७ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेनले अमेरिकाबाट दिए यस्तो सन्देश



काठमाडौ/ प्रधानमन्त्री बालेन्द्र शाहले आगामी शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले अमेरिकाबाट सन्देश जारी गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यान दिन आग्रह गरे।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेको जनाइएको छ।

प्रधानमन्त्री शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानसँगै सडक तथा हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

त्यसैगरी ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि प्रधानमन्त्री शाहले आग्रह गरेका छन् ।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र सचेत बन्न अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार