सेवानिवृत्त सैनिकलाई स्वदेशमै केही गर्न प्रधानसेनापति शर्माको आग्रह

धनगढी / नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अवकासपछि विदेश जानेहरु बढेकोमा चिन्ता व्यक्त गर्दे स्वदेशमै स्वरोजगारमुलक काम गरेर बस्न आग्रह गरेका छन् ।
२५ नम्बर वाहिनी अड्डाको श्री भवानीदल गण कैलालीको तेघरी व्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०७८ लाई सम्वोधन गर्दे प्रधानसेनापति शर्माले जागिरमा रहे पनि नरहे पनि देशको सेवामा लागि रहन समेत भूतपूर्व र वर्तमान नेपाली सेनाहरुलाई आग्रह गरे ।
उनले अवकाशका दिनमा समेत समाजलाई एकतावद्ध बनाइ राख्न समेत अवकाश पाएका सैनिकलाई आग्रह गरे ।
उनले राजनीतिकरुपमा निश्पक्ष चरित्र हाम्रो ठूलो सम्पति हो भन्दै त्यो कायम राख्न ध्यान दिदै आफ्नो कर्तव्य अनुसार वर्तमान र अवकाश प्राप्त सैनिकहरुले देशका दाजुभाइ र दिदीबहिनीसित घुलमिल हुनुपर्ने बताए ।

प्रधानसेनापति शर्माले म अवकाश हुन्छु भन्ने धारणाका साथ सेनामा कार्यरतहरुले क्रियाक्लाप गर्नुपर्ने बताए ।
उनले नेपाली सेनामा कार्यरत र सेवानिवृत्तहरुको हीतका लागि १० वर्षीय विशेष योजना बनेको बताउदै २०३४ सालमा एक करोड २४ लाख एक हजारबाट शुरु भएको सैनिक कल्याणकारी कोष ६४ अर्व रुपियाँको भएको बताए ।
हामीले त्यो मुल कोषमा हानी नहुने गरेर कार्यरत र सेवानिवृत्तहरुको हीतका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहने छौ उनले आश्वस्त पारे ।
कल्याणकारी कोषबाटै सातै प्रदेशमा अस्पताल विस्तार, सेनाका परिवारका लागि घर बनाउने कर्जा, स्वारोजगारका लागि ऋण, निवृत्त जेष्ठ सैनिक भत्ता जस्ता धेरै परोपकारी कार्यक्रम सञ्चालन गरिएको प्रधानसेनापति शर्माको भनाइ छ ।
सो अवसरमा कैलाली तथा कञ्चनपुर जिल्लाका कार्यरत र सेवानिवृत्त परिवार सदस्यहरुलाई आयआर्जनका लागि लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत दरमा ऋण प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानसेनापति शर्माले जेष्ठ नागरिकहरुलाई समेत सम्मान र वृद्ध भत्ता वितरण गरेका थिए ।





