८ बैशाख २०८१, शनिबार

जनता बैङ्कको नयाँ शाखा



धनगढी । कैलालीका दुई स्थानमा जनता बैङ्कले शाखारहित बैङ्किङ सेवा सुरु गरिएको छ । सक्षम परियोजना र जनता बैङ्कको संयुक्त सहकार्यमा बैकले चौमाला गाविसको चौमाला र राजीपुरमा शाखारहित बैङ्किङ कारोबार सुरु गरेको छ ।
शाखारहित बैङ्कको एक कार्यक्रमबिच नेपाल राष्ट्र बैङ्कका निर्देशक विश्रुत थापाले उद्घाटन गरे ।
सो अवसरमा निर्देशक थापाले देशका अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिमा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या रहेको बताए ।
सो अवसरमा जनता बैङ्क कृषि विपन्न कर्जा विभाग प्रमुख अमित श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न स्थानमा अझै पनि वित्तीय संस्थाको अभाव भएकोले शाखा रहित बैङ्किङ सेवा सुरु गरिएको बताए ।
उनले जनता बैङ्कको हालसम्म देश भर १४ वटा शाखारहित बैङ्किङ कारोबार सुरु गरेकोमा कैलालीमा विभिन्न पाँच वटा स्थानमा समेत थप शाखा रहित सेवा विस्तार गर्ने योजना अनुरूप चौमाला र राजीपुरमा समेत सेवा विस्तार गरिएको बताए ।
जनता बैङ्कले कैलालीको मसुरिया, पहलमानपुर र हासुलियामा समेत आइतबारसम्म थप शाखारहित बैङ्किङ सेवा विस्तार गरिसक्ने जनता बैङ्क धनगढी शाखाका प्रबन्धक मुकुन्द भट्टले जानकारी दिए ।
सक्षम कार्यक्रमका फिल्ड संयोजक तर्कराज जोशीले बैंकिङ् साक्षरताको वृद्धि गर्न, बचत गर्न बानीको विकास गर्न सक्षम कार्यक्रममार्फत शाखा रहित बैङ्किङको अवधारणा एक वर्ष अगाडि अघि बढाईएको जानकारी दिए ।
उनले हालसम्म देशभरका चार सय ४३ शाखारहित बैङ्क खोल्ने लक्ष्य भएकोमा हालसम्म देशभर दुई सय दुई शाखा रहित बैंकिङ् सेवा सुरु भइसकेको बताए ।
कार्यक्रममा त्यस क्षेत्रका स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार