१८ बैशाख २०८१, मंगलवार

महाकाली पुलको काम ९९ प्रतिशत सकियो, पोखरीको डिजाइन परिवर्तन



महेन्द्रनगर / नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ ।

महाकालीपारीको दोधारा–चांदनी नगरपालिकालाई सडक सञ्जालसंग जोड्ने तथा दोधारा चांदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरेर महाकालीमा चारलेनको पक्की पुल निर्माण भइरहेको हो ।

३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको र पुलमा ढलान समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताए ।

उनले भने , ‘पुलको काममा २/३ सय मिटर ढलान गर्न मात्र बाँकी छ, पुलको काम शतप्रतिशत भयो भन्दा नि हुन्छ ।’ चार वर्षअघि निर्माण सुरु भएको चार लेनको पुलको काम आकाशको पानि रोकिने बित्तिकै ढलाान गरिने पाण्डेयले बताए ।

इन्जिनियर पाण्डेयले भने, ‘पुलको दुवैतर्फ निर्माण हुने पहुचमार्गको काम पनि ९५ प्रतिशत सकिएको छ ।’ सो पुलमा आउदा बाटोमा पर्ने तीन वटा पुल निर्माण भइसकेका छन् । निर्माण हुने ७.८ किलोमिटर सडकको भरानको काम पनि सकिएको छ । पुलको पारी छ सय मिटर र वारी एक हजार आठ सय मिटर बाहेक पाँच हजार चार सय मिटर पक्की सडक निर्माण भइसकेको छ ।

सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माण भइसकेको ईन्जिनियर पाण्डेयले बताए । उनले भने, ‘पक्की सडकको काम पूरै भइसक्थ्यो तर पोखरीको डिजाईनमा समस्या आएपछि त्यसवरीपरिको सडक पक्की बनाउन रोकेका हौं, अब समस्या समाधान भइसक्यो तिब्र गतिमा काम हुन्छ ।’

महाकाली पुल योजनाको समग्र कार्यमा ८१ प्रतिशत प्रगति भएको महाकाली पुल योजनाका साईड हेर्ने ईन्जिनियर दुर्गादत्त अवस्थीले बताए । उनले भने, ‘पुलको काम पूरा भएको छ, समग्र योजनाकै कुरा गर्ने हो भने ८१ प्रतिशत काम भएको छ ।’

भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चांदनीलाई जोडने गरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको हो उहाँ त्यसबेला पनि प्रधानमन्त्री थिए ।

आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्ने गरेर कुमार सिएफइसी जेभीसंग ३ अर्व २७ करोडमा ठेक्का सम्झौता भएको हो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरि पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरेर पुलको डिजाइन गरिएको छ ।

पुलको उत्तरपट्टि एकवर्ग किलोमिटर भन्दा ठूला दुईवटा पोखरी र दक्षिणपट्टि ०.३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण गरिने छ । उत्तरपट्टिको तालमा छवटा आईसल्याण्ड बनाइने र ति आईसल्याण्डलाई पिकनिक स्पोर्टका रुपमा प्रयोग गरिने डिजाईनमा उल्लेख छ । बोटको प्रयोगले त्यहाँ जाने प्रवन्ध मिलाएर पर्यटकीय क्षेत्रका साथै रोजगारी सृजना हुने गरेर पुलको डिजाइन गरिएको हो ।

‘तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरेर २०७९ कात्तिक भित्र काम गरिसक्नुपर्ने म्याद दिइएको छ । ‘पहिले महाकालीमा भारतले पानी छोड्ने समस्या र मुआब्जा विवादका कारण म्याद थप गर्नुपर्यो’ इन्जिनियर पाण्डेयले भने, ‘यो अवधीभित्र काम सक्नेगरि हामी लागेका हौं तर ताल बनाउँदा प्रयोग गर्नुपर्ने ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गर्नुपर्यो, यसले ढिलो भयो, अस्ति मात्र डिजाईन परिवर्तन भएर आएको छ, अब हामीले २०८० असारमा काम सक्छौ ।’

पुल निर्माण भएसंगै यस क्षेत्रका व्यापार व्यवसायसंगै सडक सञ्जालबाट टाढा रहेको महाकालीपारीको क्षेत्रलाई पनि यातायातसंगैको पहुँचसंग जोड्नेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षाैदेखि पक्की पुलको माग गर्दै आएका थिए ।


पोखरीको डिजाईन परिवर्तन
नेपालकै गौरवको योजना अन्तरगत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।

०७८ फागुनसम्म पूरा भइसक्ने आयोजनामा डिजाइन बाधक बनेपछि पोखरीको डिजाइन नै परिवर्तन गनुपरेको महाकाली पुल योजनाका ईन्जिनियर दुर्गादत्त अवस्थीले भने ।

यसअघि पुलको दायाँबाया आँखा आकारको पाँच हजार चार सय मिटर तटबन्ध २५७ किलोभन्दा माथिका ढुङ्गा र किले कोर (चिम्ट्यालो माटो) बाट निर्माण गर्नुपर्ने थियो । जसका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गाको आवश्यकता पर्दथ्यो ।

पुल निर्माण स्थलको २० किलोमिटर भित्रबाट ढुङ्गा उठाउन भनिएको थियो । रोयल्टी तिरेर ढुङ्गा ल्याउन खोज्दा कहिले वनले त कहिले स्थानियले विरोध गर्न थालेपछि डिजाईन नै परिवर्तन गर्नुपरेकोे ईन्जिनियर अवस्थीले बताए ।

उनले भने ‘अब डिजाईन परिवर्तन स्किृत भएको छ, ६० प्रतिशत ढुङ्गा र ४० प्रतिशत कंक्रिट अर्थात ढुङ्गा र मसालाको प्रयोगबाट पोखरी निर्माण हुन्छ, जसमा तल टो वाल, वीचमा ग्याभिन, किले कोर (चिम्ट्यालो माटो) माथि स्लोपमा ढुङ्गा र कंक्रिटका मिश्रण हुनेछ ।’

तेस्रो पटक म्याद थप र पुर्नमुल्याङ्कन गरिदै
डिजाईन परिवर्तनसंगै ठेकेदार कम्पनीको म्यादपनि थप गरिने ईन्जिनियर अवस्थीले बताए । सम्झौतापछि तेस्रो पटक म्याद थप भइरहेको हो । २०७४ भदौ ७ मा तीन वर्षभित्र निर्माण गर्ने गरेर ठेक्का सम्झौता भएको थियो ।

त्यसपछि २०७८ जेठ २ र २०७८ फागुन १५ मा गरेर दुई पटक म्याद थप भइसकेको छ । अब २०८० साउन मसान्तसम्मका लागि म्याद थप्न सिफारीस गरिएको ईन्जिनियर अवस्थीले बताए ।

उनले भने, ‘म्याद थप गर्नैपर्छ, हाम्रो कारणले ढिलाई भएको हो, यसमा ठेकेदार कम्पनीको केही भूमिका छैन ।’ उनले थपे, ‘भेरिएसन अडर वान (डिजाईन परिवर्तन) र भेरिएसन अडर टु पास भएको छ, अझै भेरिएसन अडर थ्री पास हुन बाँकी छ तर पनि ठेकेदारले काम शुरु गरिसकेको छ ।’

भेरिएसन अडर थ्री एवं पुर्नमुल्याङ्कन मन्त्रीपरिषदले पास गरेपछि मात्र आउने ईन्जिनियर अवस्थीले बताए । उनले भने, ‘डिजाईन परिवर्तनसंगै लागत रकम २५ प्रतिशतभन्दा बढी बढाउनुपर्ने भएको छ, १५ प्रतिशतसम्म डिजी र २५ प्रतिशतसम्म सचिवले पास गर्न मिल्छ तर यसभन्दा माथि मन्त्रीपरिषदले पास गर्नुपर्दछ ।’ यसअघि दुई पटक पुर्नमुल्याङ्कन गरिएको छ ।

चार अर्ब २० करोड ८३ लाख ६३ हजार ७०५ रुपैयाँ लागत अनुमान गरिएको योजनामा ठेकेदार कम्पनीसंग २२ प्रतिशत घटीमा तीन अर्ब २७ करोड ९३ लाख ४९१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसपछि काम गर्दै जाँदा केही सामान आवश्यक नभएको भेटीएपछि पुर्नमुल्याङ्कन गर्दा तीन अर्ब २४ करोड २५ लाख रकम हुन पुगेको थियो ।

दोस्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुर्नमुल्याङ्कन गर्दा तीन अरब ६६ करोड नौ लाख हुन पुगेको ईन्जिनियर अवस्थीले बताए ।

यसपटक धेरै कामहरु थप्नुपर्ने भएपछि लागतमा २५ प्रतिशतभन्दा बढी रकम थप्नुपर्ने भएको महाकाली पुल योजनाका सूचना अधिकारी इन्जिनियर सबिना रानाभाटले बताए ।

उनले भने, ‘कति थप्नुपर्छ भन्ने अहिले भन्न सकिदैन फाइल विभागमा पठाएका छौ, यसपटक पोखरीको डिजाइनसंगै तटबन्ध, भुजेलाखोलाको काम, तीनवटा स्पर, ग्याल्भीन, टोवाल र पोल्म लगायतका काम थपिएका छन्, अझै मूल्याङ्कन हुँदै छ ठ्याक्कै कति प्रतिशत बढ्छ भन्न १० दिन अझै समय लाग्छ, अहिलेलाई २५ प्रतिशत भन्दा बढी बढ्छ भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार