८ पुष २०८१, सोमबार

स्थानीय तह निर्वाचन, २०७९ बाजुराको बुढिगङ्गा नगरपालिकामा अझैं टुङ्गो लागेन



काँग्रेसको अडान पुनः मतदान, एमाले भन्छ– पुनः मतदान भएमा रक्तपातको खतरा

तस्बिर सौजन्य : अर्जुन शाह


नगढी / सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये ८७ वटाको मतगणनाको अन्तिम परिणाम घोषणा भइसकेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुका साथै आआफ्नो पालिकामा कार्यभार समेत सम्हालीसकेका छन् । तर, बाजुराको बुढिगङ्गा नगरपालिकामा भने अझैं पुनः मतदान गर्ने वा यथास्थितिमा मतगणना गर्ने भन्ने अन्योल कायमै छ ।

बुढीगङ्गा नगरपालिकामा बैशाख ३० गते मतदानका क्रममा १० मध्ये छ वडामा चर्को विवाद, कुटपिट, झडपका बीच मतदान भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार बुढीगङ्गा नगरपालिकाका वडा २, ३, ४, ५, ७ र ९ मा मतदानका क्रममा मतदान केन्द्र नियन्त्रणमा लिएर अरु पक्षका उम्मेदवारमाथि कुटपिट, मतदातालाई लखेट्ने र आफुखुसी मतदान गरिएको थियो । बुढिगङ्गाका प्रत्यक्षदर्शीहरु भन्छन्– मतदानका दिन वडा २, ३, ५, ८ र ९ का मतदान केन्द्र नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ का मतदान केन्द्रहरु काँँग्रेसका कार्यकर्ताहरुको नियन्त्रणमा रहेको थियो ।

उनीहरुका अनुसार निर्वाचनको दिन (बैशाख ३० गते) बुढिगङ्गा नगरपालिकाका केही वडाका मतदान केन्द्रहरु दिनभरी रणभूमि झैं बनेका थिए । आआफ्नो नियन्त्रणमा रहेका मतदान केन्द्रहरुमा एकलौटी ढङ्गले मत खसालिएको थियो । सुरक्षाकर्मीहरु दिउँसै मतदान स्थल छोडेर हिँडेका थिए ।

काँग्रेस कार्यकर्ताहरुले नियन्त्रणमा लिएको वडा ४ को थुमा मावि केन्द्रमा एक हजार ७०९ मध्ये एक हजार ६९९ (९९ दशमलव ४१ प्रतिशत) मत खसालिएको थियो । त्यस्तै, एमालेले नियन्त्रणमा लिएको वडा ९ को त्रिशक्ति मावि केन्द्रमा एक हजार ४८३ मध्ये एक हजार ३४७ (९० दशमलव ८२) प्रतिशत मत खसालिएको थियो ।

एमालेको नियन्त्रणमा रहेका वडाका मतदान केन्द्रबाट वडाध्यक्षका उम्मेदवार लखेटिएका थिए । बुढिगङ्गाका एक स्थानीयले भने– वडा २, ३, ५ र ९ मा रहेका सुरक्षाकर्मीहरु अपरान्हतिर नै मतदान स्थल छोडेर गएका थिए ।

बुढिगङ्गा नगरपालिकामा मतदानका क्रममा असुरक्षा तथा हुलहुज्जत भएको भन्दै निर्वाचन अधिकृत कृष्ण सापकोटाले निर्वाचन आयोगलाई राजिनामा समेत पठाइसकेका छन् । मङ्गलबार साँझसम्म आयोगले बुढिगङ्गा नगरपालिकाका लागि अर्को निर्वाचन अधिकृत तोकेको छैन । न त त्यहाँ पुनः मतदान गर्ने वा यथास्थितिमा मतगणना गर्ने भन्ने निर्णय नै गरेको छ ।

मतदानका क्रममा झडप, कुटपिट, मतदान केन्द्र नियन्त्रण, हुलहुज्जत भएको घटनामा निर्वाचन आयुक्त सगुन सम्सेर जबराले अर्को दिन (बैशाख ३१ गते) स्थलगत भ्रमण गरि स्थितिको अध्ययन गरेर फर्किएका थिए ।

