४ पुष २०८२, शुक्रबार

आसन्न स्थानीय निर्वाचन : गठबन्धनका घटकहरूबीच भागबण्डाबारे छलफल



धनगढी / आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा गठबन्धनका घटक दलहरूबीच भागबण्डाका विषयमा छलफल अघि बढेको छ ।

आइतबार बसेको गठबन्धनका घटक दलहरूबीचको बैठकमा जिल्लाका निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नया घोषणापत्र लगायतका आधारमा सबै १३ पालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार जिल्लामा वडा तहदेखि नै सबै १३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

बैठकमा गठबन्धनका घटक दलहरूले स्थानीय तहहरूमा आआफ्नो दाबी पेस गरेको बताइएको छ । बैठकमा नेकपा एकिकृत समाजवादी (एस) पार्टीले कैलालीका पाँच वटा स्थानीय तहमा दाबी गरेको छ । नेकपा (एस) ले कैलालीको गोदावरी, गौरिगंगा, घोडाघोडी र लम्कीचुहा नगरपालिका तथा चुरे गाउँपालिकामा दावी गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसले गर्ने दाबीलाई आधार बनाएर आफूले स्थानीय तह रोज्ने बताएको छ । माओवादी केन्द्रले २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख/अध्यक्ष पदमा विजयी भएका भजनी नगरपालिका र कैलारी गाउपालिकामा दाबी नछोड्ने अडान राखेको बताइएको छ । नेकपा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरी ज्ञवाली अखण्डले भने– हामी भजनी र कैलारी छोड्दैनौ ।

काँग्रेसको माग दाबीका आधारमा अन्य स्थानीय तहमा पनि हाम्रो दाबी रहने छ । नेपाली काँग्रेसले जिल्लाका सबै १३ वटै स्थानीय तहमा आफनो दाबी रहने बताउदै आएको छ । काँग्रेसका जिल्ला सचिव केशवराज मिश्रले भने– जिल्लाका सबै १३ वटै स्थानीय तहमा हाम्रो दाबी छ ।

जिल्ला सचिव मिश्रले कैलाली काँग्रेसले आगामी ३० गते बस्ने बैठकले कुनै स्थानीय तह अन्य दललाई दिने वा नदिने भन्नेबारे निर्णय गर्ने बताए ।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले भने अहिलेसम्म कैलालीका कुनै पनि स्थानीय तहमा आफ्नो दाबी गरेका छैनन् । राष्ट्रिय जनमोर्चाले स्थानीय तहको प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षमा दाबी नगर्ने, तर केही वडाहरूमा दाबी गर्ने बताएको छ ।

बैठकमा नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज दीर्घबहादुर सोडारी, कैलाली जिल्ला अध्यक्ष भैरवबहादुर रावल, नेकपा माओवादी केन्द्रका कैलाली इन्चार्ज ज्ञवाली, कैलारी गाउ“पालिका अध्यक्ष लाजुराम चौधरी, नेपाली काँग्रेसका जिल्ला उपसभापति भीम बडुवाल, सचिव मिश्र, राष्ट्रिय जनमोर्चाका नेता जगतराज जोशी र जसपाका प्रदेश इन्चार्ज होरिलाल चौधरी सहभागि रहेका थिए ।

जसपाले दोहोर्यायो– चुनावी गठबन्धन हुँदैन
आइतबारको गठबन्धनका घटक दलहरूबीचको बैठकमा सहभागी जसपाका नेताहरूले चुनावी गठबन्धनबारे ठोस निर्णय नभएको प्रतिक्रिया दिएका छन् ।

आइतबारको बैठकमा जसपाका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज होरिलाल चौधरी सहभागी रहेका थिए । उनले चौथो पटक बसेको बैठकबाट पनि कुनै निकास नआएको दाबी गरे ।

जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले स्थानीय तहको निर्वाचनमा अरु पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि मात्र गठबन्धन गर्न नसकिने बताए । कैलारी गाउपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन मान्दैनौ भनेर चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिसकेका छन् उनले भने– हाम्रो बलियो पकड भएको स्थानीय तहमा गठबन्धनका दलहरूले हामीलाई दिन मानेका छैनन ।

प्रदेश सरकारमा पनि हाम्रो सहभागिता छैन । अनि केन्द्र र स्थानीय तहमा मात्र हामीले किन गठबन्धन गर्ने ?
जिल्ला अध्यक्ष गयाप्रसादले आफुहरू एक्लै वा गठबन्धन बाहेक अरु दलहरूसंग तालमेल गरेर स्थानीय तहको निर्वाचन लड्ने बताए ।

आइतबारको बैठकमा जसपाका प्रदेश इन्चार्ज होरिलालले आफ्नो पार्टीलाई प्रदेश सरकारमा सहभागी नगराएको प्रसंग उठाएका थिए । बैठकपछि उनले भने– गठबन्धनका दलहरूले हामीलाई यस्तै व्यवहार गरिरहे भने हामी चुनावी गठबन्धनको पक्षमा हुदैनौ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार