दार्चुलामा कांग्रेस र माओवादीबिच गठबन्धन

दार्चुला / दार्चुलामा स्थानीय चुनावका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच सहमति भएको छ ।
नौ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच स्थानीय तहमा नेपाली कांग्रेस र चार पालिकामा माओवादी केन्द्रले प्रमुख तथा अध्यक्ष पद पाउने सहमति भएको छ ।
दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका प्रमुख र तीन गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाउनेछ । बाँकी चार गाउँपालिकामा माओवादीले अध्यक्ष पदमा उम्मेदवार उठाउने सहमति भएको छ ।
कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ, सचिव पन्तले भन्नुभयो, माओवादीले मार्मा, अपीहिमाल, नौगाड र लेकम गाउँपालिकामा अध्यक्ष पाउनेछ ।
६१ वडामध्ये ४४ वडामा कांग्रेस र १७ वडामा माओवादीले अध्यक्ष पाउने सहमति भएको बताइएकोछ । यस्तै मालिकार्जुन र व्यास गाउँपालिकामा माओबादी केन्द्रले उपाध्यक्ष पाउदा बाँकी सात स्थानीय तहमा कांग्रेसले उपाध्यक्ष तथा उपप्रमुख पदमा उम्मेदवारी दिने सहमति जुटेको नेताहरुले बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) लाई आवश्यकताका आधारमा वडा सदस्य दिने तय भएको माओवादी केन्द्रका जिल्ला सचिव प्रेमराज पन्तले बताए ।




