प्रदेश सरकार र लगानी बोर्डवीच विकासमा सहकार्य हुने
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारको लगानी बोर्डसँग लगानी प्रवद्र्धन तथा परियोजना पहिचान, विकास र कार्यान्वयन सम्वन्धी समझदारी चाँडै कार्यान्वयनमा आउने बताएका छन् ।
धनगढीमा सोमबार भएको समझदारी पत्रको मस्यौदामाथि छलफलमा बोल्दै मुख्यमन्त्री भट्टले सो समझदारीको अझ विस्तृत अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताए ।
उनले भने, युग अनुसारको कानुन विधि बनाएर अघि बढे विकास गर्न सहज हुन्छ त्यसैले कागजी सहजता हुन आवश्यक छ । सो अवसरमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले अव परम्परागत ढंगले योजना बनाउन नहुने बताउदै हरेक विकास, निर्माण कार्यक्रममा पर्यटनलाई जोड्नु पर्ने धारणा राखे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु क्रमश लालबहादुर खड्का, विनिता चौधरी, पूर्णा जोशी र राज्यमन्त्री मानबहादुर सुनारले आगामी विकास आयोजना वारे सुझाव दिएका थिए ।
सो अवसरमा लगानी बोर्डले प्रस्तावकारुपमा सुदूरपश्चिममा गर्नुपर्ने १९ वटा विकास आयोजनामा छलफल गराएको थियो । वोर्डले खप्तड राष्ट्रिय निकुञ्जको एकीकृत विकास, जलविद्युत आयोजना, धनगढी क्षेत्रीय विमानस्थल, धनगढीमा क्रिकेट मैदान, कैलाली कञ्चनपुरमा इलोक्ट्रोनिक वस सेवा र धार्मिक तथा पर्यटकीय क्षेत्रमा केवुल कार लगायतलाई प्राथकिमतामा राखेको छ ।
यस्तै आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार मन्त्रालयले पनि झण्डै चार दर्जन दीर्घकालिन आयोजनाको सूची प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले पश्चिम सेती, बनवासा, कर्णाली छ लेन सडक, खप्तड राष्ट्रिय निकुञ्जमा चक्रपथ निर्माण तथा चार जिल्लाबाट केवुल कार सञ्चालन, सेती लोकमार्ग, कर्णालीमा जल यातायात, प्रदेश वसपार्क, नदी नियन्त्रण गर्ने गरेर एकीकृत वस्ती निर्माणमा लगानी जुटाउन खोजेको बताएको छ ।
प्रस्तावित आयोजना बारे धारणा प्रस्तुत गर्दे लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले प्रदेश र लगानी वोर्डका योजनामा फेरि छलफल गरेर एकरुपता ल्याउनु पर्ने बताए । उनले अव लगानी पनि अपेक्षितरुपमा बढ्ने विश्वास गरे ।
उनले प्रदेश सरकारसित लगानी सम्वन्धमा छलफल गर्ने नीति अनुसार सातै प्रदेशमध्ये सुदूरपश्चिम सरकारसित पहिलो र उत्साहजनक छलफल भएको बताए ।
सो छलफलमा व्यवसायी अनिल भुजनियाले सिमेन्ट जस्ता आत्मनिर्भर भएका उद्योगमा विदेशी लगानी आवश्यक नहुने बताए । अव विदेशी लगानी हुँदा हाम्रा दर्जनौ सिमेन्ट उद्योग संकटमा पर्छन उनको दावी थियो ।
कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले हामीसंग उपलव्ध हुने कच्चा पद्धार्थमा आधारित उद्योग स्थापनामा प्रदेश सरकार र लगानी वोर्डको ध्यान जानु पर्ने बताए ।