धनगढीमा जग्गाधनी पूर्जा वितरण शुरु
धनगढी / धनगढी उपमहानगरपालिकाले भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिन शुरु गरेको छ ।
यसक्रममा शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का २२ जना दलित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ ।
उनीहरुलाई संविधान सभाका सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाले प्रमाण पूर्जा वितरण गरिन ।
सो अवसरमा उनले संविधानले मौलिक हक अन्र्तगत कोही पनि जग्गा विहिन नहुन भन्ने व्यवस्था अन्र्तगत भूमिहीन दलित परिवारलाई जग्गा दिइएको बताइन ।
यसअघि तीन वर्षसम्म सरकार चलाएको एमालेले जग्गा दिन सकेन उनले भनिन, नेपाली काँग्रेसको नेतृत्वको पाँच दलिय गठवन्धन आउने वित्तिकै तीन महिनामै भूमी आयोग बनाएर जग्गा वितरण गर्न थालिएको बताए ।
नेतृ डा. देउवाले जग्गा वितरण गरेर संविधान कार्यान्वयन गर्न वर्तमान गठवन्धन क्रियाशिल रहेको चर्चा पनि गरिन । उनले जग्गाधनी प्रमाण पूर्जा पाउने अधिकांश महिला भएकोमा खुसी व्यक्त गर्दे महिलाको नाममा जग्गाधनी प्रमाण पूर्जा दिन सहमत भएका पुरुषहरुलाई धन्यवाद पनि दिइन ।
उनले जग्गाधनी प्रमाण पूर्जा दिएर यो वर्षकै राम्रो काम आफूले गर्न पाएको भन्दै आफूलाई भाग्यमानी ठानेको पनि बताइन ।
सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफ्नो चुनावी घोषणा पत्र अनुसार जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको बताउदै जग्गाधनी प्रमाण पूर्जा वितरणको काम १९ वटै वडामा निरन्तर सञ्चालन हुने बताए । उनले कतिपय वडाको नाँपजाँच हुँदैछ कतिपयको जग्गाधनी प्रमाण पूर्जा बनिरहेको बताए ।
२२ परिवारलाई उनीहरुले भोगचलन गर्दे आएको १६ धुरदेखि छ कट्टासम्मको जग्गाधनी प्रमाण पूर्जा दिइएको छ ।
राष्ट्रिय भूमि अधिकार आयोगको समन्वयमा प्रमाण पूर्जा वितरण गरिएको कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरका उपप्रमुख शुशिला मिश्र भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले बोलेका थिए ।