३ आश्विन २०८१, बिहीबार

एमाले प्रदेश अध्यक्ष भण्डारीले प्रतिनिधि सभा सदस्यमा ह्यट्रिक गरे




बैतडी/
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीबाट नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन् । योसंगै भण्डारीले प्रतिनिधि सभा सदस्यमा ह्यट्रिक गरे ।

७७ हजार ४६० मत गणना हुँदा भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरि विजय हासिल गरेका हुन । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवर ( विजयसुन्दर) ले ३२ हजार ८० मत प्राप्त गरे । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेश्रो पटक निर्वाचन जितेका हुन ।

२०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट लगातार तेश्रो पटक निर्वाचन जित्ने उनी बैतडीको पहिलो कम्युनिष्ट नेता हुन ।

पूर्व अर्थराज्यमन्त्री समेत रहेका भएका भण्डारी २०७० सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नं १ बाट अहिलेका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका भण्डारी लागि नरेन्द्र कुँवर ( विजयसुन्दर) मत माग्दै हिडेका थिए । तत्कालीन वाम गठबन्धका साझा उम्मेदवार भण्डारीले नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका थिए ।

आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बैतडीबाट ७८ हजार ३६९ मत खसेको थियो । बैतडीमा यो पटकको निर्वाचनका लागि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार