रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन पालिकाको उम्मेदवारको टुंगो लगायो

धनगढी / आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि कैलालीमा विभिन्न राजनीतिक दलहरू यतिवेला उम्मेदवार छनैटमा व्यस्त रहेका छन् । तर, अहिलेसम्म प्रमुख मानिएका दलहरूले उ्रम्मेदवारहरूको टुंगो लगाउन सकेका छैनन् ।
पाँच दलीय गठबन्धनका घटक दलहरूबीच चुनावी तालमेलबारे थुपै्र पटक बैठक तथा छलफल भएपनि टुंगो लागेको छैन । गठबन्धनका घटकहरूबीच आज (शनिबार) हुने बैठकबाट पालिका र वडाहरू बाँडफाँडको टुंगो लाग्ने बताइएको छ ।
तर, टीकापुर घटनामा मुख्य अभियुक्तका रुपमा जेल सजाय भोगिरहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीका श्रीमति रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भने कैलालीका तीन पालिकामा आफ्नो उम्मेदवारहरूको टुंगो लगाइसकेको जनाएको छ ।
तीन महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको सो नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलालीका सबै १३ वटा स्थानीय तहमध्ये ११ वटामा उम्मेदवार छनैट कार्यलाई तीब्र गतिमा अघि बढाएको जनाएको छ ।
सो पार्टीका कैलाली जिल्ला अध्यक्ष कैलाश चौधरीले शुक्रबारसम्म जिल्लाका तीन वटा स्थानीय तहका उम्मेदवारहरूको टुङ्गो लगाइसकेको बताए । हामीले टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाको प्रमुख÷अध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाईसकेका छौ शुक्रबार अनुमोदनसंगको संक्षिप्त फोनवार्तामा उनले भने– केही स्थानीय तहमा आँकाक्षी धेरै रहेकाले सहमतिको प्रयास भइरहेको छ । शनिबारसम्म हामीले सबै पालिकाको उम्मेदवारहरूको टुङ्गो लगाइसक्छौं ।
सो पार्टीका तर्फबाट टीकापुर नगरपालिका प्रमुखमा रामलाल डंगोराथारु, भजनी नगरपालिकामा केवल चौधरी र जानकी गाउँपालिका अध्यक्षमा गणेश चौधरीलाई उम्मेदवार बनाइएको छ । जानकी गाउपालिका अध्यक्षका उम्मेदवार गणेश कान्तिपुर दैनिकमा कार्यरत पत्रकार हुन् ।
टीकापुर नगरपालिकाको प्रमुखका लागि नाउपाले उम्मेदवार बनाएका रामलाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट टीकापुर वडा नम्बर ७ को अध्यक्षमा नौ सय दुई मत प्राप्त गरि निर्वाचित भएका थिए । नगर प्रमुखका उम्मेदवार रामलालले भने– हाम्रो नयाँ पार्टी हो ।
हामी अहिले संगठन विस्तारसंगै प्रचार–प्रसार कार्यलाई तीब्र बनाइरहेका छौं । उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाइनुपर्ने, थारु अधिकार र पहिचानको सुनिश्चितता, समाजभित्र रहेका कुरितिको अन्त्य गर्नुपर्ने लगायतका मुद्दा सहित आफ्नो पार्टी जनतामाझ गएको बताए ।
उनले भने– टीकापुरका सबै वडामा हाम्रो उम्मेदवारी रहने छ । हामीले आन्तरिक रुपमा सबै तयारी गरिसकेका छौं ।
उनले ४२ प्रतिशत थारु समुदाय रहेकोले टीकापुरमा आफ्नो पार्टीको विजय सुनिश्चित रहेको दाबी गरे ।
अन्य दललाई समस्या
२०७४ सालको निर्वाचनमा टीकापुर नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए भने उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
सो निर्वाचनमा टीकापुर नगरपालिकाका तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार दोस्रो भएका थिए । २०७४ सालको निर्वाचनमा टीकापुरमा ३९ हजार एक सय ९२ मतदाता रहेकोमा २६ हजार ९२९ मत खसेको थियो ।
सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले पाँच हजार ९५९ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार लौटन चौधरीले पाँच हजार ५३४ मत प्राप्त गरेका थिए ।
सो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवारले तेस्रो स्थान प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रले चौथो स्थान पाएको थियो ।
५२ हजार बढी मतदाता
आगामी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा ५२ हजार बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार आठ सय सात र एक अन्य गरि ५२ हजार ८७२ मतदाता रहेका छन् ।
सो नगरपालिकामा १६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहने छन् ।
भजनीको चुनावी गणित
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भजनी नगरपालिकामा तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीबाट नगर प्रमुखका उम्मेदवार थिए केवल चौधरी । उनी सो समयमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीसंग दुई सय तीन मतले पराजित भए ।
१३ हजार २५ महिला, १३ हजार नौ सय २६ पुरुष, एक अन्य गरि २६ हजार ९५० मतदाता रहेको भजनीमा २१ हजार ४७० मत खसेको थियो । सो मध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुरले पाँच हजार २२८ मत प्राप्त गरि निर्वाचित भएका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका उम्मेदवार केवलले पाँच हजार २५ मत प्राप्त गरेका थिए । उनी यस पटक रेशम चौधरीकी श्रीमतीको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट पुनः नगर प्रमुखमा उम्मेदवार रहेका छन् ।
भजनी नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा १७ हजार ११९ पुरुष, १६ हजार ८१० र एक अन्य गरि ३३ हजार नौ सय ३१ मतदाता रहेका छन् । सो नगरपालिकामा १८ मतदान स्थल र ४३ मतदान केन्द्र रहने निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
#स्थानीय निर्वाचन २०७९ #कैलाली




