कांग्रेस महाधिवेशनमा गगनदेखि रवि, प्रचण्ड, शंकर र लिङ्देनसम्मको यस्तो छ सन्देश
काठमाडौ/ नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आइतबार सुरु भएको छ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेससहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गरे।
महाधिवेशनमा विशेषगरी कांग्रेस सभापति गगनकुमार थापासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईका अभिव्यक्ति चर्चामा रहे।
गगन थापा : ‘आजको प्रश्नको उत्तर दिनुपर्छ’
कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेसको संकट निर्वाचनमा हार–जितको मात्र नभई पहिचान र उद्देश्यको संकट भएको बताए। कांग्रेसले आफ्नो सिद्धान्तसँग सम्झौता नगरी जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो।
उनले बलियो सरकारभन्दा बलियो नागरिक आवश्यक रहेको, उद्यमीले कमाउन पाउने तर श्रमिकको सम्मान पनि हुनुपर्ने बताए। कांग्रेसको संगठन पार्टी कार्यालय र अधिवेशनमा मात्र सीमित नभई जनतासँग जोडिनुपर्ने उनको धारणा थियो।
‘बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता आर्जन गर्नुपर्छ’ भन्ने सन्देश दिँदै थापाले नयाँ पुस्ता, जनताको विश्वास र राजनीतिक उद्देश्यलाई केन्द्रमा राख्नुपर्ने बताए।
रवि लामिछाने : ‘म पनि कांग्रेस हुन्थेँ होला’
रास्वपा सभापति रवि लामिछानेले कांग्रेसले पार्टीप्रतिको निष्ठा, युवा पुस्ता र वास्तविक प्रतिनिधित्वलाई समयमै महत्व दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताए।
उनले कांग्रेसको लामो इतिहासको प्रशंसा गर्दै व्यक्ति जोगाउन वा फसाउन लोकतन्त्र कमजोर पार्न नहुने बताए। सरकार परिवर्तनका लागि आन्दोलनभन्दा निर्वाचन नै वैधानिक बाटो भएको उनको भनाइ थियो।
शंकर पोखरेल स् राष्ट्रियता र लोकतन्त्रका लागि एक ठाउँमा उभिनुपर्ने
एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियता, लोकतन्त्र र मुलुकको हितका लागि राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले अहिलेको राजनीतिक परिस्थितिमा संवाद र सहकार्य आवश्यक रहेको सन्देश दिए।
राजेन्द्र लिङ्देन : ‘पात्र फेरिए, प्रवृत्ति फेरिएन’
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामा राजनीतिक दल र नेताप्रति रहेको वितृष्णा अझै अन्त्य नभएको बताए। उनले ‘पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन’ भन्दै देश अझै अँध्यारो सुरुङतर्फ गएको टिप्पणी गरे।
निषेधको राजनीति अन्त्य गर्दै राजादेखि राजनीतिक दल र नयाँ पुस्तासम्मलाई संवाद र सहकार्यमा ल्याउनुपर्ने उनको धारणा थियो।
बाबुराम भट्टराई : ‘नयाँ पुस्तालाई विश्वास गरौँ’
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालजस्तो देशमा धेरै राजनीतिक दलभन्दा देश विकासका लागि स्पष्ट योजना र त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा आवश्यक रहेको बताए।
पुराना दलहरूले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसले समयअनुसार आफूलाई रुपान्तरण गर्दै आएको पनि उनले बताए।
विश्वप्रकाश शर्मा नयाँ यात्राको सुरुवात
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनलाई कांग्रेसको नयाँ यात्राको सुरुवातका रूपमा प्रस्तुत गरे। ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा भूमिका खेलेको उल्लेख गर्दै अब अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्नुपर्ने बताए।
रेशम चौधरी : अधिकार लेखिए, कार्यान्वयन भएन
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए। थारू समुदायलगायत सीमान्तकृत समुदायको राज्यका उच्च तहमा पहुँचबारे उनले प्रश्न उठाए। साथै उनले गगन थापाले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे।
आरेन राई : सत्ताको होइन, कामको प्रतिस्पर्धा गरौँ
श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राजनीतिक दलबीच अब कति पटक सत्ता चलाउने होइन, कसले देशका लागि राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताए। कांग्रेसको ऐतिहासिक योगदानको प्रशंसा गर्दै उनले विगतका कमजोरी सच्याएर नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्न आग्रह गरे।
प्रचण्डसहितका नेता सहभागी
महाधिवेशन उद्घाटनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, डा। बाबुराम भट्टराई, रेशम चौधरीलगायत सहभागी भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने उद्घाटनमा उपस्थित भएनन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ।




