७ आश्विन २०८३, बुधबार

एमाले पुनर्गठनका लागि नेतृत्व हस्तान्तरण गर्न ओलीलाई योगेशको आग्रह



काठमाडौ / नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ राजनीतिक निकास दिन अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा लिखित धारणा प्रस्तुत गर्दै भट्टराईले नेतृत्व हस्तान्तरण कुनै व्यक्तिलाई हटाउने वा स्थापित गर्ने विषय मात्र नभएको बताए। उनले यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्गठन र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको विषय भएको बताए।

भट्टराईले अहिलेको संकटको समाधान अरूमाथि दोष थोपरेर नभई इमानदार आत्मसमीक्षाबाट खोज्नुपर्ने बताए। पार्टीका कमजोरी र असफलताको कारण पहिचान गरेर त्यसबाट पाठ सिक्दै पार्टी पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ।

उनले गत भदौ १० गते रसुवाको लाङटाङ हिमालबाट आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको उल्लेख गर्दै विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा राज्यका निकायबीच अपेक्षित समन्वय हुन नसकेको लिखित प्रस्तावमा बताएका छन्।

विपद्को समयमा राज्यको क्षमता र राजनीतिक नेतृत्वको परीक्षा हुने भन्दै उनले उद्धार, राहत र पुनर्निर्माणमा कहाँ, किन र कसरी कमजोरी भयो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

भट्टराईले बाढीपहिरो प्रभावितलाई तत्काल राहतसँगै सुरक्षित पुनःस्थापना, प्रभावकारी उपचार, जीविकोपार्जनको आधार र दीर्घकालीन पुनर्निर्माण सुनिश्चित गर्न सरकारको ध्यान जानुपर्ने बताए। राहत तथा पुनर्निर्माणमा पारदर्शिता र जवाफदेहिता कायम गर्न संसदीय सर्वदलीय अनुगमन समिति गठन गर्नुपर्ने प्रस्ताव पनि उनले राखेका छन्।

पार्टीको नेतृत्व हस्तान्तरण अब ढिला गर्न नहुने भन्दै भट्टराईले आमसहमतिका आधारमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्ने बताए। त्यसका लागि तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक र विधान महाधिवेशन आयोजना गर्नुपर्ने उनको भनाइ छ।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको संगठन र नेतृत्व प्रणालीलाई पनि पुनर्व्यवस्थित गर्नुपर्ने उनले बताए। पार्टीको नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनु कमजोरी नभई राजनीतिक परिपक्वता भएको उनको भनाइ छ।

भट्टराईले पार्टीका पदाधिकारीको कार्यकाल र उमेरसम्बन्धी व्यवस्था पुनःस्थापित गर्नुपर्ने, जिम्मेवारी दिँदा योग्यता र क्षमतालाई आधार बनाउनुपर्ने तथा नातावाद र गुटगत प्रभाव अन्त्य गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्। संसदीय उम्मेदवार छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका नागरिकको अभिमतलाई समेत आधार बनाउनुपर्ने उनले बताएका छन्।

पार्टीभित्रको प्रतिस्पर्धालाई गुटबन्दी र प्रतिशोधको आधारमा नभई स्वस्थ र लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा विकास गर्नुपर्ने उनले बताए। निर्वाचनपछि विजयी र प्रतिस्पर्धी दुवै पक्ष मिलेर काम गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ।

भट्टराईले वामपन्थी शक्तिबीच एकता र सहकार्यको सम्भावना पनि अघि सारेका छन्। तत्काल संख्या थप्ने उद्देश्यले मात्र एकता गर्नुभन्दा विचार, नीति, संगठन, नेतृत्व र जनविश्वास जोड्ने दीर्घकालीन प्रक्रियाका रूपमा वाम एकतालाई अघि बढाउनुपर्ने उनले बताएका छन्।

नयाँ पुस्ता, युवा, विद्यार्थी र श्रमजीवी वर्गसँग पार्टीको सम्बन्ध कमजोर हुँदै गएको भन्दै उनले उनीहरूसँग नियमित संवाद र सहकार्य बढाउनुपर्ने बताए। नयाँ पुस्ताको ज्ञान, सीप, प्रविधि र सिर्जनशीलतालाई पार्टीको शक्तिका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार