११ बैशाख २०८१, मंगलवार

कृषि विकास बैङ्क ५० औँ वर्ष प्रवेश




धनगढी ।  कृषि विकास बैङ्क लिमिटेड ५० औँ वर्ष प्रवेशको अवसरमा शुक्रवार धनगढीमा विशेष कार्यक्रम भएको छ ।
बैङ्कको क्षेत्रीय कार्यालयमा भएको कार्यक्रमको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरे । कार्यक्रम बैङ्कका क्षेत्रीय निर्देशक धु्रवचन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले कृषि क्षेत्र तथा कृषकको जीवनस्तरमा सुधारका लागि बैङ्कको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । उनले बैङ्कको सेवा अझैं गुणस्तरीय र विश्वसनीय बनाउन निरन्तर प्रयास गरिनु पर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्क क्षेत्रीय कार्यालय धनगढीका निर्देशक विश्रुत थापाले पछिल्ला वर्षहरूमा बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या वृद्धि भइरहेकोले कृषि विकास बैङ्कले आफ्नो सेवालाई अझ बढी प्रतिस्पर्धात्मक बनाउन सुझाव दिए ।
कार्यक्रममा कृषि विकास बैङ्क कर्मचारी सङ्घका अनिलकुमार सुवेदी, पूर्व निर्देशक नेत्रबहादुर चन्द, लीला भट्ट, केशवप्रसाद ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बैङ्कका अधिकृत जगदीश पन्तले गरेका थिए ।
सुदूरपश्चिममा कर्जा लगानी तीन अर्ब बढी
कृषि विकास बैङ्क, क्षेत्रीय कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७३/०७४ को पुस महिनासम्म तीन अर्ब तीन करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
सो अवधिमा दुई अर्ब ५१ करोड छ लाख सात हजार रुपैयाँ साँवा असुली गरिएको छ । बैङ्कको ५० औँ वर्ष प्रवेशका अवसरमा शुक्रवार धनगढीमा गरिएको कार्यक्रममा क्षेत्रीय कार्यालयअन्तर्गतका २२ वटा शाखा मार्फत भएको कारोबारको विवरण प्रस्तुत गरिएको थियो । सो अवधिमा बैङ्कले २९ करोड ४८ लाख २५ हजार रुपैयाँ ब्याज असुली गरेको छ । बैङ्कको क्षेत्रीय कार्यालयको लगानीमा रहिरहेको रकम पाँच अर्ब ३८ करोड ७१ हजार रुपैयाँ रहेको छ ।
बैङ्कका धनगढी शाखा प्रमुख प्रदीपकुमार जोशीले चालू आर्थिक
वर्षको हालसम्मको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्दै पुस मसान्तसम्म बैङ्कले १९ करोड ६० लाख ९८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको बताए ।
सो अवधिमा बैङ्कले एक अर्ब ९१ करोड ६१ लाख १९ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको जनाइएको छ । बैङ्कको क्षेत्रीय कार्यालयअन्तर्गतका शाखा/बैङ्किङ कार्यालयमार्फत थोक तथा खुद्रा व्यावसायमा दुई अर्ब सात करोड ३७ लाख ५६ हजार कर्जा लगानी भएको छ । त्यस्तै, कृषि व्यावसायमा एक अर्ब १४ करोड ९३ लाख ३२ हजार रुपैयाँ लगानी भएको छ ।
विभिन्न व्यक्तित्वलाई सम्मान गरियो
कृषि विकास बैङ्क ५० औँ वर्ष प्रवेशका अवसरमा बैङ्कको क्षेत्रीय कार्यालयले उत्कृष्ट निक्षेपकर्ता तथा कर्मचारीलाई सम्मान गरेको छ ।
क्षेत्रीय कार्यालय धनगढीमा आयोजित कार्यक्रममा निक्षेपकर्ता कैलाली बहुमुखी क्याम्पस, बैतडी पाटनकी मिना विष्ट, गणेश ईटा उद्योग धनगढी र कालीका ईटा उद्योग सुखडलाई कदरपत्र प्रदान गरेको छ ।
त्यस्तै, बैङ्क कर्मचारी सङ्घले उत्कृष्ट काम गर्ने शाखा, २० वर्ष सेवा अवधि पुर्‍याएका कर्मचारीलाई प्रशंसापत्र र पुरस्कार प्रदान गरेको छ ।
कर्मचारी सङ्घले कृषि विकास बैङ्क, धनगढी शाखाका लेखापाल तारा पन्त, बझाङका ऋण सहायक वीरेन्द्रसिंह महता, टीकापुर शाखाका लेखापाल मिठ्ठु चौधरी, धनगढीका अधिकृत जगदीशप्रसाद पन्त, दार्चुला लेखापाल दानसिंह थापा, सुखडका अधिकृत अनिल भुसाल, धनगढीका लेखापाल नेहा भण्डारी र अत्तरिया शाखाका लेखापाल अन्जना मल्ललाई पुरस्कार र कदरपत्र प्रदान गरेको थियो । त्यस्तै, शाखा कार्यालय सुखड, धनगढी, बेलौरी र डोटीलाई उत्कृष्ट शाखाका रूपमा सम्मान गरियो ।
तीन नयाँ योजना
कृषि विकास बैङ्क क्षेत्रीय कार्यालय धनगढीले बैङ्किङ सेवालाई अझ प्रभावकारी बनाउन तीन स्थानमा एटिएम सेवा सुचारु गर्ने जनाएको छ ।
कार्यालयले धनगढी, अत्तरिया र महेन्द्रनगरमा यसै वर्षदेखि एटिएम सेवा सुचारु गर्ने क्षेत्रीय निर्देशक धु्रवचन्द गौतमले जानकारी दिए ।
उनले बैङ्कले धनगढी बैकिङ कार्यालय र महेन्द्रनगरमा लकर सेवा प्रारम्भ गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार