धनगढी मोडल शहर बन्ने क्रममा छ– वड

धनगढी / धनगढी उपमहानगरपालिकाका प्रमुख पदका गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले धनगढी मोडल उपमहानगरपालिका बन्ने क्रममा रहेको बताएका छन्।
उनले उपमहानगरपालिकालाई मोडल शहरका रुपमा अघि बढाउन सडक, खानेपानी, पुल पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका थुप्रै भौतिक संरचना निर्माण कार्य भइसकेको बताए ।
‘कोही म विकास गर्छु, धनगढीको कायापलट गर्छु, मोडल बनाउछु भन्दै प्रचार गर्दै हिडेका छन्’ उनले भने– मोडल शहर त हामीले बनाइसकेका छौं । सडक बनिरहेका छन् । सिटी हल बनिसकेको छ । उपमहानगरपालिकाका १६ वटै वडामा खानेपानी आयोजना निर्माण भइसकेका छन् ।
उनले वडा नम्बर ३, ४ र १३ मा तटबन्धनका लागि एक अर्ब ६७ करोड रुपैयाको योजना केन्द्रमा सिफारिस गरेको बताए ।
उनले अहिले उम्मेदवार बनेका व्यक्ति कोभिड महामारी र राजधानी आन्दोलनको समय नदेखिएकोमा प्रश्न खडा गरे ।
‘स्वतन्त्र व्यक्तिले के विकास गर्न सक्छ ? चुनाव जितेर जाने दलका अध्यक्ष हुन्छन् । मिटिङमा पार्टीले ह्विप जारी गर्दा एकल व्यक्तिको मेयरले के गर्न सक्छ ?’ उनले भने–बैठक, परिषद चल्न सक्दैनन ।
उनले विकास र समृद्धिका लागि गठबन्धन भएको बताए । उनले वडादेखि केन्द्रसम्म गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले परिस्थिति र अवस्थाका कारण आफुले जनतामाझ पुग्न नसकेको बताए ।
उनले अहिले वडा अध्यक्षहरूले एकल प्रचार गरिरहेको चर्चा आफुले सुनिरहेको बताए । वडा अध्यक्षलाई मात्र विजयी गराएर केही प्रभाव पर्दैन । वडा अध्यक्षसंगै नगर प्रमुख र उपप्रमुख पनि आवश्यक हुन्छ उनले भने– वडा अध्यक्षले कार्यपालिकामा योजना प्रस्ताव गर्छ । त्यसका लागि बजेट अभाव भए नगर प्रमुखले केन्द्रसंग माग गर्छ ।
उनले नगर प्रमुख पदमा भइरहदा केही गल्ती गरेको भए मतदान नगर्न पनि आग्रह गरे । मैले कहि कतै गल्ती गरेको छु, बदमासी गरेको छु, भ्रष्टाचार गरेको छु, अन्याय वा अन्य केही गलत कार्य गरेको छु भने मलाई भोट नहाल्नु होला’ उनले भने– म ३५ वर्ष वर्षदेखि यो समाजमा बसेको छु । म हिजो पनि जनताको सेवामा थिए । आज पनि छु र भोली पनि रहने छु ।