बुढिगङ्गा नगरपालिकामा विगतमा पनि निर्वाचनका क्रममा काँग्रेस र एमालेबीच झडप, कुटपिट, हुलहुज्जत हुँदै आएको छ ।
यस पटक पनि सोही अवस्था दोहोरिएको छ । निर्वाचन भएको ११ दिन पुगिसक्दा पनि न त मतगणना शुरु हुनसकेको छ, न पुनः मतदानको निर्णय नै आएको छ । काँग्रेसले वडा २, ३, ५ र ९ मा पुनः मतदानको माग गर्दै निवेदन दिएको छ । एमालेले भने यथास्थितिमा नै मतगणना हुनुपर्ने मागमा अडान राखेको छ ।

“निर्वाचन भएको यतिका दिन भइसक्दा पनि कुनै टुङ्गो लागेको छैन । आआफ्नो अडानमा रहँदै गर्दा कसरी निकास निस्किन्छ त ?” अनुमोदन दैनिकको जिज्ञासामा काठमाडौंमा रहेका काँग्रेसका केन्द्रीय सहमहामन्त्री बद्रि पाण्डेयले टेलिफोनमा भने– मतदान केन्द्रहरुमा मतदाता भगाइएका छन् । कुटपिट भएको छ । आतङ्क मच्याइएको छ । यस्तो अवस्थामा पुनः मतदान नगर्ने हो भने निर्वाचन प्रक्रियामा धाँधलीले मान्यता पाउने छ ।

उनले मुख्य निर्वाचन अधिकृतले झडप, कुटपिट, हुलहुज्जत भएको र असुरक्षा महसुस गर्दै राजिनामा समेत दिइसकेको सन्दर्भमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि पुनः मतदान अनिवार्य भएको तर्क गरे । भने– निर्वाचन आयोगले पनि यतिका दिनसम्म पर्खिनु भनेको त्यहाँ (बुढिगङ्गा) बैशाख ३० गते निर्वाचनका क्रममा गम्भीर त्रुटी र धाँधली भएको स्वीकार गरेको मान्नु पर्दछ ।

केन्द्रीय सहमहामन्त्री पाण्डेयले हरेक निर्वाचन अघिल्लो भन्दा परिस्कृत र सभ्य भएमात्र लोकतान्त्रिक पद्धति बलियो हुने र निर्वाचनप्रति जनताको भरोशा र आस्था बृद्धि हुने बताए । उनले भने– यो कुन पार्टी वा उम्मेदवारले जीत्ने वा हार्ने भन्ने मात्रै सवाल होइन, कुनै पनि नाममा निर्वाचनमा हुने वा भएका गलत कार्यलाई मान्यता दिनु हुँदैन भन्ने मुख्य सवाल हो ।

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले निर्वाचन ऐनको व्यवस्था अनुसार यथास्थितिमा नै मतगणना हुनु पर्ने बताए । बाजुरामा रहेका उनले अनुमोदनसंगको टेलिफोन वार्तामा चेतावनीको शैलीमा भने– यदि सत्ता र शक्तिको आडमा पुनः मतदान गर्ने निर्णय गरियो भने “ठूलो रक्तपात” हुनसक्छ ।

उनले काँग्रेसले विगतमा पनि बुढिगङ्गामा निर्वाचनका क्रममा धाँधली गर्ने गरेको आरोप लगाए । भने– यस पटक आफ्नो प्रभाव रहेको वडामा शतप्रतिशत मत खसाल्ने र अरु वडामा डिस्टर्ब गर्ने रणनीति बनाइयो । एमालेको प्रभाव भएका वडामा “एमालेले एकलौटी गर्यो” भन्ने देखाउन सुरक्षाकर्मीहरुलाई भगाइयो । मतदान अधिकृतलाई “निष्पक्ष निर्वाचन भएन” भनेर पुनः मतदानका लागि जिल्ला सुरक्षा समितिलाई पत्र पठाउन लगाइयो ।

उनले यथास्थितिमा नै मतगणना हुनुपर्ने दोहोराए । भने– यदि अर्को कुनै निर्णय गरियो भने ठूलो दुर्घटना हुनसक्छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शमौ पौडेलले बुढिगङ्गा नगरपालिकाको चुनावबारे छिट्टै निर्णय हुने बताए । अनुमोदनसितको टेलिफोन वार्तामा उनले भने– अहिलेसम्म निर्णय नभएको अवस्था हो । तर, छिट्टै हुन्छ ।

तस्बिर सौजन्य : अर्जुन शाह


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार