीकारेर मात्रै राष्ट्र बलियो हुने चर्चा गरे । ‘हिमालमा बस्ने भोटे अथवा तराईमा बस्ने थारू, मधेसी सबैको पहिचान र अधिकारको सम्मान गरेमात्र राष्ट्र बलियो हुन्छ’ उनले आफ्नो अधिकार मागिरहेका समुदायलाई अर्कै दृष्टिले हेर्ने प्रवृत्ति गलत भएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रक्षामन्त्री खाणले राष्ट्रियता, लोकतन्त्र र जनताको आर्थिक समृद्धिका सवालमा कोहीकसैसँग कुनै पनि प्रकारको सम्झौता हुननसक्ने चर्चा गरे । उनले भने— ‘नेपाली काँग्रेसले कुनै पनि हालतमा राष्ट्रियतालाई कमजोर हुन दिने छैन ।’
गत वर्ष भदौमा भएको टीकापुर घटनाको प्रसङ्ग कोट्याउँदै उनले सो घटनामा बाहिरिया तत्त्वको समेत हात रहेको बताए । उनले भने— ‘शान्ति प्रक्रिया र लोकतान्त्रिक पद्धति कमजोर बनाउन खोज्ने तत्त्वहरूको चलखेलबाट सो घटना भएको हो ।’
रक्षामन्त्री खाणले सामाजिक सद्भाव र एकताको संस्कृति थारू समुदायबाट सिक्नुुर्ने बताए । उनले भने— ‘समाजमा मेलमिलाप, सामाजिक सद्भाव तथा एकता कसरी बनाइराख्नु पर्छ भन्ने थारू समुदायमा प्रचलित प्रणाली र अभ्यासबाट सिक्नु पर्दछ ।’
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले पनि मन्तव्य व्यक्त गरेका थिए ।
गाउँशाखा सभापति कमल कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सल्लाहकार भागिराम चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार