एमालेको आमसभा हेर्न आएका एकको डुवेर मृत्यु

बझाङ/ नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको आमसभा हेर्न आएका एक जना कार्यकर्ताको खोलामा डुबेर मृत्यु भएको छ ।
बित्थड चिर गाउँपालिका ४ मल्लाभताडा घर भएका १८ वर्षीय कोमल बोहरा आमसभास्थल नजिकै बाहुली गाडमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले बताए ।
मृतक बोहरा पालिकाका एमाले नेता कार्यकर्तासंगै सदरमुकाम चैनपुर आएका थिए । एमालेका जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बझाङ आउने भएपछि एमालले जिल्लाका १२ वटै पालिकाबाट नेता कार्यकर्ता तथा शुभचिन्तकहरु सदरमुकाम चैनपुर झारेको थियो ।
आमसभा सञ्चालन तथा नेताहरुको भाषण भइरहदा बाहुलीगाडको बगरमा गर्मी भएपछि बोहरा लगाएत केही युवा खोलामा नुहाउन गएका थिए ।
खोलामा नुहाई रहेका बोहरा पौडि खेल्न नसकेर पानीमा ढिला समयसम्म डुबेपछि आमसभा स्थलका मान्छेहरु तथा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक बोहरालाई जिल्ला अस्पताल बझाङमा मृत घोषणा गरिएको थियो ।




